ग्रामीण क्षेत्रका बस्तीलाई लक्षित गरेर सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले कोभिड–१९ बारे जनचेतनामूलक कार्यक्रम गरेको छ।
संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न र रोगबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा ग्रामीण क्षेत्रका बस्तीहरुमा सचेतनामूलक कार्यक्रम गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए।
‘ग्रामीण बस्तीहरुमा अझै पनि कोरोनाको जाखिमबारे जानकारी छैन, त्यसैले यस्ता वस्तीका नागरिकले सुरक्षा मापदण्ड अपनाउन केही भए पनि कुराहरु सिकुन् भन्ने उद्देश्यले सचेतना कार्यक्रम गरेका हौं’, उनले भने।
सशस्त्रले सिद्धार्थनगर नपा–११ स्थित भुजौली गाउँलगायत रुपन्देहीका १२ वटा ग्रामीण बस्तीहरुमा कोभिड–१९ का बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरी नागरिकस्तरमा सचेतना जगाएको हो।
कोरोना संक्रमण बढ्दो क्रममा भए पनि जोगिनका लागि ग्रामीण क्षेत्रमा सामान्य सुरक्षा बीधि पनि अपनाइने गरिएको छैन। स्थानीयलाई सचेत बनाएमा कोभिडको जोखिम न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको सशस्त्रले जनाएको छ। ग्रामीण बस्तीहरुमा मास्कको प्रयोग नपाइएको, सावुन पानीले हात धुने बानी नभएको र हात धुने तरिकासमेत थाहा नभएको, कोभिड १९ बारे जानकारी नभएको, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कुरा थाहा नभएको पाइएको सशस्त्रले जनाएको छ।
‘ग्रामीण क्षेत्रका नागरिकले सामान्य सुरक्षा पनि नअपनाएको पाइयो, हामीले हरेक तौतरिका सिकायौं, यसबाट उहाँहरुमा सचेत हुने बानीको विकास हुन्छ कि भन्ने हाम्रो अपेक्षा छ’, पोखरेलले भने। सशस्त्रले ग्रामीण बस्तीका नागरिकलाई कोभिडबाट बच्ने उपाय सिकाउनुका साथै सामान्य स्वास्थ्य चेकजाँच, मास्क वितरण, कोभिडबाट बच्ने उपायबारे लेखिएको पर्चापम्पलेट पनि वितरण गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले विशेष गरी रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रका ग्रामीण बस्तीमा कोभिड १९ का वारेमा जानकारी नभएकाले सावधानी नअपनाउने गरेको बताए। खासगरी स–सना बालबालिका, गृहिणी महिला र बृद्धबृद्धालाई लक्षति गरी सचेतना कार्यक्रम गरिएको र यो फलदायी हुने विश्वास सशस्त्रको छ।
‘हामीले कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यार्थी, बालबालिका र गृहिणी महिलालाइ केन्द्रित गर्दै धेरैभन्दा धेरै सहभागी बनाएर कोरोनाबारे जानकारी दिएका हौं’, पोखरेलले भने।
सचेतना कार्यक्रममा आएका अधिकांशले मास्क नलगाएको, भौतिक तथा सामाजिक दूरी कायम नगरेको पाइएको थियो। कार्यक्रममा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीले स्थानीयलाई मास्क किन लगाउनु पर्छ, सही किसिमबाट मास्क कसरी प्रयोग गर्ने, बाहिर गएर घरमा आउँदा वा मौका मिल्नासाथ साबुन पानीले कसरी हात धुने? घरायसी काम गर्दा सामाजिक दूरी कायम गरेर कसरी काम गर्न सकिन्छ? यतिबेला भोजभतेर किन गर्नु हुँदैन?
कोभिड १९ को संक्रमण भएमा के–कस्ता लक्षण देखिन्छन्? लक्षण देखिएपछि के गर्ने? लगायतका विषयमा स्थानीय भाषामा पनि सहभागीलाई जानकारी गराएका थिए।
प्रतिक्रिया