ad ad

समाज


बाइडेन राष्ट्रपति बन्ने भएपछि खुशी छन् चीनका गाउँलेहरु, भन्छन्ः अमेरिकाले चीनलाई हेप्दैन

बाइडेन राष्ट्रपति बन्ने भएपछि खुशी छन् चीनका गाउँलेहरु, भन्छन्ः अमेरिकाले चीनलाई हेप्दैन

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ११:३६,

पछिल्लो सयम चीन र अमेरिकाबीच व्यापार, प्रविधि, दक्षिण चीन सागर, हङकङ लगायत विभिन्न विषयमा विवाद छ। ट्रम्प प्रशासनमा अमेरिका र चीनको सम्बन्ध सुमधुर रहन सकेन।

अमेरिकामा नयाँ सरकार बन्ने भएपछि अब यी दुई देशबीचको सम्बन्ध कस्तो होला भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ।

यसबीचमा डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने भएपछि चीनको राजधानी बेइजिङ नजिकैको गाउँ यान्जिकाउका मानिसहरु भने खुशी छन्।

उनीहरु बाइडेन राष्ट्रपति बने उनले चीनसँग राम्रो व्यवहार गर्ने धारणा राख्दछन्।

यसै गाउँमा सन् २००१ मा बाइडेनले भ्रमण गरेका थिए जतिबेला उनी अमेरिकी सिनेट विदेश सम्बन्ध समितिका अध्यक्ष थिए।

गाउँलेहरुसँग देखाएको सद्भाव र राम्रो व्यवहारका कारण बाइडेनले यहाँका मानिसको मन जितेका थिए। अझैपनि उनीहरु बाइडेनलाई राम्रो व्यक्तिको रुपमा सम्झन्छन्।

यान्जिकाउमा बाइडेनले स्थानीय केटाकेटीहरुलाई आइसक्रिम किनिदिएका थिए।

अगष्ट महिनामा बाइडेन त्यहाँ पुगेका थिए। त्यसबेला २१ वर्षकी ताङ साओजुन आफ्ना दुई महिनाका छोराको हेरविचार गर्दै घरमै बसिरहेकी थिइन्।

हाल ४० वर्षकी उनी भन्छिन्,‘मेरो घर त्यसबेला गाउँकै सबैभन्दा नराम्रो थियो। त्यसैकारण उनले मेरो घरमा भ्रमण गरेको हुनुपर्छ।’

‘हाम्रो घरमा फ्रिज थिएन, ग्यास स्टोभ थिएन, हामी कोइले चुलोमा खाना पकाउँथ्यौं, झिँगाहरु घरभर हुन्थे’ ताङका श्रीमान लिउ चांकाई भन्छन्।

बाइडेनले उनीहरुको शिशु छोरालाई प्रेमका साथ चुम्बन गरेर बोकेका थिए। बाइडेनले उनीहरुको घरमा २ सय युआन पैसा पनि थाहा नपाउने गरी राखिदिएका थिए।

ताङ भन्छिन्,‘मैले पछि किचनमा पैसा भेटेको थिए जुन बाइडेनले हाम्रो लागि छाडेका थिए।’ आफूहरु गरिब भएकाले सकेको सहयोग बाइडेनले गरेको उनको भनाइ छ।

‘उनले आफ्नो नातिनी पनि मेरै छोराको उमेरको भएको बताउँदै भविष्यमा यहाँ फेरि आउने बताएका थिए’ ताङ भन्छिन्,‘हामी सबै चकित भएका थियौं। मैले त्यसबेला सोँचे विदेशीहरु धेरै राम्रा हुँदा रहेछन् र चिनियाँहरुलाई हेप्दैनन्।’

यो परिवारलाई बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेको विषय थाहै रहनेछ। जब पुरानो फोटो देखाइयो तब उनीहरुले खुशी व्यक्त गरेर राम्रो मान्छे राष्ट्रपति बन्न लागेको बताए।

बाइडेनले दुई दशक अगाडि भ्रमण गरेको गाउँहरु अहिले परिवर्तन भइसके। पुराना घरहरु सरकारको योजनाअनुसार परिवर्तन भएर दुई तल्लाको बनिसके।

बाइडेनले यान्जिकाउ गाउँमा त्यसबेला चर्चको पनि भ्रमण गरेका थिए। हाल ५७ वर्षका कृषक लि हुवा भन्छन्,‘बाइडेन निकै मिलापी थिए आत्मिय थिए। उनले हामी सबैलाई अभिवादन गरेका थिए। मेरा दुई बच्चालाई उनैले आइसक्रिम किनिदिएका थिए।’

रोयटर्सले खिचेको त्यसबेलाको एउटा तस्बिरमा कृषक हुवाका छोरा जाओ सानले बाइडेनसँग हात मिलाइरहेका छन्। हुवाका अनुसार बाइडेनले जिस्किँदै जाओ एकदिन चीनको ठूलो नेता हुने बताएका थिए।

हाल जाओ पनि २९ वर्षका भइसके। उनले बाइडेनको सम्झना गर्दै भनेका छन्,‘पहिले उनले मेरो राम्रो होस् भन्ने कामना गरेका थिए। अब उनी अमेरिकाको नयाँ राष्ट्रपति बन्दैछन्, म उनलाई बाधाई र शुभकामना साथै उनको पनि राम्रो होस भन्ने चाहन्छु।;

‘बाइडेनले मेरो गाउँ भ्रमण गरेकोमा म गर्व गर्छु’ जाओ भन्छन्,‘यदी उनीहरुले चीनलाई समस्यामा पार्दैनन् भने उनीहरु यहाँ जतिबेला पनि आउन सक्छन्।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .