वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका भोजपुरको टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेका छन्।
गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएका छन्।
गाउँमै स्वास्थ्य चौकी सञ्चालनमा आएपछि सिटामोल र जीवनजल किन्न पनि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीय टङ्कबहादुर विष्टले बताए।
दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित छन्। केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने वाध्यताको अन्त्य भएको विष्टले बताए।
‘वर्षौँदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ, अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ। स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो,’ विष्टले भने। विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवाका लागि जानुपर्ने वाध्यता थियो।
नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको हो। रासस
Shares
प्रतिक्रिया