समाज


वनमा लागेको डढेलोले खोटाङमा १३ घर जले, क्षतिको विवरण आउँन बाँकी

वनमा लागेको डढेलोले खोटाङमा १३ घर जले, क्षतिको विवरण आउँन बाँकी

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ९:४६, खोटाङ

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिँदा खोटाङकाे बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। 

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीनवटा मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ।

यस्तै, आगलागीबाट डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान जलेकाे छ। उनका ४० वटा बाख्रा जलेर मरेका छने भने आधा तोला सुन, नगद रु ५० हजारलगायतकाे धन सम्पत्ति पनि जलेको छ। 

यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ। डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ। खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ। 

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको छ।

डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन्। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए।

गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .