आगामी नोभेम्बरदेखि शुरु हुने फिफा विश्वकप २२ का लागि कतारले ८ वटा अत्याधुनिक नयाँ रंगशाला तयारी अवस्थामा राखेको छ। यी रंगशाला निर्माणमा नेपालीहरुको पनि धेरै ठूलो योगदान रहेको नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अलहेलले बताएका छन्।
कतारले विश्वकपको तयारी कसरी गरिरहेको छ भन्नेबारे नेपालखबरसँग कुरा गर्दै राजदूत युसुफले भने, ‘कतारले विश्वकपका लागि आठवटा नयाँ फुटबल रंगशाला निर्माण गरेको छ। ती रंगशाला अहिले खेल आयोजनाका लागि तयार छन्।’
नेपाली कामदारहरुले कतारमा राम्रो विश्वास आर्जन गरेको राजदूत युसुफको भनाइ छ। उनी भन्छन्,‘रंगशाला निर्माणको प्रक्रियामा नेपाली आप्रवासी कामदारहरुले धेरै योगदान दिएका छन्। उनीहरु लगाव र इमानदारीसाथ काम गरिरहेका छन्। हामी उनीहरुको योगदानको कदर गर्छौँ। कतारमा सबैभन्दा विश्वासिला कामदार उनीहरु नै हुन्।’
विश्वकपको प्रयोजनका लागि कतारमा बनेका अत्याधुनिक रंगशालाको संरचना ‘मोभेबल’ भएकाले अन्यत्र सार्न सकिने खालका छन्। रंगशाला निर्माणमा नेपालीहरुको पनि ठूलो योगदान रहेकाले नेपालले माग गरेमा एउटा रंगशाला कतारले दिन सक्छ भन्ने चर्चासमेत यसअघि चलेको थियो। हामीले यसबारे राजदूत युसुफलाई जिज्ञासा राख्दा उनले भने, ‘रंगशालासम्बन्धी निर्णय फिफाले कतारलाई गरेको सिफारिसमा आधारित हुनेछ।’
मध्यपूर्वमा पहिलो पटक हुन लागेको विश्वकपको तयारी कतारले कसरी गरिरहेको छ भन्नेबारे नेपालखबरले राजदूत युसुफ बिन मोहम्मद अलहेलसँग गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–
फिफा विश्वकप २०२२ आयोजनाका लागि कतार सरकारले कस्तो तयारी गरिरहेको छ?
कतारले विश्वकपका लागि आठवटा नयाँ फुटबल रंगशाला निर्माण गरेको छ। ती रंगशाला अहिले खेल आयोजनाका लागि तयार छन्। नोभेम्बर–डिसेम्बर २०२१ मा अरब कप आयोजना गरिसकेपछि म के भन्न सक्छु भने कतार फिफा विश्वकप २०२२ आयोजनाका लागि पूर्ण तयार छ।
पूर्वाधारसम्बन्धी तयारी पूरा भइसकेकाले अब सम्पूर्ण ध्यान संगठनात्मक विवरणतर्फ केन्द्रित भएको छ। आयोजक समितिले विश्वकप सुरु हुनुअघिको तयारीलाई अन्तिम रुप दिने काम गरिरहेको छ। अहिले ३२ वटै टोली छानिएर यो प्रतियोगिताका लागि तयार भइसकेका छन्।
विश्वकप तयारीका लागि कति बजेट छुट्याइएको छ? बन्दोबस्तीका लागि अहिलेसम्म कति खर्च भयो?
यो विश्वव्यापी कार्यक्रमलाई हरेक तरहले उच्चतम मानकका साथ सम्पन्न गर्न कतारले कुनै कसर बाँकी राखेको छैन। विश्वकप सम्पन्न गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। जुन कतारी जनताका लागि एक सम्मानको कुरा हो। र, त्यसले फुटबललाई सबैभन्दा लोकप्रिय खेलका रुपमा थप प्रवद्र्धन गर्नेछ।
कतारमा गर्मी असाध्य हुन्छ। विश्वकपको समयमा पनि यहाँको मौसम कठिन हुनेछ। कतारले चिसो बनाउने व्यवस्था कसरी गर्छ?
कतार र खाडी क्षेत्रमा बर्खा निकै गर्मी हुन्छ। त्यसैले विश्वकप नोभेम्बर–डिसेम्बरमा आयोजना हुँदैछ। जुन सहज मौसमको अवधि हो। यो फुटबल प्रशंसकको ठूलो भेलाका लागि उपयुक्त हुन्छ। त्यसबाहेक रंगशालामा आधुनिक वातानुकुलन प्रणाली जडान गरिएको छ। जसले तापक्रम प्रशंसक र खेलाडीका लागि उपयुक्त बनाउनेछ।
‘शून्य कार्बन उत्सर्जन’ विश्वकप आयोजना गर्ने कतारको प्रयासको जलवायु अभियन्ताहरुले आलोचना गरिरहेका छन्। त्यसको जवाफ कसरी दिनुहुन्छ?
कतारको सर्वोच्च समिति र फिफाले विश्वकप २०२२ दिगो रणनीति अनुमोदन गरेका छन्। फिफा, आयोजक मुलुक र स्थानीय आयोजकले संयुक्त रुयमै योजना बनाएको र लागू गरेको यस्तो पहिलो रणनीति हो यो। यो रणनीतिको उदेश्य पहिलेभन्दा अलग तरिकाले विश्वकप आयोजना गर्ने हो, जसले सामाजिक, मानवीय, आर्थिक र वातावरणीय हिसाबले नयाँ मानक स्थापित गर्छ।
विश्वकपका बेला पर्यटकको संख्या बढ्न सक्छ। त्यो अवधिमा स्वास्थ्यसम्बन्धी कस्ता मापदण्ड अपनाइनेछ?
विश्वकप हेर्न आउने सबैले कतार सरकारको यात्रासम्बन्धी सुझाव पालना गर्नुपर्नेछ। कोरोना खोप लगाउनुका साथै सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्नेछ। हामीसँग बलियो स्वास्थ्य प्रणाली छ। स्वास्थ्य मापदण्ड उच्चतम छ, उत्तम स्वास्थ्य सेवा प्रदायक र निगरानीको व्यवस्था पनि छ। विश्वकप २०२२ को दौरान स्वास्थ्य रक्षाका लागि विभिन्न उपाय अपनाउन कतार सरकार, विश्व स्वास्थ्य संगठन र फिफा सहमत भएका छन्।
हजारौँ खेलाडी, रेफ्री, सरकारी अधिकारी र दर्शक त्यहाँ पुग्नेछन्। उनीहरुको बसोबासको व्यवस्था कस्तो छ? कतारले दर्शकको सहज पहुँचका लागि कसरी व्यवस्थापन गर्छ?
खेल सुरु हुने बेलासम्ममा सबैलाई बस्ने ठाउँको व्यवस्था हुनेछ। आयोजक समितिले बस्नका लागि रोजाइअनुसार अलगअलग स्थानको व्यवस्था गरेको छ। कतारमा १० हजार होटल हुनेछन्। जसमा ३५ लाख पर्यटक आउने अपेक्षा छ। त्यस्तै, दुबई, आबुधाबी, साउदी अरब, कुवेत, ओमानबाट खेल हेर्न दैनिक विमानमा पनि थुप्रै आउनेछन्।
सरकारले सञ्चालन गरेको हाया कार्डका माध्यमबाट कतार प्रवेशलाई व्यवस्थित गरिनेछ। यो कतार राज्यमा प्रवेश गर्न पाउने अनुमति पत्र हो। जसका माध्यमबाट रंगशालामा प्रवेश गर्न र खेलको टिकट पनि किन्न सकिनेछ। कतार प्रवेशका लागि खेल टिकटलाई आधार मानिनेछ, त्यसका लागि भिसा चाहिने छैन। र, प्रशंकहरुले हाया कार्डका लागि आवेदन दिन सक्छन्।
रंगशाला निर्माणमा नेपाली नागरिकको योगदान कस्तो पाउनुभएको छ?
रंगशाला निर्माणको प्रक्रियामा नेपाली आप्रवासी कामदारले धेरै योगदान दिएका छन्। उनीहरु लगाव र इमानदारीसाथ काम गरिरहेका छन्। हामी उनीहरुको योगदानको कदर गर्छौँ। कतारमा सबैभन्दा विश्वासिला कामदार उनीहरु नै हुन्। कतार सरकार कामदारहरुको अधिकार र कल्याण सुनिश्चित गर्ने श्रम कानुन लागू गर्न इच्छुक छ।
कतार सरकारले एउटा रंगशाला नेपाललाई दिने चर्चा थियो। के यो साँचो हो?
मलाई लाग्छ, नेपाली फुटबल सहकार्यका लागि योग्य छ। नेपालले यो खेलमा प्रगति गर्ने सम्भावना छ। तर, रंगशालासम्बन्धी निर्णय फिफाले कतारलाई गरेको सिफारिसमा आधारित हुनेछ।
यी भव्य रंगशालामा हुनेछन् कतार विश्वकप फुटबलका खेलहरु (तस्बिरहरु)
Shares
प्रतिक्रिया