स्पेन फुटबल महासंघले राष्ट्रिय महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त गर्न आग्रह गरेको जनाएको छ।
रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ)का अनुसार मुख्य प्रशिक्षक भिल्डाको कार्यकालमा खेलाडीहरुले आफ्नो भावनात्मक र स्वास्थ्य अवस्थालाई असर गरिरहेको जनाएको हो।
खेलाडीहरुले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा भिल्डा रहिरहे राजीनामा दिने बताएका छन्। तर आरएफईएफले भने खेलाडीलाई प्रशिक्षकको निरन्तरतामा प्रश्न उठाउन अनुमति नदिने बताएको छ।
आरएफइएफले भनेको छ, ‘प्रशिक्षकको विषयमा खेलाडीले निर्णय लिन सक्दैनन्। खेलाडीको यस्तो गतिविधि खेलकुदको मूल्य र मान्यताभन्दा बाहिरको कुरा हो।’
खेलाडीहरुले राष्ट्रिय टोलीका लागि खेल्न अस्वीकार गर्नु भनेको फुटबलको मान्यताको गम्भीर उल्लंघन हो र यो निकै घातक रहेको आरएफईएफले जनाएको छ।
यसको लागि उनीहरुले दुईदेखि पाँच वर्षसम्म खेल्न अयोग्य हुने गरी कारबाही भोग्नुपर्ने चेतावनी दिइएको छ।
साथै आरएफईएफले यस्तो माग गर्ने १५ खेलाडीलाई टिममा नबोलाउने पनि जनाएको छ। महासंघले यो खेलकुदको समस्याभन्दा पनि व्यक्तिगत मूल्यतिर देखिएको जनाएको छ।
फुटबल छनोटमा केही पनि गर्न नसकिने आरएफईएफले जनाएको छ। यसलाई उसले पुरुष र महिला फुटबलको इतिहासमै नसोचेको अवस्था भनेको छ। ४१ वर्षीय भिल्डा सन् २०१५ देखि यता राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।
Shares
प्रतिक्रिया