घरेलु टोली नेपाल संयुक्त अरब इमिरेन्ट्स (युएई) सँगको एक दिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको छ।
नेपाललाई ८४ रनको फराकिलो अन्तरले हराएसँगै युएईले तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ।
युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो।
युएईका बलरसामु निरिह बनेका नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। लगातार विकेट पतन भएको नेपालको इनिङ्स ओपनर अर्जुन साउद र दिपेन्द्र सिंह ऐरिले उकासेका थिए।
अर्जुन र दिपेन्द्रले पाँचौँ विकेटका लागि ६८ रनको साझेदारी गरे। दिपेन्द्रले ५४ रन बनाउँदै क्याच आउट भए। दिपेन्द्रले ८४ बलमा ६ चौका हाने।
एक दिवसीय क्रिकेटमा डेब्यु गरेक अर्जुनले अर्धशतक प्रहार गरे। ७९ बलको सामना गरेका अर्जुनले ५ चौका हान्दै ५१ रन बनाएर पवेलियन फर्के।
आशिफ शेख १२ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल भुर्तेल ६, कप्तान रोहित पौडेल १ तथा ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए।
गुल्सन झा १९ र ललित राजवंशी ६ रनमा नटआउट रहे।
युएईका आयान अफ्जल खान एक्लैले ४ विकेट झारे। एक दिवसीयमा डेब्यु गरेका उनले नेपालविरुद्ध शानदार प्रदर्शन गरे। बसिर अमिदको नाममा २ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो।
मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बलको सामना गरेका उनले ७ चौका हाने। पहिलो विकेटका लागि मुहम्मद वसिम र वृत्त अरविन्दले ७५ रनको साझेदारी गरे। वसिमलाई गुल्सन झाले बोल्ड आउट गरे। ओपनर मुहम्मद वसिमले ४४ वृत्त अरविन्दले ४० रन बनाए।
तेस्रो विकेटका लागि वृत्त अरविन्द र कप्तान सीपी रिजवानले ५२ रनको साझेदारी गरे। कप्तान २ रनमा आउट भए। अलिान सराफु २९, अयान अफजल खान २६ र बसिर हमीद १४ रनमा रनआउट भए।
नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट झारे। करण केसीले १० ओभरमा ५९ रन खर्चे। सोमपालले १० ओभरमा ६३ रन खर्चे।
Shares
प्रतिक्रिया