अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी थप एक वर्ष पीएसजीमा रहने भएका छन्। ले परिसिएनका अनुसार क्लब र उनीबीच सम्झौता एक वर्षका लागि लम्ब्याउने सम्झौता भएको हो।
जसअनुसार उनी सन् २०२३/२४ को सिजनको अन्तिमसम्म पीएसजीमा रहनेछन्। यो समयसम्म उनी ३७ वर्षको हुनेछन्।
पीएसजीले यस विषयमा निरन्तर मेस्सीका बाबु जर्ज मेस्सीसँग कुरा गरिरहेको थियो। विश्वकपको समयमा पनि उनीहरुको बीचमा कुराकानी चलिरहेको थियो। सोही क्रममा डिसेम्बरको सुरुमा सम्झौता एक वर्ष थप गर्ने सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसअघि मेस्सी पुनः बार्सिलोना फर्किन सक्ने भन्दै विभिन्न किसिमको समाचारहरु पनि आइरहेका थिए। यो समाचारसँगै उक्त आशंका पनि सकिएको छ। यससँगै अब कम्तीमा १८ महिना मेस्सी पीएसजीमै रहने पक्का भएको हो।
फ्रान्सेली पत्रिका ले परिसिएनका अनुसार मेस्सीलाई एक वर्षको सम्झौता थप गर्न पीएसजीलाई सकस परेको थियो। अहिले मेस्सी र उनको परिवार पेरिसमा नै बसोबास गर्न थालेको छ। उनीहरु पेरिसमा खुसी पनि छन्। यस्तोमा क्लबले उनलाई उच्च स्तरमा आफ्नो खेल जारी राख्न अनुरोध गरेको हो।
मेस्सीले यसअघि आफूले फुटबलमा अहिलेको जस्तै प्रदर्शन गर्न सक्नेमा आशंका व्यक्त गरेका थिए। यद्यपि उनले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगितामा समग्रमा ७ गोल गरे। जसमध्ये दुई गोल फाइनल खेलमा गरेका थिए।
Shares
प्रतिक्रिया