ad ad

खेल


गरिब केटो एडसन कसरी बने ‘पेले’?

जसको नाम छन् फुटबलका अनेक कीर्तिमान
गरिब केटो एडसन कसरी बने ‘पेले’?

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ११:५१, काठमाडौँ

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय उनी मिर्गौला र प्रोस्टेटको रोगसँग लडिरहेका थिए।

विश्वकप फुटबलमा सबैभन्दा सफला टोली हो पेलेको देश ब्राजिल। उसले अहिलेसम्म पाँचपटक विश्वकपको उपाधि जितेको छ। यो सफलतामा पेलेको सबैभन्दा ठूलो योगदान छ। 

पेलेले आफ्नो टोलीलाई विश्वकपका तीनपटक उपाधि जिताएका छन्। पछिल्लो केही समयदेखि अस्वस्थ उनको स्वास्थ्यका लागि विश्वभरका खेलप्रेमीले प्रार्थना गर्दै आएका थिए। तर, बिहीबार शरीरका अंगले काम गर्न छाडेसँगै उनले सदाका लागि विश्राम लिए।

असाधारण प्रदर्शन
फुटबलका जादुगरको पहिचान बनाएका पेलेले प्रदर्शन यति उत्कृष्ट थियो कि अहिलेसम्म कुनै खेलाडीले उनको कीर्तिमानसँग बराबरी गर्न सकेका छैनन्।

उनको उपस्थितिमा ब्राजिलले सन् सन् १९५८, १९६२ र १९७० को विश्वकपको उपाधि जितेको थियो। आफ्नो टोलीलाई तीनपटक विश्वकप जिताउने पेले एकमात्रै खेलाडी हुन्। सबैभन्दा कम उमेरमा विश्वकपमा गोल, ह्याट्रिक र फाइनल खेल्ने कीर्तिमान ६० वर्षपछि पनि पेलेकै नाममा छ। 

ब्राजिल मात्रै होइन, विश्वभर फुटबललाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका पेलेको प्रदर्शनजति नै रोचक कहानी उनको नाममा पनि छ। 

'पेले' नाम न त उनको वास्तविक हो न त उनको उपनाम नै। 

प्रत्येक मानिसको एक/दुई उपनाम 
ब्राजिलको सानो सहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा पेलेको जन्म भएको थियो। पिता क्लबस्तरका फुटबलर थिए भने आमा गृहिणी थिइन्। उनीहरुले आफ्नो छोराको नाम एडसन राखेका थिए। 

यो नाम राख्नुको कारणबारे पेलेले आफ्नो संस्मरण ‘व्हाई सुकर म्याटर्स’मा उल्लेख गरेका छन्।

‘जतिबेला मेरो जन्म भयो, त्यहीबेला हाम्रो शहरमा बिजुलीको बल्ब पुगेको थियो। मेरा मातापिता बल्बको उज्यालोको कारण दंग थिए।

त्यसैले उनीहरुले यसलाई बनाउने वैज्ञानिक थोमस अल्भा एडिसनको सम्मानमा मेरो नाम एडिसन राख्नुपर्नेमा स्पेलिङमा भएको त्रुटिको कारण एडसन राखिएको थियो।’ 

यसरी त्रुटीवश पेलेको नाम एडसन राखिएको थियो। उनको पूरा नाम एडसन एरेन्टस डो नासिमेन्टो थियो। ब्राजिलमा यस्तै किसिमको लामो नाम राखिन्छ।

यद्यपि ब्राजिलका मनिसहरुको उपनाम नै चलनचल्तीमा आउने गर्छ। ब्राजिलमा लगभग सबैजसो मानिसको एक वा दुई उपनाम अवश्यक हुन्छ। जसकारण घरका मानिसहरुलाई बोलाउन सजिलो हुन्छ। 

फुटबल मैदानमा पेले

फुटबलर सपना 
एडसन अर्थात् पेलेको उपनाम डिको राखिएको थियो। मातापिता, दाजुभाइ वा चिनजानका मानिसले उनलाई डिको भनेर बोलाउँथे। 

डिकोका पिता आफैँ पनि फुटबलर थिए। तर, २५ वर्षको उमेरमा घाइते भएसँगै उनले आफ्नो फुटबल करिअर अघि बढाउन भने सकेनन्।

क्लबस्तरमै आफ्नो फुटबल करिअर अन्त्य गरेका उनले छोरालाई फुटबलर बनाउने सपना देखेका थिए। 

त्यसपछि उनीहरुको परिवार साओ पाउलोमा बसाइँ सरेको थियो। बाल्यकालदेखि नै प्रशिक्षण पाएका पेलेको चर्चा छरछिमेकमा पनि हुन थालेको थियो।

तर, उनलाई स्रोतसाधन अभाव थियो। पेले कहिलेकाहीँ फाटिसकेका पुराना लुगा पोको पारेर फुटबल बनाएर खेल्थे। कहिलेकाहीँ उनी नजिकैको स्टेसनबाट रेलको सामना चोरेर बेच्दै बल किन्ने पैसा जम्मा गर्थे।

९–१० वर्षको उमेरमा उनले आफ्ना साथीहरुलाई तीव्र गतिमा छकाउँथे, उनलाई कसैले पनि भेट्न सक्दैनथ्यो। त्यसपछि उनलाई ग्यासोलिना नयाँ नाम दिइयो। यो नाम राखिनुको कारण उनी ग्यासजस्तै छिटो दौडिन्थे। पेलेका अनुसार यो नाम उनलाई केही हदसम्म राम्रो पनि लागेको थियो। 

म्याराडोनासँग पेले, दुवै सर्वकालीन महान् फुटबलरको निधन भइसकेको छ।

पेले
यद्यपि उनको नाम पेले कसरी रहन गयो त? यसबारे विभिन्न किसिमका दाबी गरिँदै आएको छ। त्यसमध्ये सबैभन्दा चर्चित दाबी गेलिक भाषामा पेलेको अर्थ फुटबल भन्ने हुन्छ। त्यसैले उनको नाम पेले राखिएको हो।

यद्यपि यसमा त्यति धेरै सत्यता भने देखिँदैन। किनकी गेलिक आयरल्याण्ड र आसपासका क्षेत्रमा बोलिने भाषा हो, यहाँको भाषाको अर्थ त्यतिबेला हजारौँ माइल टाढाको ब्राजिलमा कसरी पुग्यो भन्ने स्पष्ट आधार देखिँदैन। 

पेले शब्द हिब्रू भाषामा पनि छ। यो भाषामा पेलेको अर्थ चमत्कार भन्ने हुन्छ। प्यालेस्टाइन र इजरायलको कुनै पनि शब्द ब्राजिलसम्म पुग्नु पनि असम्भव जस्तै थियो।

यस्तोमा पेले नाम कसरी राखियो त भन्ने प्रश्न उठ्न सक्छ। त्यतिबेला ब्राजिलमा पोर्चुगिज भाषाको प्रयोग हुन्थ्यो। पोर्चुगिज भाषमा पेलेको कुनै पनि अर्थ हुँदैन। यद्यपि १५ वर्षको उमेरमा सान्तोस क्लबमा जोडिँदासम्म उनी पेले नामबाटै परिचित भइसकेका थिए। 

पेलेले ‘व्हाइ सुकर म्याटर्स’मा आफ्नो नाम कसरी रहन गयो भन्ने विषयमा पनि उल्लेख गरेका छन्। ‘मलाई राम्रोसँग थाहा छैन कि मेरो नाम कहाँबाट आयो? तर, मेरो मामा जर्जले बताएको कुरामा भने म विश्वास गर्न सक्छु’, उनले लेखेका छन्। 

पेलेका मामा जर्ज उनीसँगै बस्थे, धेरै वर्षसम्म उनको नोकरीबाटै पेलेको परिवारको भरणपोषण भएको थियो। 

जर्जका अनुसार ब्राजिलको बाउरुस्थित स्थानीय फुटबल क्लबको एक गोलकिपरको नाम बिले थियो। यो क्लबमा पेलेका पिता पनि खेल्थे। बिले आफ्नो शानदार गोकिपिङको कारण लोकप्रिय थिए। 

महान् फुटबलर पेले

‘अर्कोतर्फ बाल्यकालमा डिकोले पनि धेरै खेलमा गोलकिपरको भूमिका निर्वाह गरेका थिए। त्यसक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दा मानिसहरुले उनलाई दोस्रो बिलेको नामले बोलाउँथे।’

पेलेले किताबमा लेखेका छन्, ‘हेर्दाहेर्दै बिले कतिबेला पेले भयो पत्तै भएन।’ यद्यपि एक समयमा साथीहरुसँग भेट हुँदा कसैले उनलाई पेले भनेर बोलाउँदा उनी मेरो नाम त सही तरिकाले भन्ने गर भनेर साथीहरुलाई भन्ने गर्थे। 

त्यसपछि उनलाई छरछिमेकका मानिसले पेले नामले बोलाउँथे। तर, आधिकारिकरुपमा पेले नामको प्रयोग भने सान्तोस क्लबले सुरु गरेको थियो।

सान्तोसका प्रबन्धकले पेलेलाई एक ब्राण्ड बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसलाई उल्लेख गर्दै पेलेले लेखेका छन्, ‘पेले एक फरक पहिचान बनिसकेको थियो। एडसन बाउरुले आएको एक गरिब केटा थियो, जसलाई आफ्नो घर परिवारको याद आउँथ्यो तर अर्कोतर्फ पेले किशोरवयमा नै उदाउँदो स्टार थियो। जसमाथि धेरैले विश्वको सबैभन्दा ठूलो एथ्लेट बन्ने आशा राखेका थिए।’ 

उनले थपेका छन्, ‘एडसन सीमित दायरामा साँघुरिएको केटा थियो भने पेले हजारौं भीडमा  सहजरुपमा मुस्कुराउन सक्थ्यो। एउटै मानिसको दुई भिन्न रुप थियो, दुई भिन्न वास्तविकता थियो। एउटालाई म चिन्थेँ, अर्को नयाँ थियो, परिवर्तन भइरहेको थियो र मलाई त्यसले डराउँथ्यो पनि।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .