क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदनको पेसी सर्वोच्च अदालतले भोलि (शुक्रबार) का लागि तोकेको छ।
आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले बिहीबार निवेदन दिएपछि सर्वोच्चले यसको सुनुवाइ भोलि गर्ने गरी पेसी तोकेको हो।
विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका हुन्।
पेसी तोकिएपछि शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न यूएई जान पाउनेछन्।
तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको यूएई यात्रा रोकिने छ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यूएई जाने टोलीको घोषणा गरेको छ। जसमा सन्दीपलाई समावेश गरिएको छैन।
टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जिसी र श्याम (मौसम) ढकाल छन्।
गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान प्रतिबन्ध लगाएको थियो। उपत्यका छाडेर जाँदा पनि अनुमति लिनुपर्ने आदेश अदालतको थियो।
नेपालमा हालै भएको लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएपछि सन्दीपलाई यूएई लैजान क्रिकेट संघले पनि पक्रिया अघि बढाएको छ।
सिरिजकै सर्वाधिक विकेट लिएका सन्दीप लिग २ कै बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा परेका छैनन्।
अदालतको प्रतिबन्धका कारण टोलीमा नपरेका उनी प्रतिबन्ध फुकुवाको मागसहित सर्वोच्च पुगेका हुन्। यदि शुक्रबार सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै यूएई जानेछन्।
सन्दीपलाई यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए।
Shares
प्रतिक्रिया