खेल


प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिताका विजेतालाई पाँच हजार अमेरिकी डलर पुरस्कार

प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिताका विजेतालाई पाँच हजार अमेरिकी डलर पुरस्कार

नेपालखबर
चैत ६, २०७९ सोमबार १७:३, काठमाडौँ

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका उपाधि विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। प्रतियोगितामा दोस्रो हुनेले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। 

हरेक खेलको म्यान अफ द म्याचले २५० अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीले ५०० अमेरिकी डलर पाउनेछ। राष्ट्रिय खेलकुद परिषद्ले पुरस्कारका लागि ९,५०० अमेरिकी डलर पुरस्कार रकम उपलब्ध गराउनेछ। 

प्रतियोगिताका लागि भुटान र लाओसको टोली आज सोमबार नेपाल आइपुगि सकेका छन्। नेपालले भने अहिलेसम्म टोली घोषणा गरेको छैन। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हिनसेन्जो अल्बर्टो एनेसेलेले श्रम स्वीकृति बिनै टोलीको प्रशिक्षण गराइ राखेका छन्। 

सिंगल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फिफा विन्डो अन्तर्गतको मितिमा हुन लागेको प्रतियोगिताको फाइनल खेलले भने फिफा मान्यता पाउने छैन। फाइनल खेल फिफा विन्डो बाहिर पर्ने भएकाले फाइनल खेलले फिफा वरियतामा कुनै प्रभाव पार्नेछैन।

नेपालले आगामी बुधबार लाओससँग र आगामी मंगलबार भुटानसँग खेल्नेछ। लाओस र भुटानबीचको खेल शनिबार हुनेछ। यी दुई खेलहरु दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।  चैत १७ गते शुक्रबार फाइनल खेल हुनेछ। फाइनल खेल साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ। 

प्रतियोगिताका मार्केटिङ र ब्रोडकास्टिङ अधिकारकालागि एन्फाले एमडीएसी स्पोर्टस् प्रा.लिसँग सम्झौता गरिसकेको छ।

खल्ती एपसँग सहकार्य गरेर प्रतियोगिताका लागि टिकट भने एन्फा आफैले बेच्नेछ। प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भीआइपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ। 

प्रतियोगिता सम्पन्न गर्न १करोड ७७ लाख ६८  हजार ४८० रुपैयाँ खर्च लाग्ने एन्फाले अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .