सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
शुक्रबारको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई १५ रनले पराजित गरेको हो। सुदूरपश्चिमले प्रतियोगितामा बेहोरेको यो पहिलो हार हो।
एपीएफले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि कविता कुवँरले सर्वाधिक ५१ रनको योगदान दिइन्। कविताले ६० बलमा ३ चौका र २ छक्का हानिन्। सम्झना खड्का १७ रन थप्दै बोल्ड आउट भइन्।
रेवती धामी १ रनमा क्याच आउट भइन्। कप्तान विन्दु रावल १ रनमा रन आउट भइन्। रुवि पोडार ४ रनमा बोल्ड आउट भइन्। स्नेहा महरा २ रनमा रन आउट भइन्। कविता जोशी २६ र रितु कनौजिया शुन्य रनमा नटआउट रहिन्।
एपीएफकी सुमन विष्टले दुई विकेट लिइन्। सीता राना मगर र इन्दु बर्माको नाममा समान एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय २१ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर ज्योति पाण्डे र सीता रानामगरले ३६ रनको साझेदारी गरे। ज्योति १३ रन बनाएर रन आउट भइन्।
दोस्रो विकेटका लागि सीता र इन्दु बर्माले ८० रनको साझेदारी गरे। इन्दु ४५ रन बनाउँदा क्याच आउट भइन्। ३७ बलको सामना गरेकी इन्दुले ५ चौका हानिन्।
कप्तान सीता ५२ र ममता चौधरी ३ रनमा नटआउट रहिन्। सीताले ५९ बलमा ७ चौका हानिन्।
सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट लिइन्।
जितसँगै एपीएफ २ अंकमा शीर्ष स्थानमा छ। एक खेलमा हार र एक खेलमा जित निकालेको सुदूरपश्चिम दुई अंकमा दोस्रो स्थानमा छ।
आजै हुने दोस्रो खेलमा ललितपुर मेयर ११ र प्रदेश १ भिड्नेछन्।
प्रतिक्रिया