ad ad

खेल


नेपालको कसिलो बलिङ, ६८ रन जोड्दा कतारले ७ विकेट गुमायो

नेपालको कसिलो बलिङ, ६८ रन जोड्दा कतारले ७ विकेट गुमायो

लगालग कतारको विकेट लिएपछि नेपाली क्रिकेटर। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:३, काठमाडौँ

एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ। 

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले ७ विकेट गुमाएको हो। 

कतारले २१ ओभरमा ७ विकेट गुमाएर ६८ रन बनाउँदै खेलिरहेको छ। 

नेपालका सोमपाल कामीले ३ तथा ललित राजवंशी र सन्दीप लामिछानेले २-२ एक विकेट लिँदै सफलता दिलाएका छन्। 

तेस्रो ओभरको दोस्रो बलमा ललितले ओपनर कमरन खानलाई ८ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको अन्तिम बलमा सोमपाल कामीले इमाल लियांगालाई ६ रनमा बोल्ड आउट गरे। सन्दीपले जहिर इब्राहिमलाई १५ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराए। 

१० औं ओभरको चौथो बलमा सोमपालले नै मुहम्मद तनविरलाई शून्यमा बोल्ड आउट गराए। 

त्यसपछि १२ औँ ओभरको छैटौँ बलमा इक्रमुल्लाह खानलाई सोमपाल कामीले भीम सार्कीमार्फत क्याच आउट गराएका छन्। खान १३ बलमा ५ रन जोड्दै आउट भएका छन्। 

त्यसैगरी सन्दीप लामिछानेले मोहम्मद रिजलानलाई आशिफ शेखको हातबाट पबेलियनको बाटो देखाए। रिजलान ८ बलमा केबल ४ रन बनाउँदै आउट भए। 

पछिल्लो पटक ललित राजवंशीले आमिर फारूकलाई आशिफ शेखमार्फत आउट गराए। आमिर फारुकले २२ बलमा केबल १४ रन बनाउँदा पबेलियन फर्किए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो। 

खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए। कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे। 

सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। अन्तराष्ट्रिय कुनै पनि प्रतियोगिताको उच्च प्रर्दशन गरेका बनाएको यो नै सर्वाधिक रन हो।

यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए। 

कप्तान रोहित पौडेलले २७ रन बनाए। आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो। 

२६ बलको सामना गरेका रोहित  लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए। 

नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए।

भीम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए। गुलसन झा ७ रनमा क्याच आउट भए। 

कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।

तस्बिरहरु : सरोज नेपाल/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .