नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा खेलेपछि नेपाललाई विश्वले हेर्ने र चिन्ने बताएका छन्। एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ। एसिया कपमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा छन्।
नेपालले एसिया कपमा स्थान बनाएसँगै टोलीका कप्तान पौडेलले भारत र पाकिस्तानसँग खेल्दा विश्वले नेपाललाई हेर्ने, चिन्ने र विदेशी फ्रेन्चाइज लिगमा नेपाली खेलाडीका लागि अवसरको बाटो खुल्ने बताए।
खेलपछि रोहितले भने, ‘एसिया कपमा पुग्दा एकदमै खुसी लागेको छ। खेल अघि हामीले जे सोचेका थियौं, नतिजा हामीले सोचेको अनुसार नै आयो।’
कप्तान रोहितले आफूले सानैदेखि भारत र पाकिस्तानको खेल हेरेको कारण पनि आफूहरुका लागि एसिया कप निकै महत्वपुर्ण हुने बताए। ‘यो हाम्रो लागि ठुलो अवसर पनि हो,’ उनले भने।
यूएईले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो नम्बरमा गुलसन झा लाई पठाउने आफूहरुको निर्णय सहि भएको बताए। ‘विकेटको बारेमा राम्रो जानकार थियौं, भर्बल टर्न भएको थियो, त्यसैले गुलसनलाई पठाएका थियौँ,’ उनले भने।
Shares
प्रतिक्रिया