मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन्। क्लबले गुरुङलाई बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
गुरुङलाई चालू सहित दुई सिजनका लागि अनुबन्ध गरिएको क्लबले जनाएको छ।
‘प्रतिभाशाली युवा प्रशिक्षकको नेतृत्वमा क्लबले आगामी दिन घरेलु र अन्तराष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास लिएका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकीलाई आधार बनाएर घरेलु फुटबलमा योगदान गर्ने क्लबको उद्धेश्यमा गुरुङको नियुक्तिले थप टेवा पुग्ने विश्वास छ।’
गुरुङलाई नियुक्त गर्दै क्लबका अध्यक्ष घलेले नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताए।
‘घरेलु फुटबललाई विकेन्द्रिकरण गर्दै क्लबलाई व्यवसायीक बनाउने उद्धेश्यमा हामी दृढ छौं। नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त छु,’ उनले भनेका छन्, ‘मनाङ परिपक्क ढङ्गले घरेलु फुटबलमा पुरानो विरासतलाई माथि उठाउने योजनामा तयार छ।’
त्यस्तै, नवनियुक्त प्रशिक्षक घलेले आफूलाई यो क्लबबाट खेल्ने धोको रहेको बताए।
‘यस क्लबबाट खेल्ने सधै धोको रहने गर्दथ्यो। अहिले आएर मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्न पाउँदा खुसी छ,’ उनले भनेका छन्, ‘युवा प्रतिभाले भरिएको यति राम्रो टिम निर्माण गरिदिएकोमा किरण श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु।’
Shares
प्रतिक्रिया