एसियाली खेलकुदको महाकूम्भ मानिने एसियन गेम्समा यो पटक २९ खेलले नेपालको प्रतिनिधित्व गर्दै छन्।
चीनको हाङझाउमा असोज ६ गतेदेखि सुरु हुने एसियन गेम्सका समूहगत र एकल गरी २ सय ३४ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछ। २९ खेलका लागि ५१ प्रशिक्षक र ३० म्यानेजर एसियाडको तयारीका लागि खेलाडीसँगै व्यस्त छन्।
२९ खेलमध्य केही खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन्। भारोत्तोलन, ह्याण्डबल र रग्वीका खेलाडी पोखरामा प्रशिक्षणमा व्यस्त छन्।
अधिकांश खेलका खेलाडी भने काठमाडौं उपत्यकामा नै प्रशिक्षण गरिरहेका छन्। उपलब्ध भौतिक पूर्वाधार र सीमित स्रोत साधनका बावबुज नेपाली टोली प्रशिक्षणमा जुटिरहेका छन्।
सन् १९५१ मा भारतबाट सुरु भएको एसियाडबाट नै नेपालले प्रतिनिधित्व गरेको थियो। त्यसयता नियमित सहभागिता जनाएको ७२ वर्षे लामो इतिहासमा नेपालले अहिलेसम्म २ रजत र २२ कास्य पदक जितेको छ।
नेपालले पहिलो पटक सन् १९९८ मा बैंककमा भएको एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्।
त्यसको दुई दशकपछि सन् २०१८ मा जकार्ता एसियाडमा टिम इभेन्ट्स अन्तर्गत क्रसकन्ट्री विधामा नेपालको प्याराग्लाइडिङले रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो। पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका बिमल अधिकारी, विजय गौतम, सुशिल गुरुङ, युकेश चौधरी र विशाल थापाको टिमलले दुई दशकपछि रजत पदक स्वदेश ल्याएका थिए।
नेपालले अहिलेसम्म जितेको यी दुई नै सबैभन्दा ठूला पदक हुन्।
नेपालले सन् १९५१ देखि १९९४ सम्म ११ वटा कास्य पदक जितेको थियो। १९९८ मा १ रजत र ३ कास्य गरी ४ पदक जितेको थियो। २००२ मा दक्षिण कोरियामा भएको १४ औं एसियाड र २००६ मा कतारमा भएको १५ औं एसियाडमा नेपालले समान ३ कास्य पदक जितेको थियो।
सन् २०१० मा ग्वान्झाउमा भएको १६ औं एसियाडमा बक्सिङका दिपक महर्जनले पुरुष ८१ केजी तौल समूहमा कास्य पदक जितेका थिए।
२०१४ मा भएको इन्चोन एसियाडमा करातेकी बिमला तामाङले महिला एकलमा कास्य पदक जित्दै नेपाललाई पदक विहिन हुनबाट जोगाएका थिए।
सन् २०१८ मा इन्डोनेसियाको जकार्ता एसियसाडमा नेपालका २९ खेलले सहभागिता जनाएका थिए। २९ खेलका १३१ पुरुष र ५७ महिला गरि १ सय ८८ जना खेलाडीले एसियाडमा सहभागिता जनाएका थिए।
सन् १९५१ को पहिलो संस्करणदेखि २०२३ को १९ औं एसियाडसम्म आउँदा नेपालले नियमित सहभागिता जनाए पनि नतिजा भने सन्तोषजनक छैन।
अहिलेसम्म सहभागितामा नै सीमित बन्दै आएको नेपाली खेलकुदले पदकका लागि कसरी तयारी गर्नुपर्छ भन्ने विषयमा गम्भीर बन्नुपर्ने बेला आइसकेको छ। सधैँ सहभागितामा नै रमाउने र त्यसलाई मुख्य मान्दै आउने हो भने नेपालले एसियाडमा कहिले पदक जित्ला त? खेलाडीसँग पदकको अपेक्षा गरिरहँदा त्यस अनुरूपको तयारी र सेवा सुविधाका बारेमा पनि सोच्नुपर्ने हुन्छ।
दक्षिण एसियाली खेलकुल (साग) मा नेपालका खेलाडीले पदक जित्दै कीर्तिमान बनाइरहेका छन्।
खेलाडीको त्यही लयलाई निरन्तरता दिन खेल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक काउन्सिल (एनओसी) ले नियमित प्रशिक्षणमा राख्नुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया