स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन १ को ट्रफी सार्वजनिक भएको छ।
एकेडेमीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरेको हो।
सह–प्रायोजक मेटल सेपरले च्याम्पियन्स लिगको रनिङ ट्रफी र अनुमानित बजेटको १५ प्रतिशत रकम अर्थात् २ लाख ८५ हजार रुपैयाँ प्रदान गर्ने प्रबन्ध निर्देशक निरज जोशीले जानकारी दिए।
पर्सि मंगलबारदेखि सुरु हुने च्याम्पियन्स लिगको सबै तयारी पूरा भएको छ। स्ट्याग ग्लोबल प्रालि भारतको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाउनेछन्।
मुख्य प्रायोजकले च्याम्पियन्स लिगमा आवश्यक टेबल टेनिस, बल, स्कोर बोर्ड, टावेल बक्स, अफिसियल किट लगायतका सामाग्री उपलब्ध गराउने एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन्।
पाँच दिनसम्म चल्ने मिक्स टिम लिगमा तिन विभागीयसहित ९ टोलीले सहभागिता जनाउनेछन्।
लिगमा आयोजक स्ट्याग च्याम्पियन्स टेवल टेनिस एकेडेकीसहित नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ क्लब, एभिएम टेवल टेनिस क्लव, कान्तिपुर भ्याली पिङ पोङ क्लब, नगाउन स्पोर्टस् क्लब, गड स्पिन टिटि एकेडेमी, ज्ञानभैरव दिल्लीबजार टीटी क्लब सहभागी हुनेछन्।
सहभागी पाँच टोलीले एक महिला र पुरुष गरी दुई विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित पुलिस क्लब, एपीएफ, एभीएम, कान्तिपुरले विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
लिगको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख र सेमिफाइनलिष्ट दुई टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगितालाई सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता १९ गतेदेखि २३ गतेसम्म चल्नेछ।
Shares
प्रतिक्रिया