ad ad

खेल


ओलम्पिक भिलेज छाडेर सुटुक्क प्रेमीसँग घुम्न जाँदा कारबाहीमा परिन् पौडी खेलाडी

नियम उल्लंघन गरेको आरोप, टोलीबाटै निष्कासन
ओलम्पिक भिलेज छाडेर सुटुक्क प्रेमीसँग घुम्न जाँदा कारबाहीमा परिन् पौडी खेलाडी

नेपालखबर
साउन २३, २०८१ बुधबार १४:०, काठमाडौँ

खेलाडीले अनुशासन र मर्यादामा नरहँदा कतिसम्म क्षति बेहोर्नुपर्छ भन्ने उदाहरण फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा देखिएको छ। 

त्यहाँ सहभागी हुन गएकी ब्राजिलकी एक महिला खेलाडीलाई बिनाअनुमति प्रेमीलाई भेट्न गएको भनी कारबाही गरिएको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षीया पौडी खेलाडी एना क्यारोलिना भिएरा रातको समयमा सुटुक्क ओलम्पिक भिलेजबाट निस्किएर आफ्ना प्रेमीसँग पेरिस सहर घुम्न गएकी थिइन्।

कसैसँग अनुमति नलिई गोप्य रूपमा उनी आफ्ना प्रेमी ग्याब्रियल सान्तोषसँग पेरिस सहर घुम्न गएको रहस्य तब खुल्यो, जब उनले घुमेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन्। 

अनि ब्राजिलको पौडी टोलीका व्यवस्थापक गुस्ताभो ओत्सुकाले आफ्नो ओलम्पिक कमिटीलाई यो कुरा जानकारी गराए। त्यसपछि ओलम्पिक कमिटीले नियम उल्लंघन गरेको आरोपमा एनालाई टोलीबाट निष्कासन गरेको हो। 

‘एनाको व्यवहार उचित भएन। उनी सुटुक्क ओलम्पिक भिलेजबाट बाहिर निस्किइन्। उनले ओलम्पिक भिलेजको मर्यादा कायम राखिनन्। त्यसैले उनलाई कारबाही गरिएको हो’, गुस्ताभोले भनेका छन्, ‘अब उनले तत्काल ब्राजिल फर्कनु पर्नेछ। हामी रमाइलो गर्न वा छुट्टी मनाउन पेरिस आएका होइनौँ। खेलाडीले यो कुरा बिर्सन भएन।’

यसैबीच कारबाहीपछि एना आफ्ना सम्पूर्ण सामान ओलम्पिक भिलेजमै छाडेर ब्राजिल प्रस्थान गरेको डेली मेलले जनाएको छ।

ब्राजिल फर्किएर एनालाई सबैभन्दा पहिले ओलम्पिक कमिटीमा सम्पर्क राख्न निर्देशन दिइएको छ।

उनका प्रेमी ग्याब्रियल पनि ब्राजिलियन पौडी खेलाडी नै हुन्। तर उनलाई ओलम्पिक कमिटीले एकपटकलाई चेतावनी मात्र दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .