इंग्ल्यान्ड र पाकिस्तानबीचको ३ खेलको टी-२० क्रिकेट सिरिज शुक्रबार सुरु हुँदै छ। खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा राति पौने ११ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी टोली सुखद नतिजा निकाल्ने दाउमा छ। तीन खेलको टेस्ट सिरिज १–० ले गुमाएको ऊ सुखद नतिजा निकाल्दै स्वदेश फर्किन चाहन्छ।
शुक्रबार सुरु हुने टी–२० सिरिजमा ओपनर ब्याट्सम्यान जेसन रोय उपस्थित हुने छैनन्। जसको फाइदा लिने मौका पाकिस्तानलाइ छ।
टी–२० सिरिज तयारी क्रममा मांसपेशीमा चोट लागेका रोयले जारी सिजनसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) पनि गुमाउने छन्। रोय आईपीएलमा दिल्ली क्यापिटल्समा समावेश थिए।
उनको स्थानमा दिल्लीले अस्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल साम्सलाई टोलीमा समावेश गरिसकेको छ। सिरिजको दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार हुनेछन्।
प्रतिक्रिया