पुरुष विश्वकप फुटबलको इतिहासमा पहिलोपटक महिला रेफ्रीले खेल खेलाउँदै छन्।
कतारमा हुने यो विश्वकप खेलाउन विश्व फुटबल महासंघ (फिफा) ले पहिलोपटक ३ महिला रेफ्री छनोट गरेको हो।
फिफाले कतार विश्वकपका लागि छनोट भएका ३६ जनामध्ये पर्ने ३ महिला रेफ्री हुन्– जापानकी योशिमी यामाशिता, रुवाण्डाकी सलिमा मकानसांगा र फ्रान्सकी स्टेफनी फ्रापार्ट।
फिफाले ६९ सहायक रेफ्रीको सूचीमा ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र संयुक्त राज्य अमेरिकाकी क्याथलिन नेस्बिटको नाम पनि समावेश गरेको छ।
फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले आफूहरुले सधैँजस्तै मापदण्डको चयन गर्दै म्याच अधिकारीहरु छनोट गरेको बताए।
कोलिनाले सन् २००२ को विश्वकप फाइनलमा काम गरेका थिए।
उनले भने, ‘हामीले गुणस्तरमा जोड दिएका छौँ, लिङ्गमा होइन। भविष्यमा पनि महत्त्वपूर्ण प्रतियोगिताका लागि एलिट महिला म्याच अधिकारीको छनोटलाई सामान्य रुपमा लिइने आशा गर्छु।’
जापानकी रेफ्री यामाशिताले आफूहरुको छनोटले महिलाहरुका लागि समान तलबको अधिकांश उपायहरु र लैंगिक समानताका लागि विश्वव्यापी अध्ययनमा ध्यान केन्द्रित गरेको बताइन्।
‘महिलाहरूले यसरी खेलकुदमा सक्रिय भूमिका खेल्न सके र खेलकुद र विशेष गरी फुटबलले यसका लागि नेतृत्व गर्नसकेमा धेरै खुसी हुनेछु’, यामाशिताले भनिन्।
विश्वकपमा सहभागी हुने यी तीन महिला रेफ्रीहरुसँग यसअघि पनि पुरुष फुटबलमा काम गरेको अनुभव छ।
यस्तै यामाशिताले जापानको पुरुष लिग पुरुष च्याम्पियनसिप खेलाइसकेकी छिन्। गत वर्ष टोकियो ओलम्पिकमा पनि उनी रेफ्री थिइन्।
यस्तो छ तीन महिला रेफ्रीको अनुभव
यामाशिता
यामाशिताले सन् २०१९ मा फ्रान्समा महिला विश्वकपको फाइनल खेलाएकी थिइन्। उनी लगातार दोस्रो विश्वकप खेलाउने पहिलो रेफ्री पनि हुन्।
सन् २०२० मा ओलम्पिक र २०२१ मा संयुक्त राज्य अमेरिका र स्विडेनबीचको खेलमा पनि यामाशिताले रेफ्रीको जिम्मेवारी पूरा गरेकी थिइन्।
३६ वर्षीय यामाशिता यो पटक महत्त्वपूर्ण इतिहासको हिस्सा बन्दै छिन्।
उनले भनिन्, ‘मध्यपूर्वमा महिला रेफ्रीहरु कम छन्, त्यसैले पनि यो परिवर्तनलाई उत्प्रेरकको रुपमा लिन चाहन्छु।’
पुरुष विश्वकपमा महिला रेफ्रीको सहभागिताले पनि महिलाहरुको क्षमता बढिरहेको संकेत गरेको उनको विश्वास छ।
सलिमा मुकानसांगा
रुवाण्डाकी रेफ्री सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रीको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।
उनलाई व्यावसायिक बास्केटबल खेल्ने सपना थियो। तर बास्केटबलको पूर्वाधारमा पहुँच कम भएपछि छाडिन् जुन कुरामा उनलाई आजसम्म पनि पछूतो छैन।
मुकानसांगा सन् २०१९ को महिला विश्वकप, टोक्यो ओलम्पिक २०२० हुँदै कतार विश्वकपसम्म आइपुगेकी हुन्। वर्षको सुरुवातमा मुकानसांगाले अफ्रिका कप अफ नेसन्स पनि खेलाएकी थिइन्।
स्टेफनी फ्रापार्ट
फ्रान्सकी स्टेफनीले यसअघि नै विश्वकप छनोट र च्याम्पियन्स लिगका पुरुष खेलहरुमा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन्। उनले यो वर्षको पुरुष फ्रेन्च कपको फाइनल पनि खेलाइन्।
फापार्ट कतार विश्वकप खेलाउने रेफ्रीमा चर्चित नाम हो। ३८ वर्षीय करियरमा उनी पहिलो पटक पुरुष विश्वकप खेलाउँदै छिन्।
फ्रापार्टले फ्रान्समा २०१९ मा विश्वकप र यूईएफए सुपर कपमा समेत सहभागी थिइन्। स्टेफनीले सन् २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिला महिला रेफ्री बन्दै इतिहासमा नाम लेखाउँदै तरंग ल्याएकी थिइन्।
कतार विश्वकपको हिस्सा हुनुअघि उनले २०२२ को कुप डे फ्रान्स फाइनलमा पनि रेफ्री थिइन्। उनले सन् २०१९ मा तीन वर्षको लागि आईएफएफएचएस विश्व सर्वश्रेष्ठ महिला रेफ्री अवार्ड जितेकी छिन्। गल्फ न्युज र ओलम्पिक्स डटकमबाट।
विश्वकपसम्बन्थी थप स्टोरी :
प्रतिक्रिया