ad ad

खेल


यी सात स्टार फुटबलर जसले खेल्ने छैनन् विश्वकप

यी सात स्टार फुटबलर जसले खेल्ने छैनन् विश्वकप

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार ७:१०, काठमाडौँ

फिफा विश्वकप २०२२ नजिकिँदै गर्दा सहभागी देशहरुले धमाधम टिम घोषणा गरिरहेका छन्। 

अहिलेसम्म ब्राजिल, अर्जेन्टिना, जर्मनी, सेनेगल, मोरक्को, स्पेन, जापान, बेल्जिय र डेनमार्कका देशहरुले विश्वकप खेल्ने टोली घोषणा गरिसकेका छन्। बाँकी केही टोली अन्तिम रुप दिन लागेका छन्। 

टिम घोषणा भइरहँदा केही स्टार खेलाडीले घाइते भएर विश्वकप गुमाएका छन्। अर्कातिर क्लब फुटबलमा चम्किएका केही ठूला नाम देश नै विश्वकपमा नछानिएकाले आफ्नो जादुयी कला देखाउनबाट बञ्चित भएका छन्। 

विश्वकपमा सहभागी हुन पाँचै महादेशबाट छनोट चरण पार गर्नुपर्छ। तर केही ठूला खेलाडीका टोलीले यो पटक विश्वकपमा स्थान बनाउन सकेनन्। 

फुटबलको महाकुम्भमा सहभागी ३२ राष्ट्र अन्तिम तयारीमा व्यस्त हुँदा ठूला क्लबका केही चर्चित खेलाडी भने दर्शक मात्रै बन्ने भएका छन्। 

क्लबका सहकर्मीहरु विश्वकप खेल्न देश फर्किने तयारीमा रहँदा ती स्टार खेलाडी बिदा मनाउने तयारीमो छन्। यहाँ तीनैमध्य ७ स्टारको चर्चा गरिएको छ। 

इर्लिङ हालान्ड
इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर इर्लिङ हालान्ड जारी सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता हुन्। 

१३ औं चरणका खेल सकिँदा उनले १८ गोल गरिसकेका छन्। उनकै उत्कृष्ट प्रदर्शनमा सिटी लिगको दोस्रो स्थानमा छ। लिगमा आर्सनलभन्दा मात्रै २ अंकले पछि रहे पनि ऊ उपाधि होडमा देखिएको छ। 

तर यिनै हालान्डलाई यसपटकको विश्वकपमा देख्न पाइने छैन। हालान्डको टोली नर्वेले यो पटक विश्वकपमा स्थान बनाउन सकेन। 

विश्वकप छनोटमा हालान्डले ५ गोल गरे पनि टोली अगाडी बढ्न नसक्दा उनले विश्वकप गुमाउने भएका हुन्। युरोपेली छनोटमा नेदरल्याण्ड शीर्ष स्थानमा रहँदा टर्की दोस्रोमा रहेर कतार यात्रा तय गरेको छ।

मोहमद सलाह
इङ्लि क्लब लिभरपुल तथा इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाहले पनि यो पटक विश्वकप खेल्न पाउने छैनन्। इजिप्टले विश्वकपमा स्थान बनाउन नसकेपछि सलाह दर्शक मात्रै हुने भएका हुन्। 

विश्वकप छनोटमा सेनेनगलसँगको खेलमा सलाहले पेनाल्टी मिस गर्दा उनको टोली इजिप्ट  छनौट नभएको हो। 

इजिप्ट छनोट हुँदा पनि चोटका कारण सन् २०१८ को विश्वकप गुमाएका थिए। अहिले फिट भए पनि छनौट हुन नसक्दा उनी लगातार २ विश्वकपमा बाहिर रहने पक्का छ।

लुइस डियाज
लिभरपुलकै कोलम्बियन फरवर्ड लुइस डियाज यो विश्वकप हेरेर बस्न बाध्य अर्का खेलाडी हुन्। 

छनोटमा पेरुसँग पराजित हुँदै एक अंकले पछि परेपछि प्लेअफमा स्थान बनाउन नसक्दा कोलम्बिया बाहिरिनु पर्यो। 

छनोटका १८ खेलमा उनले ३ गोल गरेका थिए। तर त्यसबाबजुत  छनौट हुन सकेन। 

मार्टिन ओडेगार्ड 
प्रिमियर लिग क्लब आर्सनलका प्ले मेकर मार्टिन ओडेगार्ड पनि यो विश्वकप गुमाउने अर्को चर्चित नाम हो। 

२३ वर्षीय नर्वेजियन मार्टिनका लागि यो पटक राम्रो अवसर भए पनि उनको टोली विश्वकपका लागि छनोट हुन सकेन।

आक्रमक मिडफिल्डर मार्टिनको प्रेरणादायी प्रदर्शनमा जारी सिजन उनी आवद्ध क्लब  लिगको शीर्षस्थानमा छ। तर, क्लबलाई शीर्षस्थानमा पुर्‍याउने उनी पनि देशलाई छनौटमा पुर्‍याउन असफल भए। 

फ्रान्क केसी 
इटालियन क्लब एसी मिलानबाट यसै सिजन ला लिगा क्लब बार्सिलोना आइपुगेका फ्रान्क केसी पनि यो विश्वकपमा मैदान बाहिरै हुनेछन्। मिलानमा सम्झौता सकिएपछि उनी जाभीको योजनामा बार्सिलोना आएका थिए।

मिलानमा तहल्का मच्चाएका यी मिडफिल्डर बार्सामा पहिलो रोजाइमा पर्न संघर्षरत छन्। यता आइभरी कोष्ट विश्वकप छनौटमा चुक्दा उनलाई पनि यस पटक कतारमा देख्न पाइने छैन।

डेभिड अलाबा
कतार विश्वकपमा नपुगेको अर्को देश हो अष्ट्रिया। अष्ट्रिया छनौट हुन नसक्दा त्यहाँका केही स्टार पनि यो विश्वकपमा खेल्न पाउने छैनन्। 

तिनैमध्य एक हुन् रियल मड्रिडका मुख्य डिफेन्डर डेविड अलाबा। बायर्न छाडेर स्पेन पुगेका अलाबा अहिले मड्रिडको डिफेन्स धानिरहेका छन्। 

सन् १९९८ पछि ठूला प्रतियोगितामा स्पर्धा नगरेको अष्ट्रियाले पछिल्लो समय युरो कपमा राम्रो प्रर्दशन गरेको थियो। तर त्यही लय विश्वकप छनौटमा कायम गर्न सकेन। 

अष्ट्रिया छनोटको प्लेअफमा पुगेर पनि वेल्ससँग पराजित भयो।  त्यहीकारण अलाबाको टोलीले विश्वकप खेल्न नपाएको हो।

मार्को भेराट्टी 
इटालियन मार्को भेराट्टी पीएसजीका भरपर्दा मिडफिल्डर हुन्। तर उनले ८ वर्षदेखि विश्वकप खेल्न पाएका छैनन्। 

सन् २०१४ पछि लगातार इटाली विश्वकपमा छनौट हुन असफल भएको हो। स्टार खेलाडीले भरिएको इटाली युरोकपको साविक विजेतासमेत हो। 

तर युरोकप उचालेको इटालीले विश्वकप छनौटमा लय गुमायो। सन् २०१८ मा रसियामा भएको विश्वकपमा पनि इटाली छनौट भएको थिएन। जसको असर इटालीका स्टारहरुलाई विश्वकपमा देख्न नपाइने भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .