कतार विश्वकप २०२२ को दोस्रो चरण सकिदा पाँच पटकको विश्व विजेता ब्राजिल, २ पटकको च्याम्पियन फ्रान्स र पाेर्चुगलले सानदार सुरुवात गरेका छन्। ३२ राष्ट्रमध्ये २ खेलबाट नै अघिल्लो चरणमा स्थान बनाउने टोली हुन् पाेर्चुगल, ब्राजिल र फ्रान्स।
कतार विश्वकपको उपाधि दाबेदार मानिएका पाेर्चुगल, ब्राजिल र फ्रान्सले एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाउँदा अन्य टोली भने समूह चरण पार गर्न संर्घष गरिरहेका छन्। नकआउट चरणमा स्थान पक्का गर्ने बाँकी १३ टोलीको टुङ्गो भने तेस्रो चरणमा थाहा हुनेछ।
समूह चरणका दुवै खेलमा जित निकालेको फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले पाखा लगाएको थियो। दोस्रो चरणको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्सले अघिल्लो चरणको स्थान पक्का गरेको हो। यसअघि सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको फ्रान्स यो पटक उपाधि रक्षाको होडमा छ। फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग खेल्नेछ।
उता पाँच पटक विश्वकप उचालेको ब्राजिल छैटौँ उपाधिका लागि मेहनत गरिरहेको छ। समूह चरणको पहिलो खेलमा सर्वियासँग जित निकाल्दा मुख्य फरवर्ड नेयमार जुनियरले एङकलमा चोट बोकेपछि उनले स्वीटजरल्याण्डसँगको खेल गुमाए। उनले समूह चरणको अर्को खेल पनि गुमाउने पक्का छ। नकआउट चरणसम्ममा भने उनी ठिक भैसक्ने क्लबले आशा गरेको छ।
पहिलो खेलमा नै चोट बोकेपछि टोली बाहिर रहेका नेयमारको अभाव स्वीटजरल्याण्डसँगको खेलमा महसुस गरिएको थियो। स्वीटजरल्याण्डमाथि संर्घषपुर्ण जित निकालेको ब्राजिलले ८३ औँ मिनेटमा क्यासेमिरोको गोलमा अग्रता बनाएको थियो। त्यसअघि ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिएपछि ब्राजिल अग्रता बनाउनबाट चुकेको थियो।
खेलमा स्वीटजरल्याण्डको रक्षापक्ती तोड्न ब्राजिलका फरवार्डलाई हम्मेहम्मे परेको थियो।
विश्वकपका ११० मध्ये ७४ खेलमा ब्राजिलले जित हात पारेको छ। १८ खेलमा मात्र हार भोगेको छ। विश्वकप इतिहासमा पछिल्लाा १७ खेलमा ब्राजिल अपराजित छ। ब्राजिल यही लयलाई निरन्तरता दिदैँ २० वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ।
समूह एचबाट पोर्चुगलले अघिल्लो चरणमा स्थान बनाइसकेको छ। दुबै खेल जितेको पोर्चुगल ६ अंकसहित शीर्षस्थानमा छ। बाँकी तीन टोलीका लागि अघिल्लो चरणको सम्भावना छ।
३ अंकसहित दोस्रो स्थानमा रहेको घानाको ३ अंक छ। दक्षिण कोरिया र उरुग्वेको मात्रै १ अंक छ। अन्तिम खेलमा उरुग्वे र घाना तथा पोर्चुगल र दक्षिण कोरिया भिड्ने छन्। एउटा समूहले अन्तिम १६ मा स्थान बनाउँदा बाँकी दुई टोलीको यात्रा टुंगिने छ। पोर्चुगल भने पहिलो खेलमा घाना र दोस्रो खेलमा उरुग्वेलाई पराजित गर्दै नकआउटमा पुगेको हो।
Shares
प्रतिक्रिया