ad ad

खेल


विश्वकपमा एसियाको आशाः जापान, कोरिया र अस्ट्रेलिया

विश्वकपमा एसियाको आशाः जापान, कोरिया र अस्ट्रेलिया

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १०:११, काठमाडौँ

कतार विश्वकपको उपाधि दाबेदार मानिएका बलिया टोलीलाई पराजित गर्दै एसियाका तीन टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन्। विश्वकप इतिहासमा पहिलोपटक एसियन क्षेत्रबाट ३ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन्।  

विभिन्न चरण पार गर्दै दक्षिण एसियाली क्षेत्रबाट ६ टोलीले विश्वकपमा स्पर्धा गरेका थिए।  ति मध्ये समुह चरणका खेल सकिँदा ३ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। एसियन क्षेत्रबाट जापान, कोरिया र अष्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।  

विश्वकप सुरुवात हुनुअघि धेरैले बलिया टोलीले सानदार सुरुवात गर्ने अपेक्षा गरेका थिए। तर समह चरणको खेल सकिदा सोचेभन्दा विपरीत नतिजा आएको छ। विश्वकपमा बलिया मानिएका टोलीमाथि एशियन टोली हाबी भए। 

दोस्रोपटक एसियामा आयोजना भएको विश्वकपमा एसियाली टोली बलिया देखिँदा आयोजक कतारको प्रर्दशन भने बिर्सनलायक रह्यो। उद्घाटन खेलमा नै आयोजक कतारमाथि इक्वेडर हावी भयो। समूह चरणका सबै खेल गुमाएको कतारले विश्वकपमा समूह चरणका सबै खेल हार्ने पहिलो आयोजक देश पनि बन्यो। 

विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिना विश्वकपको पहिलो खेलमा नै एसियाली टोली साउदी अरेबियासँग स्तब्ध भयो। मध्य एसियाको टोली साउदी अरेबियाले विश्वकपमा सानदार सुरुवात गरे पनि समूहको पुछारमा रहँदै समूह चरणबाटै बाहिरियो। 

पहिलो खेलमा अर्जेन्टिनालाई २–१ ले हराएको साउदीले दोस्रो खेलमा पोल्याण्डसँग २–० ले तथा समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग २–१ ले पराजित भयो। 

समुह डी मा रहेको एसियाको बलियो टोली मानिने अष्ट्रेलिया समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ। ओसियाना क्षेत्रको अष्ट्रेलियाले विश्व फुटबलमा भने एशियन क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ। 

समूह चरणको पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्निसिया र डेनमार्कलाई समान १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा पुगेको हो। नकआउट चरणमा अष्ट्रेलियाले शनिबार उपाधि दाबेदार अर्जेन्टिनासँग खेल्नेछ। 

६ पटक विश्वकपमा सहभागिता जनाएको अष्ट्रेलियाले सन् २००६ पछि अन्तिम १६ मा स्थान बनाएको हो। यसअघिका ३ संस्करणमा समूह चरणबाटै बाहिरिएको अष्ट्रेलिया १९७४ मा पनि समुह चरणमै सीमित भएको थियो।

समूह ई मा रहेको एसियाली पावर हाउस जापानले दुई विश्वविजेता टोलीलाई पराजित गर्दै नकआउट यात्रा तय गरेको हो। ४ पटकको विश्वविजेता जर्मनीलाई २–१ ले स्तब्ध पार्दै विश्वकपको यात्रा सुरु गरेको जापानले २ खेलमा जित र १ खेलमा पराजित भयो। जापान समूहको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण पुगेको हो। कोस्टारिकासँग १–० ले पराजित भएको जापानले स्पेनलाई भने २–१ ले पराजित गर्यो। जापानले अब अन्तिम १६ मा क्रोएसियासँग खेल्नेछ। 

सातौँ पटक विश्वकप खेलिरहेको जापान ३ पटक समूह चरणमा सीमित हुँदा तीनै पटक नकआउट चरणमा पुगेको थियो। विश्वकपमा उतारचढावपूर्ण यात्रा तय गरेको जापान लगातार दोस्रोपटक नकआउट चरण पुगेको हो। 

समुह एच मा रहेका पुर्वी एसियाली देश दक्षिण कोरिया दोस्रो स्थानमा रहँदै नकआउट चरण पुगेको छ। बलियो टोली पोर्चुगललाई २–१ ले हराएको कोरिया घानासँग भने ३–२ ले पराजित भएको थियो। अर्को खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो। 

कोरियाले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिलसँग खेल्नेछ। 

समूह चरणको अन्तिम खेलमा पोर्चुगलमाथि सानदार जित दर्ता गरेको कोरिया गत विश्वकपमा जर्मनीलाई हराएर पनि अन्तिम १६ मा पुग्न सकेको थिएन। 

११ औँ पटक विश्वकप खेलिरहेको कोरिया २०१० पछि पहिलोपटक नकआउट चरण पुगेको हो। यसअघिका दुई विश्वकपमा समूह चरणमा सीमित बनेको कोरियाले २००२ मा सेमिफाइनल खेलेको थियो। त्यसअघिका ४ संस्करण समूह चरणमा सीमित बनेको कोरिया १९५४ को पहिलो सहभागितामा पनि समूह चरणमै रोकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .