विश्वकप फुटबलमा प्रि-क्वार्टर फाइनलका खेल आज राति सुरु हुँदै छन्। राति १२ः४५ बजे आमनेसामने हुँदा अर्जेन्टिना र अस्ट्रेलिया क्वार्टर फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछन्। पहिलो भेटमै अर्जेन्टिनालाई पराजित गरेको अस्ट्रेलिया जित दोहोर्याउँदै विश्वकपमा इतिहास रच्ने दाउमा हुनेछ।
कतारमा निराशाजनक सुरुवात गरेका दुवै टोलीले उत्कृष्ट पुनरागमन गरेका हुन्। पहिलो खेलमा अस्ट्रेलिया फ्रान्ससँग पराजित हुँदा नकआउटको सम्भावना कमजोर भएको थियो। तर पछि उसले बलिया ट्युनिसिया र डेनमार्कलाई समान १–० ले पराजित गर्दा अघिल्लो चरण सम्भव भएको हो।
पूर्व विश्वविजेता अर्जेन्टिनाको पनि अघिल्लो चरणसम्मको यात्रा यस्तै भयो। पहिलो खेलमा कमजोर मानिएको साउदी अरेवियासँग २–१ ले पराजित भएको थियो। तर त्यसपछिका खेलमा उसले सुधार गर्यो। मेक्सिको र पोल्याण्डालाई समान २–० ले पराजित गर्दा अर्जेन्टिना पनि समूह विजेताका रुपमा अघिल्लो चरण आइपुगेको हो।
अर्जेन्टिनका लागि समूह चरणबाटै बाहिरिनु अकल्पिनीय थियो। समूह सीमा मेक्सिकोले साउदीलाई पराजित भएपछि र पोल्याण्डलाई पराजित गरेसँगै शीर्षस्थान सुनिश्चित गर्यो।
उता अस्ट्रेलिया पनि कतारमा सुरुवातबाट निराश थियो। फ्रान्सविरुद्ध ९ औं मिनेटमै अग्रता लिएपनि त्यसपछि फ्रान्सले अस्ट्रेलियाको पोष्टमा जोगाइनसक्नु आक्रमण गर्यो। पहिलो हाफमा २ गोल गरेको फ्रान्सले थप २ गोल गर्दै अस्ट्रेलियाको सुरुवात निराशाजनक बनाइदिएको थियो।
तर ट्युनिसिया र डेनमार्कलाई पराजित गर्दै अघिल्लो यात्राको रेखा कोर्यो। समूहका ३ खेलमा ३ गोल गरेको अस्ट्रेलियाले ४ गोल खाएको थियो। अर्जेन्टिनाले ५ गोल गर्दा विपक्षीबाट २ गोल खाएको थियो।
अहमद बिन अली स्टेडियममा उत्रिँदा अर्जेन्टिना तेस्रो उपाधिको लक्ष्यमा अगाडी बढ्न चाहन्छ। अस्ट्रेलिया पनि दुई पटकको विश्व विजेतालाई रोक्दै पहिलो पटक अन्तिम ८ मा पुग्ने दाउमा हुनेछ।
यद्यपि, दक्षिण अमेरिकी पावरहाउससँग ७ पटक भिड्दा यसअघि अस्ट्रेलियाले एक पटक मात्रै सुखद नतिजा हात पारेको छ। १९८८ मा भएको पहिलो भिडन्तमा अस्ट्रेलियाले बाजि मारेको थियो। चार्ली यान्कोसको दुई गोल मद्दतमा अस्ट्रेलिया ४–१ ले विजयी भएको थियो। यो नै उसको ऐतिहासिक जित हो।
पछिल्ला ६ खेलमध्ये अर्जेन्टिनाले ५ खेल जितेको छ। पछिल्लो पटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो। त्यसअघि २००५ मा भएको फिफा कन्फेडेरेसन कपमा ४–२ को जित हात पारेको थियो।
यसअघि २०१८ मा पनि फ्रान्ससँगै समूह सी मा रहेको अस्ट्रेलिया समूहको अन्तिम हुँदै बाहिरिएको थियो। अर्जेन्टिनालाई पनि फ्रान्सले नै अन्तिम १६ बाट बिदा गरेको थियो।
फिफा बरियतामा अर्जेन्टिना तेस्रो र अस्ट्रेलिया ३८ औं स्थानमा छ। यो खेल जित्ने टोलीले क्वार्टरफाइनलमा त्यसअघि साँझ ८ः४५ मा हुने नेदरल्याण्ड्स र अमेरिकाको विजेतासँग भिड्नेछ।
Shares
प्रतिक्रिया