कतार विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड शनिबार भिड्दैछन्। यो विश्वकपमा फ्रान्सेली स्टार केलियन एम्बापेको प्रदर्शनका कारण इंग्ल्यान्ड चिन्तित छ।
खासगरी अन्तिम १६ को खेलमा पोल्यान्डका डिफेन्डरहरुलाई एम्बापेले हाराबारा खेलाएको देख्दा उनको सामना गर्ने खेलाडीको मुटुमा ढ्यांग्रो ठोक्नु सामान्य हो। सो खेलमा उनले दुई गोल गरे।
२३ वर्षे एम्बापेले यो प्रतियोगितामा सबैभन्दा धेरै पाँच गोल गरिसकेका छन्।
उच्च गति र घातक प्रहार क्षमता भएका एम्बापेलाई कसरी रोक्ने? कसले रोक्ने? रोक्न सम्भव छ कि छैन? खेल विश्लेषकदेखि सामान्य दर्शकसम्म आआफ्नो राय व्यक्त गरिरहेका छन्।
यस्तोमा इंग्ल्यान्डका एक खेलाडी एम्बापेको गतिलाई रोक्न सफल हुने विश्लेषण भइरहेको छ। ती हुन् राइट ब्याक काइल वाकर।
इंग्ल्यान्डका समर्थकहरुले समेत सामाजिक सञ्जालमार्फत वाकरलाई टोलीमा स्थान दिन आग्रह गरिरहेका छन्। कारण– एम्बापेलाई रोक्न सक्ने हतियार वाकरसँग छ। त्यो हो, गति।
वाकरसँग खेलेका थुप्रै खेलाडीहरुले उनको तीव्र गतिको प्रशंसा गर्ने गरेका छन्। म्यान्चेस्टर सिटीका वाकरले २०१९÷२० को प्रिमियर लिग सिजनमा २३.४८ माइल प्रतिघण्टाको गति छोएका थिए। जुन लिगको इतिहासकै उच्च हो।
स्पिडएसडीबीका अनुसार त्यो एम्बापेको अधिकतम गति २३.५ माइल प्रतिघण्टाभन्दा अलिकति मात्र कम हो।
त्यसमाथि इंग्ल्यान्डविरुद्धको गत २४ खेलमा विपक्षी खेलाडीहरु तीन पटक मात्र ड्रिबल गरेर वाकरलाई पार गर्न सफल भएका छन्।
सोहीकारण हुनसक्छ, वाकरको आत्मविश्वास पनि उच्च देखिन्छ। फ्रान्सको सामना गर्नुअघि वाकरले एम्पबापेका लागि आफूले रेड कार्पेट नबिछ्याउने टिप्पणी गरेका छन्।
‘उनलाई रोक्न के गर्नुपर्छ, मलाई थाहा छ,’ ३२ वर्षीय वाकरले भने, ‘गर्नुभन्दा भन्नु सजिलो छ, तर म आफूलाई कम आँक्दिनँ।’
वाकर एम्बापेसँग परिचित पनि छन्। उनको टोली सिटी र एम्बापेको पीएसजी च्याम्पियन्स लिगमा दुई पटक भेटिइसकेका छन्। चारमध्ये तीन खेलमा दुवै खेलाडी सहभागी थिए। ती तीनमध्ये दुई खेल सिटीले जितेको थियो भने एक खेल पीएसजीले।
त्यसबेला एम्बापेले वाकरको सामना गर्नु चुनौतीपूर्ण रहेको स्वीकारेका थिए।
‘उनलाई सम्मान दिनु जरुरी छ, तर ज्यादा होइन। हो, यो निकै कठिन खेल हुनेछ....। म उनका लागि रेड कार्पेट ओछ्याएर ल गोल हान भन्ने छैन। यो विश्वकप हो, गर या मर हुन्छ,’ वाकरले भनेका छन्।
अन्तिम १६ को खेलपछि ट्रेनिङमा नदेखिएका कारण एम्बापे घाइते भएको आशंका गरिएको थियो। तर, उनी रिकभरी सेसनमा रहेको र इंग्ल्यान्डविरुद्ध खेल्न तम्तयार रहेको जनाइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया