जब जब विश्वकप फुटबलको पारो तात्दै जान्छ, तब तब नेपालीहरुमाझ जोडदार रुपमा फैलिन्छन् सन् १९८२ मा दुई महिनासम्म चलेको फकल्यान्ड युद्धपछिका अनेक भ्रम।
सन् २०१४ मा अर्जेन्टिनाले विश्वकपको फाइनल यात्रा तय गर्दा होस् या यस पटक पनि त्यही इतिहास दोहोर्याउँदा फकल्यान्ड युद्धलाई जोडेर भ्रम छर्ने क्रम उस्तै छ।
सामाजिक सञ्जालमा आएका अनेक भ्रमपूर्ण सामाग्री अहिले भाइरल भइरहेका छन्। विश्वलाई एकै मञ्चमा ल्याउन सक्ने दुई कुरा हुन् खेल र संगीत। खेलतर्फ सबैभन्दा लोकप्रियमध्ये पर्छ फुटबल। फुटबलमा पनि विश्वकपको महाकुम्भ अहिले कतारमा चलिरहेको छ।
कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले लियोनेल मेस्सीको प्रेरणामा उपाधि यात्रा तय गरिरहँदा नेपालमा भ्रमका अनेक किस्सा भाइरल भइरहेका छन्। विश्वकप फुटबलमा नेपालमा सबैभन्दा धेरै फ्यान अर्जेन्टिनाकै छन्। जसमा पनि मेस्सीको जादुयी खेलका प्रशंसकको संख्या लाखौँ छ।
मेस्सीकै प्रेरणामा अर्जेन्टिनाले यो पटक क्रोएसियालाई ३-० ले हराउँदै उपाधि यात्रा तय गरिसकेको छ। यस्तोमा अर्जेन्टिनाका नागरिकहरुले नेपाली नागरिकलाई मन पराउँदैन्, घृणा गर्छन् भनेर भ्रम छर्न थालिएको छ। हुँदा हुँदा नेपाली झण्डा जलाइएको फेक फोटो पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ब्रिटिशसँग अर्जेन्टिना पराजित भएको फकल्यान्डको युद्धपछाडि हरेक वर्ष नेपालको झण्डा जलाइन्छ, माटोमुनि गाडिन्छ भन्ने किस्सा आजको दिन पनि सुनिन्छ।
के साँच्चिकै अर्जेन्टिनीहरु नेपाल र नेपालीलाई घृणा गर्छन् त? आखिर नेपालले अर्जेन्टिनाविरुद्ध त्यस्तो के गरेको थियो? यसका लागि हामीले आज भन्दा के बिगारिदिएको थियो। यसको पृष्ठभूमिबारे थाहा पाउन आजभन्दा ४० वर्षपछाडि फर्किनुपर्छ।
अर्जेन्टिनाबाट करिब १५ सय किलोमिटर र बेलायतबाट करिब १३ हजार किलोमिटरको दूरीमा अहिले पनि अवस्थित छ फकल्यान्डको टापु। जुन टापुमा ४० वर्षयता ब्रिटिशको कब्जा रहेको छ।
उक्त टापु अर्जेन्टिना र ब्रिटेनमध्ये कसको भनेर कयौँ वर्षदेखि विवाद चलेको थियो। त्यहाँ फ्रान्स र स्पेनले पनि दाबी गर्दै आएका थिए।
यो टापुलाई सन् १७६४ मा सुरुमा फ्रान्सले कब्जा गरेको थियो। १७६५ मा यो टापु फेरि ब्रिटेनको कब्जामा गयो। तर फेरि ब्रिटेनलाई त्यहाँबाट लखेटेर उपनिवेश फैल्याइरहेको स्पेनले यो टापुमा कब्जा जमायो।
त्यसपछि ब्रिटिशसाम्राज्य विस्तारको समयमा फेरि त्यहाँबाट स्पेन विस्थापित भयो। अर्कातिर आफ्नो भूगोलबाट नजिकैको टापुमा विस्तारवादीहरुबीच पकडको होडबाजी चलिरहँदा अर्जेन्टिना चिढिन पुगेको थियो।
आफ्नो भूगोलनजिकैको टापु भएर पनि अरु शक्ति राष्ट्रबीच कब्जाको होडबाजी चलिरहेका बेला अर्जेन्टिना सन् १९८२ अप्रिल २ मा आफ्ना सैनिक पठाएर त्यो टापु कब्जा गर्यो।
त्यसबेला अर्जेन्टिनाको ठूलो सैन्य फौजसामु तत्कालै केवल ८० जनाको संख्याका ब्रिटिश फौज हात उठाए। अनि उक्त टापु अर्जेन्टिनाको पक्षमा गयो। यो टापुलाई ब्रिटिशबाट खोसेर स्पेन र अर्जेन्टिनाले दुई पटक कब्जा गरेका थि।
फकल्यान्डमा दुई पटकसम्म हार्न पुगेपछि ब्रिटेन क्रुद्ध भएको थियो। त्यसपछि उसले फेरि यो टापु कब्जाका लागि युद्धको तयारी थाल्यो।
त्यसबेला ब्रिटेनले कब्जाको रणनीति बनाउँदै फकल्यान्डतर्फत ब्रिटिशसहित ६ सयजना गोर्खा सैनिक पठाइएको थियो।
फकल्यान्ड टापु मौसमका हिसाबले चिसो ठाउँ हो। त्यो चिसो टापुमा ब्रिटिश सेनालाई युद्ध लड्न सजिलो थिएन। तर, त्यसबेला खुकुरीसमेत नचाउन सिपालु गोर्खा सैनिकहरुलाई त्यहाँ युद्ध लड्न गाह्रो भएन। उनीहरु चिसोमा युद्ध लड्न सक्षम थिए। त्यसबेला खुकुरी समेतको बलमा गोर्खा सैनिकहरुले अर्जेन्टिनाबाट टापु खोस्न सफल भए।
ब्रिटिश सरकारले त्यसबेला युद्धअगाडि नै अर्जेन्टिनी सैनिकहरुको मनोबल गिराउन प्रोपोगान्डा पनि चलायो। उसले बीबीसी रेडियोमार्फत गोर्खा सैनिकहरु एकदमै हिंस्रक हुन्छन्, मृत्युसँग डराउँदैनन्, दुष्मनहरुलाई मार्छन् अनि खान्छन् भन्नेसम्मका अफवाह फैल्याएको थियो। ब्रिटिशको त्यही अफवाहपूर्ण सामाग्री पनि युद्धका लागि एउटा साधक बन्यो। जसले अर्जेन्टिनी सैनिकको मनोबल गिराउन पनि भूमिका खेल्यो।
ब्रिटिश शासकहरुले भने जस्तै फकल्यान्डमा गोर्खाली सैनिकहरुले पनि बहादुरीपूर्वक युद्ध लडे। दुई महिनासम्म चलेको यो त्यही युद्ध थियो, जहाँ गोरखाहरूकै कारण १४ जुन १९८२ मा अर्जेन्टिनाले ब्रिटिशसँग आत्मसमर्पण गर्न बाध्य भयो ।
करिब २ महिना लामो युद्धपछि ब्रिटिशले उक्त टापु कब्जा गर्यो। त्यसबेलाको युद्धमा त्यहाँ ६४९ जना अर्जेन्टिनी सैनिक र नागरिक पनि मारिए।
झण्डाको भ्रम
१९८२ को उक्त युद्धयता ४० वर्षदेखि फकल्यान्डको टापुमा ब्रिटिशको कब्जा रहेको छ। त्यो युद्धपछि अर्जेन्टिना र ब्रिटिशहरुबीच शीतयुद्धको अवस्था अहिले पनि यथावत छ। बरु उनीहरु एक देशका नागरिकलाई अर्का देशका नागरिकले अहिले पनि मन पराउँदैनन्।
ब्रिटिश र अर्जेन्टिनाबीचको लडाइँमा प्रयोग भएका गोर्खा सैनिकका कारण नेपालीहरुलाई घृणा गर्छन् भनेर अहिले पनि अनेक किस्सा चलाइन्छ। तर अर्जेन्टिनीहरु नेपालीसँग अहिले पनि रिसाइरहेको र झण्डा जलाएको कुरा अफवाह मात्रै हो।
नयाँ पुस्ताका अर्जेन्टिनीहरुमध्ये कमैले मात्रै नेपाल देशलाई चिन्छन्। बरु उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) र विश्वको एक मात्रै त्रिकोणयुक्त नेपाली झण्डाबारे केही सुनेका छन्।
गोर्खा सैनिकबारे जाने बुझेकाहरुले नेपाल र गोर्खा सैनिकहरुको बहादुरीको अहिले पनि उल्टै प्रशंसा गर्छन्।
गत वर्ष निधन भएका प्रख्यात अर्जेन्टिनी फुटबलर डियगो म्याराडोनाले नेपाल र गोर्खा सैनिकको समेत चर्चा गरेका थिए।
सन् १९८६ मा बेलायतसँग क्वार्टर फाइनल खेल हुनु अघिल्लो दिन उनले त्यो खेल अर्जेन्टिनाले जित्ने बताएका थिए। पत्रकारहरुसँगको सवाल जवाफका क्रममा उनलाई सोधियो, 'यो विश्वकपको जस्तै आत्मविश्वासत फकल्यान्डको युद्ध (१९८२ )मा पनि त थियो होला?', उत्तरमा उनले भनेका थिए, 'हामी १९८२ मा फकल्यान्डमा ब्रिटिशहरुसँग हारेका थियौँ । किनभने त्यसबेला ब्रिटिशहरु एक्लै थिएनन्। उनीहरुसँग मैदानमा गोर्खाली रेजिमेन्ट पनि थियो। तर फुटबलको मैदानमा उनीहरुलाई परास्त गर्छौँ किन भने त्यहाँ उनीहरु एक्लै हुनेछन्।'
सत्य के हो भने फकल्यान्डको युद्धमा गोर्खाली सैनिककै कारण अर्जेन्टिना हारेको थियो। तर त्यही युद्धलाई लिएर उनीहरुले नेपालीलाई घृणा गर्छन् भन्ने कुरा अफवाह मात्रै हो। अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाउने भ्रम मात्रै हुन्।
सम्बन्ध
अर्जेन्टिना र नेपालबीच सन् १९६२ जनवरी १ मा तत्कालीन राजा महेन्द्र शाहका पालामा दौत्य सम्बन्ध स्थापित भएको थियो।
दौत्य सम्बन्ध स्थापित भएको ६० वर्ष बितिसकेको छ तर यी दुई देशको राजदूतावास एकअर्काको देशमा छैन।
अर्जेन्टिनाले भारतको नयाँदिल्लीस्थित दूतावासबाट नेपाललाई पनि हेर्ने गरेको छ। उता नेपालले ब्राजिलस्थित दूतावासबाट अर्जेन्टिनालाई हेर्ने गरेको छ। दक्षिण एसियाका भारत र पाकिस्तानमा मात्रै अर्जेन्टिनाको दूतावास छ।
नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमण गरेका थिए। यो अहिलेसम्म नेपालबाट भएको उच्चस्तरीय भ्रमण हो।
त्यसपछि सन् २०१९ मार्चमा पनि नेपालबाट उच्चस्तरीय भ्रमण भएको छ। त्यसबेला परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अर्जेन्टिनाको भ्रमण गरेका थिए।
त्यसबेला ज्ञवाली ब्युनोस आयर्स पुगेर राष्ट्रसंघीय सम्मेलन साउथ-साउथ को-अपरेशनमा भाग लिएका थिए। उनले त्यसबेला भ्रमणका क्रममा अर्जेन्टिनाका विदेश मामिला उपमन्त्रीसँग द्विपक्षीय वार्ता पनि गरेका थिए।
संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठनहरू र अन्तराष्ट्रिय सम्मलेनमा दुई देशका धेरै मुद्दा साझा हुने गरेका छन्। अर्जेन्टिनाबाट घुम्न नेपालमा वार्षिक तीन हजारभन्दा बढी पर्यटक पनि आउने गरेका छन्।
नेपालमा अर्जेन्टिनाको मात्रै होइन, संसारका १८० बढी देशको दूतावास छैन। नेपालमा छिमेकी दुई ठूला देश भारत र चीन, युरोपेली देश, जापान र अमेरिकासहित २० देशको मात्रै दूतावास छ।
अर्जेन्टिना र नेपाल जी ७७ का सदस्य राष्ट्र पनि हुन्। यी दुवैले संयुक्त राष्ट्रसंघीय सैन्य मिसनमा आफ्ना सेना पठाउने गरेका छन्। संकटका बेला यी दुई देशले एअर्कालाई सहयोग गर्दै आइरहेका छन्।
अर्कातिर अर्जेन्टिनी कप्ता लियोनेले मेस्सीको लियो मेस्सी फाउन्डेसनले २०७२ वैशाख १२ गते गएको भूकम्पपछि नेपालमा १४ वटा स्वास्थ्य संस्था पुन:निर्माणमा आर्थिक सहयोग गरेको थियो।
भिसाको भ्रम?
अर्जेन्टिनाले अहिले पनि नेपालीलाई सजिलै भिसा दिन्छ। यदि अर्जेन्टिना जान चाहनु भएको छ भने नेपालबाटै भिसाका लागि अनलाइन निवेदन दिन सकिन्छ। तर भिसा अर्जेन्टिनाले दिने प्रक्रिया भने दिल्लीस्थित दूतावासले अघि बढाउँछ।
अर्जेन्टिनाले भिसा नदिने भए तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको व्युनोस आयर्स भ्रमण सम्भव नै हुने थिएन। विष्ट त त्यहाँका राष्ट्रपतिको निम्तोमै अर्जेन्टिना पुगेका थिए।
व्यापार
नेपालले अर्जेन्टिनाबाट पनि सामान आयात गर्छ। खासगरी त्यहाँबाट नेपालले केही तरकारी, मेसिन, पत्थर, सूर्यमुखी तेल रासयनिक पदार्थ, वनस्पति घ्यु, यान्त्रिक उपकरण, तारहरु र विभिन्न प्रकारका अनाज पनि आयात गर्ने गरेको छ।
अर्जेन्टिना अहिले पनि नेपालले वस्तु आयात गर्नेमध्ये १२ औँ देशमा पर्छ। नेपालले सन् २०१९ मा ४४ मिलियन डलरको सामान आयात गरेको थियो।
त्यस्तै नेपालले वनस्पतिजन्य पदार्थ, सिन्थेथिक फाइबरका ज्याकेट, जुटका झोला, जुटका बोरा, वाद्यवादनका सामान र लुगा आदि निर्यात गर्दै आएको छ। अर्जेन्टिनी सरकारले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोग बढाउने पहल पनि गरेको थियो।
यो वर्षको व्यापार
चालु आर्थिक वर्षको ४ महिनामा अर्जेन्टिनाबाट नेपालले १३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ।
तर उक्त अवधिमा नेपालले केवल १० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ।
अर्जेनटिनाबाट कच्चा भट्टमासको तेल सबैभन्दा बढी आयात हुने गरेको छ। ४ महिनामा ११ अर्ब ८३ करोड रुपैयाँको तेल आयात भएको हो।
त्यस्तै १ अर्ब १६ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल नेपालमा आयात भएको छ।
Shares
प्रतिक्रिया