विश्वकप फुटबलमा उपाधिका लागि साविक विजेता फ्रान्सले आइतवार राति अर्जेन्टिनाको सामना गर्दैछ।
नुसेल स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदा फ्रान्स उपाधि रक्षा गर्ने योजनामा हुनेछ।
लियोनल मेस्सी नेतृत्वको टिम अर्जेन्टिना पनि ३६ वर्षपछि उपाधि जित्ने लक्ष्यमा छ।
अर्जेन्टिनाले १९८६ पछि उपाधि जित्न सकेको छैन। त्यसबेला जर्मनीलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो। जुन विश्वकपमा फ्रान्स तेस्रो भएको थियो।
आइतबार राति फ्रान्स लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बन्ने योजनासहित मैदानमा उत्रिने छ। उता अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा उपाधि जित्न चाहन्छ।
फ्रान्सको उपाधि होडमा मेस्सी मुख्य चुनौती रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बताएका छन्।
फाइनल खेलअघि पत्रकारहरुसँग कुरा गर्दै उनले फ्रान्सका लागि दुई कुरा चुनौतीपुर्ण हुने बताएका छन्।
पहिलो अर्जेन्टिनाका प्रशंसक र दोस्रो लियोनल मेस्सी। उनले भने, ‘अर्जेन्टिनासँग पागल प्रशंसकहरु छन्। हरेक प्रतियोगितामा उनीहरूको यो गतिविधि देखिएको छ। फाइनल खेल हुँदा स्टेडियममा फ्रान्सेली समर्थक पनि हुने छन्। तर धेरैले अर्जेन्टिनाका लागि जयजयकार गर्नेछन्।’
यस्तै डेसच्याम्पसले मेस्सीको पोजिसन परिवर्तनले पनि फ्रान्सलाई चुनौती थपिएको बताएका छन्।
मेस्सी मुख्यत: राइट विङ्गरमा खेल्छन्। त्यससँगै उनी स्ट्राइकरमा राम्रो चल्छन्। तर डेसच्याम्पस भन्छन्, 'यसपटक उनी यो पोजिसनमा मात्रै सीमित छैनन्।
डेसच्याम्पस अहिले मेस्सी आक्रमक मिडफिल्डर जस्तै रहेको बताउँछन्।
‘अहिले मेस्सी आक्रमक मिडफिल्डर जस्तै छन्, उनलाई यस पटक मैदानमा उनलाई धेरै स्वतन्त्रता छ। यसले उनलाई रोक्न धेरै गाह्रो र जटिल बनाउँछ’, डेसच्याम्पसले भने, ‘चार वर्ष पहिले, मेस्सी प्रायः राइट विङ्गर र आकलझुकल स्ट्राइकरका रूपमा खेल्थे।’
उनले आफ्ना मुख्य स्ट्राइकर केलियन एम्बाप्पे पनि फाइनलमा केन्द्रित रहेको बताए।
एम्बाप्पेलाई शान्त वातावरण दिन सके उनले मैदानमा के देखाउने भन्नेमा केन्द्रित हुने बताए। एम्बाप्पे अहिले राम्रो लयमा रहेको डेसच्याम्पसले बताए।
अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पे जारी विश्वकपका सर्वाधिक गोलकर्ता हुन्। दुवैले समान ५ गोल गरेका छन्। उनीहरुकै सहकर्मी जिरुड र अल्भारेजले पनि समान ४ गोल गरेका छन्।
Shares
प्रतिक्रिया