ad ad

सुदूरपश्चिम


स्ववियु : कञ्चनपुरमा नेविसंघ, अनेरास्ववियु र अखिललाई दुई–दुई जित

स्ववियु : कञ्चनपुरमा नेविसंघ, अनेरास्ववियु र अखिललाई दुई–दुई जित

नेपालखबर
चैत ६, २०७९ सोमबार ९:४६, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित  कञ्चनपुरका ६ वटा क्याम्पसको स्ववियु चुनावको अन्तिम नतिजा सार्बजनिक भएको छ।
तीन मुख्य विद्यार्थी संगठनहरुले दुई–दुई क्याम्पसमा जित निकालेका छन्।

नेकपा (एमाले) निकट अनेरास्ववियुले गुलरियाको कञ्चन बहुमुखी क्याम्पस र बेलडाँडीको रौलेश्वर आदर्श जनता क्याम्पसमा जित निकाल्दा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बेलौरीको रामपुर र पुनर्वासको जनता बहुमुखी क्याम्पसमा विजयी भएको छ।

यस्तै कांग्रेस निकट नेपाल विद्यार्थी संघ बेलौरीस्थित महाकाली र झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएको छ।

बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसको सभापतिमा नेवि संघका निरज भण्डारी विजयी भए।

१ सय ६७ मत ल्याउँदै भण्डारी सभापतिमा विजयी भएका हुन। उनका निकटतम् प्रतिद्वन्द्वि नेकपा ९एमाले० निकट अनेरास्ववियुकी हिरामोती चौधरीले १ सय १८ मत मात्र प्राप्त गरिन्।

सचिव र कोषाध्यक्षमा भने अनेरास्ववियुका उम्मेदवारले जित निकाले। सचिवमा अनेरास्ववियुकी यशोदा रेग्मी र कोषाध्यक्षमा रमेश जोशीले बाजी मारे।

सदस्यहरूमा नेवि संघका अस्मिता बिष्ट र बन्दना कुमारी विष्ट विजयी भए। यस्तै अनेरास्ववियुका राहुल कुमार बोट, अखिल क्रान्तिकारीका प्रदिप कुमार बोट, अखिल क्रान्तिकारीकै आरती राना (गोला प्रथाबाट) पनि विजयी भए।

आइतबार सम्पन्न स्ववियु चुनावमा महाकाली बहुमुखी क्याम्पसका ५ सय ७२ मतदाता मध्ये ४ सय ७४ जनाले मत खसालेका थिए।

यस्तै कञ्चनपुरको पुनर्वासस्थित जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का मनोज साउँद सभापतिमा विजयी भएका छन्। 

१ सय १५ मत ल्याउदै सभापतिमा साउँद विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि एमाले निकट अनेरास्ववियुका सकुन्तला मल्लले ९५ मत पाएकी थिइन्।

यस्तै सचिव र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भए। सुशील कुँवर सचिव र लक्ष्मी सिंह ठकुरी कोषाध्यक्षमा विजयी भएका छन्।

यस्तै सदस्यहरूमा नेवि संघका प्रदीप ठकुल्ला, विपना चन्द, अनेरास्ववियुका प्रवेश पौडेल, सुरज विक र विमला थापा विजयी भएका छन्।

२ सय ९१ मतदाता मध्ये २ सय १० मत खसेको निर्वाचन समितिले जनाएको छ।

यस्तै कृष्णपुरको गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसको स्ववियु चुनावको नतिजा पनि सार्बजनिक भएको छ। नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई तोड्दै अनेरास्ववियुका देवसिंह साउँद सभापतिमा विजयी भएका छन्। अन्य पदहरुमा मिश्रित नतिजा आएको छ।

झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेवि संघको प्यानलै विजयी भएको छ। सभापतिमा कृष्णराज जोशी विजयी भएका हुन्।

बेलडाँडीस्थित रौलेश्वर आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावका अनेरास्ववियुले सभापतिलगायत अधिकांस पदमा विजय हासिल गरेको छ।

सभापतिमा अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडू विजयी भए।

बेलौरीस्थित रामपुर बहुमुखी क्याम्पसको स्ववियु चुनावका अखिल (क्रान्तिकारी) को प्यानलै विजयी भएको छ।

कुल २५ मा १५ मत ल्याउदै क्रान्तिकारीकी उम्मेदवार सरस्वती तिरुवा सभापतिमा विजयी भएकी थिइन्। 

त्रिवि अन्तर्गतका १५ क्याम्पसमध्ये ६ वटामा मात्र हिजो स्ववियु चुनाव भएको थियो। बाँकी क्याम्पसहरुमा तालाबन्दीका कारण चुनाव हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .