सुदूरपश्चिम


पूजामा सहभागी हुन जाँदै थियो सिंहको परिवार, अर्को गाडीमा थिए छोरा अभिषेक

पूजामा सहभागी हुन जाँदै थियो सिंहको परिवार, अर्को गाडीमा थिए छोरा अभिषेक

आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह (फाइल तस्बिर)


गोकुल जोशी
असार ५, २०८० मंगलबार १८:४०, कञ्चनपुर

बझाङमा भएको दुर्घटनामा परेका घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मन्त्री सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। 

सोही दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको पनि ज्यान गएको थियो। 

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवी सिंहको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको थियो। 

गम्भिर घाइते कानूनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारको लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो। 

घाइते चालक र पिएसओको कोहलपुरमा उपचार भइरहेको छ।

मंगलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। 

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा मन्त्री सिंह सहित ५ जना सवार थिए। 

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङगा नदीको किनारमा खसेको थियो। 

नेपाली कांग्रेस बझाङका सचिव उत्तमबहादुर रोकायाका अनुसार मन्त्री सिंह पारिवारिक पूजापाठका लागि बझाङ आइरहेका थिए।

मन्त्री सिंहको गृहजिल्लाको हो, बझाङ। 

मष्टा गाउँपालिकाको धरान मष्टामाडौंमा पुजाका लागि परिवारसहित जाने क्रममा उनी सवार गाडी दुर्घटनामा परेको थियो।

सोमबार नै धनगढीबाट डडेल्धुरा पुगेका उनीहरू मंगलबार बझाङतर्फ गइरहेका थिए।

धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि जाँदै थिए। उनी मन्त्री सवार गाडीको पछाडि अर्को गाडीमा सवार थिए।

स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाइतेको उद्धार गरेका थिए। 

‘धरान मष्टामाडौंमा पारिवारिक पुजाको कार्यक्रम थियो, त्यसकै लागि आउँदा गाडी दुर्घटना भयो,’ सचिव रोकयाले भने, ‘यो दुःखद् घटनाले सिंगो सुदूरपश्चिम शोकमग्न छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .