ad ad

सुदूरपश्चिम


भीमदत्तनगरमा महेन्द्रको सालिक राख्दै राप्रपा, गणतन्त्रवादी भन्छन्– स्वीकार्य छैन

भीमदत्तनगरमा महेन्द्रको सालिक राख्दै राप्रपा, गणतन्त्रवादी भन्छन्– स्वीकार्य छैन

गोकुल जोशी
मंसिर २५, २०८० सोमबार १९:५६, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आयोजना हुने आमसभाको तयारीमा राप्रपा कञ्चनपुरले तीव्रता दिएको छ। मंसिर २८ गते बिहीबार महेन्द्रनगरको (महेन्द्र) स्मारक चोकमा राप्रपाले आमसभाको आयोजना गर्दैछ।

आमसभाको प्रचारप्रसारसँगै राप्रपाले स्मारक चोकमा तत्कालीन राजा महेन्द्रको सालिक पनि अनावरण गर्ने तयारीले माहोल तताएको छ।

गणतन्त्र विरोधी क्रियाकलापका रुपमा राजाको सालिक राखेर राप्रपाले चाल्न खोजेको यो कदमले स्थानीय स्तरमा बहस छेडेको छ।

राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर महेन्द्रको सालिक अनावरण गर्न खोजिरहेको छ।

आमसभाको तयारी अन्तिम चरणमा पुगेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द बताउँछन्।

‘आमसभाको तयारी अन्तिम चरणमा पुगेको छ। वक्ताहरुको टुंगो लागिसकेको छ,’ उनी भन्छन्, ‘पार्टी संगठन तयारीमा सक्रिय छ।’

उनका अनुसार स्मारक चोकमा महेन्द्रको सालिक अनावरण गर्ने कार्यक्रम पनि रहेको छ। आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

‘इतिहास जगेर्ना गर्ने उद्देश्यले हामीले सालिक राख्न खोजेका हौँ। प्रशासनले कुरुरता देखाउलाजस्तो देखिन्छ,’ अध्यक्ष चन्द भन्छन्, ‘हामीले सालिक राख्न पाउनुपर्छ भन्ने माग उठाएका छौँ।’

राप्रपाले चाल्न खोजेको यो कमदविरुद्ध गणतन्त्रवादी ८ दल एकजुट भएर विरोधी कित्तामा उभिएका छन्। उनीहरूले केही दिनअघि सर्वदलीय बैठक नै डाकेर राजा महेन्द्रको सालिक अनावरण गर्ने कार्यक्रमको विरोध जनाए।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको बर्खिलाप र व्यवस्थाविरुद्धको गतिविधिका रुपमा रहेको राजा महेन्द्रको सालिक स्थापना गर्ने कार्य रोक्न स्थानीय प्रशासनलाई ध्यानाकर्षण नै गराएका छन्।

सालिकको विषयलाई लिएर राजावादी र गणतन्त्रवादी सामाजिक सञ्जालमा भिडिरहेका छन्। आमसभालाई मध्यनजर गर्दै सुरक्षा निकाय चनाखो भएको छ।

राप्रपाको अगुवाइमा केही साताअघि भएको गणतन्त्रविरोधी प्रदर्शनको क्रममा भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गरिएको थियो।

त्यसमा संलग्न राप्रपाका १८ जना स्थानीय नेता कार्यकर्तालाई प्रहरीले समातेको थियो। त्यसको विरोधमा अर्को दिन राप्रपाले कञ्चनपुर बन्द नै गरेको थियो।

अनावरण गर्ने महेन्द्रको सालिक तयार भएर महेन्द्रनगर ल्याइएको राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पाल बताउँछन्।

‘सालिक राख्ने विषयमा अन्य राजनीतिक दलहरुसँग सहमति जुट्न सकेको छैन। सर्वदलीय बैठकमा छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने, ‘महेन्द्रनगरको पहिचान राजा महेन्द्रसँग जोडिएको छ। इतिहास कसैको पनि नमेटिओस्।’

वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्रवादी दलहरूले स्मारक चोकमा रहेको राजा महेन्द्रको सालिक हटाएका थिए। त्यसअघि पनि सालिक हटाउने र राख्ने क्रम चलेकै थियो।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेय संविधान विपरीत कुनै पार्टीले सार्वजनिक स्थलमा के राख्ने/नराख्ने भनेर निर्णय गर्न नपाउने बताउँछन्।

राजतन्त्र ढलेपछि त्यस बेलाको सर्वदलीय बैठकले ‘महेन्द्र स्मारक चोक’को नाम फेरेर संविधान चोक नामकरण गरेको थियो। उक्त चोकमा गणतन्त्रको स्तम्भ राख्ने निर्णय भएको थियो।

‘त्यस बेलाको निर्णय कार्यान्वयन गर्नुपर्ने स्थानीय सरकारले हो। तर त्यो कार्यान्वयन हुन सकेन। सर्वदलीय बैठकमार्फत् त्यो निर्णय कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गरेका छौँ,’ पाण्डेय भन्छन्, ‘तत्काल निर्णय कार्यान्वयन हुनुपर्छ।’

राप्रपाले सालिक स्थापना गर्न प्रक्रियागत ढंगले अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।

‘हामीले सरकार र सत्ता आयो भने सालिक राख्नु होला भनेका छौँ’, उनले भने।

राप्रपाले प्रशासनमा सालिक अनावरण गर्ने भनेर अहिलेसम्म कुनै जानकारी गराएको छैन। आमसभाको कार्यक्रम राखिने भनेर राप्रपाले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

‘आमसभा गर्ने भनेर जानकारी आएको छ,’ उनले भने, ‘प्रशासनलाई जानकारी नगरेरै जिम्मेवार राजनीतिक दलले सालिक स्थापना गर्ने कार्यक्रम गर्छ भन्ने हामीलाई लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .