ad ad

सुदूरपश्चिम


शिलालेखमा हतौडा : यस्तो छ भाइरल भिडिओको भित्री कथा

सत्ताको दुरुपयोग गरियो : पूर्वमेयर साउद, विगतको गल्ती सुधार्‍यौँ : मेयर भट्ट
शिलालेखमा हतौडा : यस्तो छ भाइरल भिडिओको भित्री कथा

गोकुल जोशी
माघ ६, २०८० शनिबार १२:१६, कञ्चनपुर

यतिबेला सामाजिक सञ्जालमा कैलालीको गोदावरी नगरपालिकाको शिलालेख हतौडाले तोडिरहेको भिडिओ भाइरल भइरहेको छ। जसमा एक युवक नगरपालिकाको पर्खालमा राखिएको शिलालेख हतौडाले फुटाइरहेका छन्। 

भिडिओको पृष्ठभूमिमा नाराबाजी भइरहेको आवाज सुनिन्छ। यो गोदावरी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमको दृश्य हो। 

हेर्नुहोस् भिडिओ-

दोस्रोपटक उद्घाटन गर्न नगरको प्रशासनिक भवनमा राखिएको शिलालेख फुटाइएको हो।

कथा यस्तो छ-

अघिल्लोपटक गोदावरीमा एमालेबाट निर्वाचित हरिसिंह साउद मेयर थिए। उनकै कार्यकालमा निर्माण थालिएको भवन पदावधि सकिने बेला साउदले उद्घाटन गरेर आफ्नो नामको शिलालेख राखेका थिए।

हाल गोदावरी नगरपालिकामा कांग्रेसका वीरेन्द्र भट्ट नगर प्रमुख (मेयर) छन्।  

गोदावरी नगरपालिका–२ तेघरीमा निर्माण भएको नगरको प्रशासनिक भवनमा राखिएको साउदको शिलालेख फुटाएर मेयर भट्टले आफ्नो नामको शिलालेख राख्दै बिहीबार भवन फेरि उद्घाटन गरेका हुन्। 

उक्त उद्घाटन कार्यक्रम बहिष्कार गर्दै एमालेका जनप्रतिनिधि र नेताहरु विरोधमा उत्रिए।

उनीहरुले कार्यक्रमस्थलमा नाराबाजीदेखि कालोझण्डा देखाउनेसम्म गर्न भ्याए। तर एमालेको अवरोधकै बीच बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएर भवनको पुनः उद्घाटन गरिएको हो।

यसअघि तत्कालीन मेयर साउदले २०७८ चैतमा उक्त भवनको उद्घाटन गरेका थिए। त्यसबेला भवनको पर्खाल बनाउन र खानेपानी जडानलगायत काम बाँकी नै थिए।

निर्माण नसकिँदै भवन उद्घाटन गरिएको भन्दै त्यसबेला कांग्रेसले विरोध गरेको थियो। कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका थिए।

वि.सं. २०७६ मा भवन निर्माण थालिएको थियो। एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाले गोदावरी नगरपालिकाको प्रशासनिक भवन निर्माण गरेको थियो। १२ करोड बजेटमध्ये १० करोडमा भवन निर्माणको ठेक्का लगाइएको थियो।

वि.सं. २०७८ मै भवन उद्घाटन गरिए पनि २०८० असार २८ गते मात्रै नगरपालिकाको कार्यालय नयाँ भवनमा सारेर सेवा प्रवाह गर्न थालिएको हो। 

एमाले–कांग्रेस वैमनस्यता
शिलालेख काण्डले गोदावरी नगरपालिकामा कांग्रेस र एमालेबीच तिक्तता उत्पन्न भएको छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिले उद्घाटन भइसकेको भवन फेरि उद्घाटन नगर्न नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए।

आफूहरुको विरोधका बीच पनि भवन दोस्रोपटक उद्घाटन गरिएको उनीहरुको भनाइ छ। यस क्रममा एमालेका केही नेतालाई कांग्रेस कार्यकर्ताले हातपात गरेको आरोप पनि लागेको छ।

‘सामान्य छलफल गर्ने भनेर हामीहरुलाई बोलाइयो। त्यसपछि त्यो बैठकलाई कार्यपालिका बैठक भनियो’, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले भनिन्, ‘भवन उद्घाटनको निर्णय गर्दा असहमति जनाएर हामीले बैठक बहिष्कार गर्‍यौँ।’

१२ वडा रहेको गोदावरीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बाहुल्य छ। १२ वडामध्ये ७ जना वडाध्यक्ष कांग्रेसका छन्। एमालेका ४ र स्वतन्त्र एक जना वडाध्यक्ष  छन्। 

शिलालेख प्रकरणबाट गोदावरीमा सुरु कांग्रेस-एमाले तिक्तताको प्रभाव कहाँसम्म जान्छ त्यो भने हेर्न बाँकी छ। 

सत्ताको दुरुपयोग भयो : साउद
गोदावरी नगरपालिकाका पूर्व मेयर हरिसिंह साउदले सत्ताको दुरुपयोग गरेर शिलालेख फुटाएर दोस्रोपटक भवनको उद्घाटन गरिएको टिप्पणी गरेका छन्। 

क्षेत्रीय सहरी विकास आयोजनासँग समन्वय गरेरै भवन उद्घाटन गरिएको दाबी उनको छ।

‘ठेकेदारदेखि माथि सबै उनीहरुकै मान्छे थिए। भवन निर्माणमा ढिलासुस्ती धेरै भयो। सुरुमा २२ महिना निर्माण सकेर गरेर दिने भनेका थिए’, उनले भने, ‘भवनको जग हाल्नै डेढ वर्ष लगाइयो।’

ठेकेदारलाई बारम्बार ताकेता गरेपछि भवन निर्माणको कामले पछि गति लिएको उनको भनाइ छ। उनका अनुसार भवन निर्माणका लागि दुईपटक म्याद थपिएका थिए। 

उद्घाटन भइसकेको भवन सत्ताको बलमा फेरि उद्घाटन गरेर अनैतिक व्यवहार देखाएको उनको आरोप छ।

‘उनीहरुमा नैतिकता नै रहेन। सत्ताको दुरुपयोग गरेर शिलालेख हटाइयो। एउटै भवन दुईपटक उद्घाटन गरियो’, उनले भने, ‘उहाँ ५ वर्षका लागि मात्रै मेयर हो। भोलि अर्को आएर फेरि उद्घाटन गरे के हुन्छ?’

विगतको गल्ती सच्यायौँ : मेयर भट्ट 
यता मेयर वीरेन्द्र भट्ट भने क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण सकेर नगरपालिकालाई हस्तान्तरण नगर्दै हतारहतार भवन उद्घाटन गरिएको गल्ती अहिले सुधारिएको दाबी गर्छन्। 

‘निर्माण नसकिँदै भवन उद्घाटन गरिएको थियो। हस्तान्तरण नगरेकोले अहिले नै भवन उद्घाटन नगर्न भनेर एडीबीले त्यसबेला पत्राचार नै गरेको थियो’, उनी भन्छन्, ‘अहिले भवन निर्माण सम्पन्न भएपछि विधिवत् रुपमा भवन उद्घाटन गरेका छौँ। विगतको गल्ती सुधारेका छौँ।’

उनका अनुसार भवन निर्माण सम्पन्न गरेर सहरी विकासले माघ २ गते नगरपालिकालाई भवन हस्तान्तरण गरेको थियो। अघिल्लो सरकारका पालामा शिलान्यास भएकाले शिलालेखमा त्यसबेलाकै प्रमुखको नाम उल्लेख रहेको उनले बताए। 

अहिले भवन गरिएको भवन उद्घाटनमा एमालेबाहेक सबै राजनीतिक दलको सहमति रहेको दाबी मेयर भट्टको छ। 

‘एमालेबाहेक अन्य सम्पूर्ण दल यसमा सहमत छन्। कार्यपालिकामा एमालेका एक वडाध्यक्ष र उपमेयर ज्यूले मात्रै यसको निर्णयमा हस्ताक्षर गर्नुभएन’, उनले भने, ‘अरु सबैको सहमति छ।’

हचुवाका भरमा काम नसकिँदै २०७८ सालमा भवन उद्घाटन गरिए पनि नगरपालिकाको सेवा भने भाडाकै घरबाट दिने गरिएको थियो।

‘भवन उद्घाटन गरेपछि पनि उहाँहरु त्यो भवनमा सर्नुभएन। भाडाको भवनमै बसेर लाखौँ खर्चभयो’, उनले भने, ‘हामी निर्वाचित भएर आएपछि नयाँ भवनमा सरेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .