ad ad

सुदूरपश्चिम


मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन तीन दलको आग्रह

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन तीन दलको आग्रह

फाइल तस्बिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी


नेपालखबर
असार २९, २०८१ शनिबार १६:३५, धनगढी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा आग्रह गरेका छन्।

शनिबार  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन्।  
  
पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए। उनले भने, ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन।’

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा  गर्न आग्रह गरेका थिए। 
    
संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन्।
  

एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ। बजेटमाथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन।  
 
नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको  कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए।

प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा  कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपाको १ र स्वतन्त्र १ छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .