कैलालीको धनगढीस्थित नोभा अस्पतालमा तनाब सृजना भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय किशोर नसिब चौधरीको मृत्युको विषयलाई लिएर अस्पतालमा शनिबार तनाव उत्पन्न भएको हो ।
अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन्। अस्पताल बाहिर भेला भएको भीडले अस्पतालमा ढुंगामुढा गरेर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडूका अनुसार दुई सेल अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारिएको छ। केही बेर तनावग्रस्त बनेको अस्पतालको अवस्था अहिले सामान्य रहेको उनले बताए।
मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल भइरहेको छ।
७ साउनमा जण्डिसको समस्या लिएर अस्पताल आएका चौधरीको शुक्रबार मृत्यु भएको थियो।
चौधरीको अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तको आरोप छ।
शुक्रबार दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै पीडित परिवाले शव बुझ्न मानेको छैन।
उनीहरुले उपचारमा संलग्न डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन्।
Shares
प्रतिक्रिया