बागमती


चितवन २ : रवि गाउँ पस्दा सहरी मतदाता फकाउँदै जीतनारायण र रामप्रसाद

चितवन २ : रवि गाउँ पस्दा सहरी मतदाता फकाउँदै जीतनारायण र रामप्रसाद

सुनिता विष्ट
चैत ३०, २०७९ बिहिबार १६:११, हेटाैँडा

चितवन प्रतिनिधि सभा क्षेत्र २ मा चुनावी सरगर्मी बढेको छ। चैत-वैशाखको चर्को घाम जस्तै तातिरहेका छन्, उम्मेदवार पनि।

गत मंसिर ४ गतेको निर्वाचनमा अन्य उम्मेदवारको तुलनामा दोब्बर बढी मत ल्याएर विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपनिर्वाचनमा होमिएकाले चितवनको राजनीति तातेको छ।

यद्यपी चितवनमा उपनिर्वाचन हुनुको कारण नै लामिछाने हुन्। नागरिकता प्रकरणमा उनले गत माघ १३ गते सांसददेखि मन्त्रीसमेतका सबै पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो। 

मंसिरको निर्वाचनमा रास्वपाको पोल्टामा परेको सफलता यस पटक जोगाउन रविलाई चुनौती थपिएको छ। यसबीचमा भएका अनेक विवादका कारण रविलाई मंसिरमा जस्तो सहज नहुने आकलन धेरैले गरेका छन्। 

अर्कातिर रास्वपाको पोल्टामा पुगेको चिवतन २ फर्काउने रणनीतिमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीतनारायण श्रेष्ठ लागिपरेका छन्।

अहिले लामिछाने मंसिरमा आफूलाई कम मत खसेको चितवनका ग्रामीण भेग केन्द्रित छन्। उनी इच्छाकामना गाउँपालिकामा आफ्नो उपस्थिती बाक्लो बनाइरहेका छन्।

गठबन्धनका श्रेष्ठ र एमालेका न्यौपाने घण्टीको मत काट्न बजार क्षेत्रमा केन्द्रित भइरहेका छन्। रविले मंसिरमा पनि सहरी मतदाताकै एक छापे मत पाएका थिए।

अहिले कांग्रेस र एमाले दुवै भरतपुर महानगरसहित सहरी क्षेत्रका मतदातालाई फर्काउन लागिरहेका छन्। 

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र एमालेले पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटासहितलाई खटाएर मंसिरमा घण्टीतिर गएका मतदाता फर्काउन मिहिनेत गरिरहेका छन्। 

दुवै दलले सहरी क्षेत्रका मतदातालाई आफ्नै चुनाव चिह्नमा फर्काउन सकेन मतपरिणाममा फरक पार्न सकिने अनुमान गरेका छन्। 

एमाले नेता बास्कोटाले मंसिरमा घण्टीतिर भोट हालेका कार्यकर्ता र समर्थकहरु अब करिब करिब पार्टीतिर फर्किसकेको बताएका छन्। 

उता कांग्रेसले पनि यसअघिका बागी र असन्तुष्ट सबै नेताहरु पार्टीमा फर्किएकाले अब मतदाता पनि फर्काएर चुनावी नतिजा उल्ट्याउन सकिने आकलन गरेको छ।

रविले आफूलाई कम मत आएको क्षेत्रमा मिहिनेत गरिरहँदा यी दुई दल भने सहरी क्षेत्रमा बढी केन्द्रित भइरहेका छन्। दुवै दल अहिले बाक्लो सहरी क्षेत्रका मतदाताको घर घरमा पुगिरेहका छन्। 

अबको १० दिनपछि चितवन २ ले नयाँ सांसद पाउनेछ। १३ जनाको उम्मेदवारी दर्ता भएको यहाँ रास्वपाका लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका न्यौपानेकै वरिपरि निर्वाचन घुमिरहेको छ। तीनै उम्मेदवारहरु आफ्नो पल्ला भारी गर्न खटिरहेका छन्। 

घट्ला रविको मत?
राजनीतिमा प्रवेश गरेर पहिलो पटक चुनावमा होमिएका लामिछानेको लागि चुनौतीसँगै सुनौलो अवसर पनि थियो। तर उनले यो चुनौतीलाई अवसरमा बदल्न सकेनन्।

नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएपछि चितवन २ मा पुनःउपनिर्वाचन हुन लागेको हो।

आफ्ना जनप्रतिनिधिले राम्रा काम गरुन् भन्ने मतदाताको अपेक्षा हुन्छ। तर जितेर सत्तामा पुगेपछि रवि विवादै विवादमा परेका कारण उनको मत घट्न सक्ने अनुमान छ।

मंसिर ४ को निर्वाचनमा रविप्रतिको क्रेज जति थियो, उपनिर्वाचनमा कम भएको भन्ने चर्चा छ। यद्यपि, मंसिरको निर्वाचनमा साथ दिएका मतदाताहरु दोस्रो मौका हेर्न उपनिर्वाचनमा पनि रविकै पक्षमा उभिने पनि सम्भावना छ।

तर यस पटक रविलाई मतदाताले नागरिकता प्रकरणमा प्रश्न सोधिरहेका छन्। उनीहरुले रविकै कारण राज्यकोषको करोडौँं खर्च गरेर उपनिर्वाचन गर्नुपरेको भन्दै त्यसको जवाफ उनीसँग मागिरहेका छन्। 

गठबन्धनको आफ्नै दाउ
चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ चुनाव जित्न मेहनत गरिरहेका छन्। पछिल्लो समय रविको पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ रकम वार्गेनिङ प्रकरणमा जोडिएपछि चितवनको मत आफ्नो पक्षमा तान्न कांग्रेसका श्रेष्ठ लागि परेका छन्। श्रेष्ठलाई जिताउन कांग्रेसका चार  विद्रोही नेता पनि मूलघरमै फर्किएका छन्।

गत निर्वाचनमा टिकट नपाएका केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले श्रेष्ठलाई विजयी गराउन संयुक्त अपिल गरेका छन्। 

२०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कोइराला चितवनमा प्रभावशाली मानिन्छन्।

कांग्रेसभित्र एकमत भएको र सत्ता गठबन्धनकोसमेत साथ रहेकाले आफूले जित्नेमा दुईमत नरहेको श्रेष्ठको दाबी छ।

उनले आफ्नो मुख्य प्रतिस्पर्धीको रुपमा रास्वपाका लामिछानेलाई लिएका छन्। यद्यपि पछिल्ला विवादका कारण रविको मत घट्ने र आफूले जित्ने श्रेष्ठको तर्क छ।

एमाले भन्छः मतदाताले कमजोरी सच्याउँछन्
आम निर्वाचनमा तेस्रो स्थानमा रहेको एमालेले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेको छ।

पहिले के भयो भन्ने कुरा बिर्सिएर भोलि के हुन्छ भन्ने ध्यानमा राखेर निर्वाचनमा होमिएको एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने बताउँछन्। 

मंसिर ४ को निर्वाचनमा जनताले रविलाई चिन्न नसकेर मत दिएको बताउँदै आगामी १० गते यो गल्ति मतदाताले नदोहोराउनेमा ढुक्क रहेको न्यौपानेको दाबी छ।

विगतको हारलाई विजयमा परिणत गर्न चुनावी मैदानमा होमिएको न्यौपानेको तर्क छ। 

कसको पल्ला भारी? 
उपनिर्वाचन तोकिएदेखि नै चर्चामा रहेको चितवन २ को चुनावी नतिजामा कसको पल्लाभारी होला? चासोको बिषय बनिरहेको छ। मंसिर ४ को निर्वाचनमा लामिछाने ३४ हजार भन्दाबढी मतान्तरसाथ विजयी बनेका थिए।

तर, पछिल्लो पटक नागरिकता विवाद र राहदानी मुद्दामा जोडिएका रविले सत्तामा पुगेपछि अन्य दलको जस्तै व्यवहार देखाए भनेर चर्को आलोचना खेप्नु परेको छ। 

मंसिर ४ लाई फर्केर हेर्दा
मंसिर ४ को निर्वाचनमा चितवन २ निरन्तर चर्चामा रह्यो। लामिछाने ठूला राजनीतिक दलहरुसँग जोरी खोज्दै चुनावी मैदानमा होमिँदा यहाँको चुनाव रोचक भएको थियो।

टेलिभिजन कार्यक्रम प्रस्तोताको भूमिका छाडेर राजनीतिमा होमिएका उनले पहिलो चुनावमै गतिलो अंकसहित जित निकाले। 

४९ हजार २६१ मत ल्याएर विजयी हुँदा कांग्रेससँगको मतान्तर नै ३४ हजार २ सय ८१ थियो। 

उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आउँदा एमाले तेस्रो भएको थियो।

एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए। यतिबेला गठबन्धन र एमालेले गएको निर्वाचनको उम्मेदवारहरु परिवर्तन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .