बागमती


बागमतीमा भागबन्डा विवाद : एउटा मन्त्रालय नपुग्दा सरकारमै नबस्ने धम्की

बागमतीमा भागबन्डा विवाद : एउटा मन्त्रालय नपुग्दा सरकारमै नबस्ने धम्की

सुनिता विष्ट
बैशाख २४, २०८० आइतबार १४:३०, हेटौँडा

बागमती प्रदेश सरकार गठन भएको डेढ महिना बितिसकेको छ। तर मन्त्रिपरिषद् अझै अपूर्ण छ। सत्ता गठबन्धनमा रहेका तीन दलमध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भागबन्डामा कुरा नमिल्दा बागमती सरकारले अहिलेसम्म पूर्णता पाउन नसकेको हो। 

बागमती प्रदेशका कूल ११ मन्त्रालयमध्ये अझै पाँचवटा खाली छन्। जुन कांग्रेस र एकीकृत समाजवादीबीच बाँडफाँड गर्नुपर्नेछ। तर तीमध्ये कांग्रेसले चारवटा र एकीकृत समाजवादीले दुईवटा आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। यसैकारण मन्त्रिपरिषद् विस्तारमा चुनौती भइरहेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ बताउँछन्। 

कांग्रेसले गठबन्धन बन्ने बेलै आफूले ६ मन्त्रालय पाउने सहमति भएको दाबी गर्दै अब अझै चारवटा पाउनुपर्ने अडान लिइरहेको छ। उता नेकपा एकीकृत समाजवादी पनि दुई मन्त्रालय नपाए सरकारमै सहभागी नहुने जिकिर गरिरहेको छ। एउटा मन्त्रालय लिएर सरकारमा सामेल हुनुभन्दा बरु प्रतिपक्षमै बस्ने नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनाल बताउँछन्। 

सरकारका प्रवक्ता श्रेष्ठ यस विषयमा छलफल गरेर सहमतिमा पुग्न भनिए पनि कांग्रेस र एकीकृत समाजवादीले अझै निष्कर्ष दिन नसकेको बताउँछन्।

‘हामीले तपाईंहरू नै सल्लाह गरेर मन्त्रीको नाम लिएर आउनूस् भनेका छौँ। तर उहाँहरू नै अलमलमा हुनुहुन्छ’, उनी भन्छन्, ‘हामी कांग्रेसलाई चारवटै दिनुपर्छ भन्ने पक्षमा पनि छैनौँ। समाजवादीलाई दुई हुनुपर्छ भन्ने पक्षमा पनि छैनौँ। रिक्त मन्त्रालय पाँचवटा हो। मिलाएर, छलफल गरेर आउनूस् भनेको महिनौँ भइसक्यो। तर कहिल्यै सहमति जुटाउनुभएन।’

तर कांग्रेस बागमती संसदीय दलका नेता एवं प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामा जम्मा ६ मन्त्रालय नपाए बरु आफ्नो पार्टी सरकारबाटै बाहिरिने दाबी गर्छन्।

‘हामीले सुरुदेखि नै माग गरेको ६ मन्त्रालय हो। अहिले दुई मन्त्रालय पाएका छौँ। अब चारवटा जसरी पनि पाउनुपर्छ। यदि पाइएन घट्न पर्‍यो भने सरकारबाटै बाहिरिन परे पनि बाहिरिन्छौँ’, उनले भने। 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नपाउनुको कारण कांग्रेस र एकीकृत समाजवादी नै भएको बताउँछन्। तर अब एक/दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइने उनको दाबी छ। 

‘हामीले सहमति गरेर आउन भनेका छौँ। अबको एक/दुई दिनभित्रै बागमती सरकारले पूर्णता पाउँछ’, उनले भने, ‘राजनीतिक कुरा हो, नमिल्लने भन्ने हुँदैन। अब मिलाएर बागमती क्याबिनेट पूरा गर्छौं।’

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री जम्मकट्टेलसहित कुमारी मोक्तान सामाजिक विकासमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री छन्।

यस्तै कांग्रेसबाट बहादुरसिंह आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थबहादुर लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री छन्। अर्थात् अहिलेसम्म माओवादी केन्द्रले ४ र कांग्रेसले २ मन्त्रालय पाएका छन्। 

अब स्वास्थ्य मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय गरी ५ मन्त्रालय बाँकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .