बागमती


बागमती क्याबिनेट विस्तार : असन्तुष्ट नेताहरूलाई बालुवाटारले देला सन्तुष्टि?

बागमती क्याबिनेट विस्तार : असन्तुष्ट नेताहरूलाई बालुवाटारले देला सन्तुष्टि?

सुनिता विष्ट
जेठ ४, २०८० बिहिबार १७:३५, काठमाडौँ

बागमती सरकारलाई पूर्णता दिन हतारो भइरहँदा भागबण्डामै किचलो बढेपछि केन्द्रको समेत ध्यान केन्द्रित बनेको छ।

प्रदेशको कुरा प्रदेशबाटै हल गर्न शीर्ष नेताहरूले अनुमती दिएपनि नमिलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका शीर्ष नेता तथा बागमती प्रदेश सरकारमा सहभागी हुने दलका नेता तथा मुख्यमन्त्रीलाई बालुवाटारमै बोलाएका छन्।

पटक पटकको प्रयासबाट असफल भएपछि मुख्यमन्त्री जम्मकट्टेले प्रधानमन्त्रीको साथ खोज्दै विवाद मिलाउन अनुरोध गरेका हुन्। 

आजै बेलुकीका लागि डाकिएको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने बताइएको छ।

चैत्र १० गते दोस्रो पटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ५५ दिन सम्म पनि ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। 

बुधबार बागमती सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री र नेकपा एकीकृत समाजवादी सकारात्मक थिए। तर केही विषयमा कुरा नमिलेपछि कांग्रेसले सत्तापक्षीय बैठक सम्म बस्न मानेन। जसका कारण मुख्यमन्त्रीको प्रयास असफल भयो। 

लामो समयदेखि १ मन्त्रालयमा भागवन्डा मिल्न नसकेको बागमतीमा केही दिनअघि मात्रै ५, ४ र २ मा भागवन्डा मिलेको थियो। अर्थात कांग्रेसलाई अर्थ मन्त्रालय सहित ५, माओवादीलाई मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीलाई उस्ले मागे अनुसारकै २ मन्त्रालयमा सहमती भएको थियो।

६ मन्त्रालयको दाबीबाट पछि नहट्ने शर्त राखेको कांग्रेसलाई ५ मन्त्रालय दिने सहमती मुख्यमन्त्री जम्मकट्टेलले गरेका थिए। उनको यो निर्णयलाई कांग्रेसले स्वीकार गर्यो। तर शर्तको आधारमा। 

प्रदेशमा रिक्त रहेको ५ मन्त्रालयहरुमध्ये अब कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई पाउने छन्। 

जसमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले कांग्रेसको भागको तीन मन्त्रालयमा आफूले दाबी गरिदिए। आर्थिक मामिला मन्त्री समेत रहेका लामाले स्वास्थ्य मन्त्रालय, वन मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा आफ्नो दाबी बढाए।

बाँकी दुई मन्त्रालय श्रम रोजगार तथा यातायात मन्त्रालय र कृषि मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलकै काँधमा छ। जुन एकीकृत समाजवादीले पाउने निश्चित भएपछि भागबण्डाको लफडा सुरु भएको एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनाल बताउँछन्।

उनका अनुसार एकीकृत समाजवादीले दाबी गर्दै आएको स्वास्थ्य मन्त्रालय पनि कांग्रेसकै भागमा परेपछि यो लफडा बढेको हो। कृषि मन्त्रालय र स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीले दाबी गर्दै आएको उनको भनाई छ।

११ सदस्यीय मन्त्रिपरिषद् सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिएको थियो । कांग्रेसले ६ वटै मन्त्रालय मागेर अडान राखेकाले जम्कट्टेलले भने ५ वटासम्म मन्त्रालय दिन सकिने यसअघि नै बताएका थिए। मागेजति मन्त्रालय दिएर भागबण्डा नमिल्ने उनको तर्क थियो। त्यासेत, भागवण्डा टुंग्याउन कार्यदल गठन गरे पनि सहमति हुन सकेको थिएन।

यसरी कांग्रेस र एकीकृत समाजवादीले एक आपसमा निश्कर्ष निकाल्न नसक्दा प्रदेशको लफडा मिलाउने जिम्मेवारी पार्टीका शीर्ष नेताहरूले लिएका छन्। बागमतीमा दुई मन्त्रालय, तइसमा पनि स्वास्थ्य र कृषि नपाए सरकारमै सहभागी नहुने नेकपा एसको चेतावनीले समस्या उत्पन्न गरेको मुख्यमन्त्री सचिवालयको दाबी छ।

कांग्रेस ६ बाट घट्न परे सरकारबाट बाहिरिने, समाजवादी २ बाट घट्न नमान्ने समस्याले सत्ता गठबन्धन नै भत्कने संकेत गरेपछि केन्द्रले नै यसको निचोड निकाल्ने भन्दै आज साँझ बालुवाटारमा बैठक बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .