बागमती


बागमतीमा कर्मचारीको वैयक्तिक विवरण राख्न सुरू

बागमतीमा कर्मचारीको वैयक्तिक विवरण राख्न सुरू

सुनिता विष्ट
जेठ ३२, २०८० बिहिबार १७:१४, हेटाैंडा

बागमती प्रदेशले लोकसेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा र स्थानीय सेवामा नियुक्ति पाएका कर्मचारीको वैयक्तिक विवरणसहितको अभिलेख राख्न सुरू गरेको छ।

बिहीबार प्रदेशका मुख्यमन्त्री शालिमकराम जम्मकट्टेलले वैयक्तिक विवरण अभिलेखको उद्घाटन गरेका हुन्।

लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीलाई पिआईएस नम्बर हस्तान्तरण गर्दै मुख्यमन्त्रीले जम्मकट्टेलले वैयक्तिक विवरण प्रणालीको सुरूवात भएको बताएका हुन्।

उनका अनुसार प्रादेशिक वैयक्तिक विवरण प्रणाली राख्ने बागमती प्रदेश देशकै पहिलो हो।

कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टलको अभावमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीको अभिलेख राख्ने काममा अन्योल आएको स्मरण गर्दै मुख्यमन्त्री जम्मकट्टेलले अब यस्ता समस्याको समाधान हुने बताए। 

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा ९ जना निजामती कर्मचारीहरूलाई वैयक्तिक विवरण अन्तर्गतको कर्मचारी संकेत नम्बर प्रदान गरेको छ। केही समय अघिमात्रै प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका उनीहरूलाई कर्मचारी संकेत नम्बर दिइएको प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।

लक्ष्मी अर्याल (शिक्षा विकास निर्देशनालय), केशरबहादुर वली (वन तथा वातावरण मन्त्रालय), विकास विकाल ( बागमती प्रदेश सभा सचिवालय), चन्दन कुमार मण्डल (सामाजिक विकास मन्त्रालय), कल्पना विष्ट (कृषि ज्ञान केन्द्र बागमती), पवित्रा तिमल्सिना (शिक्षा विकास निर्देशनालय), उपेन्द्र राई (सामाजिक विकास मन्त्रालय), दीपक सिर्मल (समाजिक विकास मन्त्रालय) र जय कुमार यादव –शिक्षा विकास निर्देशनालय) लाई कर्मचारी संकेत नम्बर प्रदान गरिएको हो।

प्रशासनिक संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशमा प्रदेश लोक सेवा आयोग स्थापना भएर काम सुरू गरिए पनि प्रदेश किताबखाना कार्यान्वयनको पाटो थाती रहेको थियो। राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टल बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै प्रदेशमै वैयक्तिक विवरणसहितको अभिलेख राख्ने बाटो खुलेको थियो।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार २०७६ मंसिर २ गते बागमती प्रदेशमा लोक सेवा आयोग स्थापना भएको एक वर्षपछि प्रदेश निजामती र प्रदेशभित्रका स्थानीय तहका विभिन्न सेवा समूहका पद पूर्तिका लागि ती निकायबाट प्राप्त माग अनुसार उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्दै आएको थियो तर प्रदेश लोक सेवाको सिफारिसमा प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीले पिआईएस नम्बरसमेत पाउन सकेका थिएनन्।

प्रादेशिक पिआईएस पोर्टल राष्ट्रिय किताबखाना (निजामती) ले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि प्रदेश किताबखानासमेत कार्यान्वयनमा आएको छ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर आएका कर्मचारीको यसअघि नै राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरणको अभिलेख छ। प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण भएपछि प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका निजामती कर्मचारीको सिटरोल भर्ने, व्यक्तिगत विवरण राख्ने लगायतका अन्योलको अन्त्य भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .