बागमती


हेटौँडालाई फराकिलो पार्ने दशकौँको प्रयासले यसपटक पाउला सार्थकता?

सडक आसपास २५ मिटर भत्काउन ३५ दिने सूचना
हेटौँडालाई फराकिलो पार्ने दशकौँको प्रयासले यसपटक पाउला सार्थकता?

सुनिता विष्ट
असार १०, २०८० आइतबार १३:१६, काठमाडौँ

पूर्व-पश्चिम राजमार्गको दायाँ बायाँ २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन सूचना जारी भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यालय काठमाडौं, सडक डिभिजन हेटौँडाले आज ३५ दिने सूचना जारी गर्दै दायाँ बायाँको २५ मिटर खाली गर्न भनेको छ।

सडक डिभिजनले यसअघि पनि पटक–पटक सूचना जारी गरे पनि राजमार्गको २५ मिटर क्षेत्र फराकिलो पार्न सकेको छैन। राजमार्गको दायाँबायाँ २५–२५ मिटरभित्रका घरटहरा भत्काउनेबारे हेटौँडामा दशकौंदेखि संघीय सरकारले प्रयास अघि बढाए पनि दिगो कार्यान्वयन हुन नसकेको हो।

सडक विभागबाट पटकपटक सूचना जारी गरे पनि घरटहरा नभत्काउँदा हेटौँडाको मुख्य बजार क्षेत्रको सडक साँघुरोमै सीमित छ। सूचना जारीपछि व्यवसायीको आन्दोलन र घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायरा गर्दा हेटौँडाको सडक विस्तार वर्षेनी रोकिएको छ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजारको साँघुरो सडकले बजार क्षेत्रमा अस्तव्यस्त पार्किङ तथा पैदलयात्रीलाई हिँड्ने बाटोसम्म नहुँदा सहर सुन्दर र हरित भएपनि फराकिलो हुन पाएको छैन।

त्यसो त, हेटौंडा बजार क्षेत्रको सडक फराकिलो बनाउने पटक-पटक कुरा उठेपनि अवरोध हुँदै आएको अवस्थामा संघीय सरकारको बजेटमै सडक बिस्तार गर्ने योजना अघि बढाएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तर्जुमा गरेको बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिको योजना ल्याएको छ। उक्त योजनाले हेटौंडा बजार क्षेत्रका त्यस्ता स्थानीयहरुमा त्रास फैलाएको छ, जसको सडकमै छुनेगरी घरहरु निर्माण भएका छन्।

स्थानीयले साथ दिए भत्काउनै पर्छ : मेयर
मुख्य सडक दायाँबायाँ २५-२५ मिटर फराकिलो पार्न उपमहानगर नेतृत्व सकारात्मक देखिएको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडाको सडक फराकिलो पार्न आवश्यक रहेको औंल्याइन्।

सडकमा घर पर्ने स्थानीयहरुले यो पटक भने रोक्ने प्रयासहरु सुरु नगर्न आग्रह गर्दै उनले भनिन्, ‘कति रोक्ने क्या। दुई-चार जनाको घर पर्यो भन्दैमा हेटौंडालाई सँधैं यस्तै साँघुरै बस्न दिने हो र? अब हेटौंडा फराकिलो बनाउनै पर्छ।’

यसअघि बारम्बार प्रयासका बाबजुद बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्न नसकेको उपमहानगर केही समयअघि सडक विस्तारको योजनामा कस्सिएको थियो। तत्कालीन मेयर हरिबहादुर महत पनि हेटौँडाको मुख्य सडक फराकिलो पार्नुपर्ने अडानमा थिए। तर उनका अडानले सार्थकता पाउन सकेन।

२०७३ साल पुस १४ गते हेटौंडा बजार क्षेत्रमा पहिलो पटक सडक विस्तारका लागि डोजर चलेको थियो। ५२ वर्षअघि २०२१ सालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतका क्षेत्रहरूमा सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटर फराकिलो बनाउने घोषणा भएको थियो।

सो समयमा मनहरीदेखि राप्तीरोड सम्मका घरटहराहरुमा डोजर चल्यो। घरहरु भत्कियो। तर जब राप्तीरोडमा रहेको नेपाल टेलिकमदेखि बजार क्षेत्रमा डोजर प्रवेश गर्न खोज्यो तब, हेटौंडाका त्यसक्षेत्रका बासिन्दा, व्यापारीहरूको आन्दोलनले सडक डिभिजन ‘ब्याक’ भएको थियो।

सोही बेलादेखि सडक फराकिलो पार्ने बहस भएपनि काम भने सुरुवात हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .