बागमती


चित्रकारलाई मन्त्री पद ‘टोक्नु न बोक्नु’ , ६८ दिनदेखि बिनाविभागीय

चित्रकारलाई मन्त्री पद ‘टोक्नु न बोक्नु’ , ६८ दिनदेखि बिनाविभागीय

सुनिता विष्ट
साउन १२, २०८० शुक्रबार १९:६, हेटाैँडा

बागमती प्रदेशका बिनाविभाीय मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्रीको पद ‘टोक्नु न बोक्नु’ भने झैँ भएको छ। गत जेष्ठ ७ गते बिनाविभागीय मन्त्रीको शपथ खाएका उनलाई ६८ दिन बित्दा पनि न मन्त्रीले पाउने आवास सुविधा पाएका छन् न त विभागीय जिम्मेवारी नै।

दलीय भागवण्डा मिलाउनकै लागि मन्त्री नियुक्त भएका चित्रकारले दुई महिना बित्दा पनि मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छैनन्। जसका कारण प्रदेश सरकारमा मन्त्री चित्रकारको भूमिका के? भन्ने प्रश्न उठेको छ।

आफ्नो मन्त्रालय कुन भन्ने समेत नभएका उनलाई न कामको चटारो छ, न त प्रदेश सरकारले निर्वाह गर्नुपर्ने कूनै भूमिकाले चापेको छ। मन्त्री नियुक्त भएदेखि नै बधाई र सम्मान खाँदै हिँडेका उनलाई हालसम्म कार्यक्रमको अतिथि बन्ने बाहेक अरु काम नभएको आफैं स्वीकार गर्छन्।

‘काम छैन। हेर्नुस् न, मेरो भूमिका त मन्त्री होइन, मन्त्रालयको कर्मचारी जत्तिको पनि छैन’ उनले भने, ‘न कुनै काम छ। न मेरो लागि कुनै जिम्मेवारी छ। यो मेरो मन्त्रालय हो। यो अन्तर्गत रहेर काम गर्नुपर्छ भन्ने दायित्व पनि दिएका छैनन्।’

काम नै नहुने भएपछि पद मात्रै ओगटेर किन बस्नु भनेर अब राजीनामा दिने सोचमा रहेको बताउँदै उनले भने, ‘केही दिनभित्रै मन्त्रालयको जिम्मेवारी दिने शर्तमा मन्त्री नियुक्त गरिएको थियो। दुई महिनासम्म त कुरेकै हो। अब छिट्टै राजीनामा दिन्छु। मान नभएको पदमा बसेर के फाइदा?’

काम नभएपछि हेटौंडा नै बस्दैैनन्
तत्कालिन जिल्ला विकास समिति मकवानपुरको पुरानै भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ। सोही भवनमा चित्रकारको कार्यकक्ष बनाइएको छ। एउटा सानो कोठा दिइएको उनी विभागीय जिम्मेवारी नपाउँदा हेटौंडा भन्दा धेरै गृहजिल्ला ललितपुरमा नै बस्ने गरेको नेपालखबरलाई बताए।

‘मन्त्रालयगत नतोकिँदा आवास सुविधा नपाइने रहेछ। असार १८ गतेसम्म हेटौंडा १ चौकीटोल ओरालोमा रहेको एउटा सानो होटलमा बसेको थिएँ’ उनले भने, ‘असार १९ गते कोठा खोजेर सामानहरु राखेँ। त्यो एक रात कोठामा सुतेर २० गते काठमाडौं आएको छु। अब क्याबिनेट बैठकको लागि आइतबार मात्रै हेटौंडा फर्कन्छु।’

उनी ललितपुर २ ‘ख’ बाट ६ हजार ९ सय ९५ मतसहित निर्वाचित भएका थिए।

कुनै मन्त्रालयको जिम्मेवारी नै नभएपछि हेटौंडा फर्किनै मन नलागेको मन्त्री चित्रकारले गुनासो गरे।

मुख्यमन्त्रीलाई आफ्नै निर्णय भारी
बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएलगत्तै बजेट कटौती गर्ने भन्दै १४ मन्त्रालयबाट ११ मन्त्रालय बनाइयो। मुख्यमन्त्रीको शपथ खाने बित्तिकै मन्त्रालय घटाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई आफ्नै निर्णय भारी परिरहेको छ।

तत्कालिन एमाले, राप्रपा र माओवादी मिलेर बनेको सरकार विगठन भएपछि माओवादीले कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर सरकार बनायो।

तर प्रदेश सभाकै ठूलो दलको हैसियतमा रहेको कांग्रेसलाई मिलाएर सरकारमा लैजान मुख्यमन्त्रीले अनेक चुनौती खेप्न परिरहेको छ। त्यो मध्येको एउटा चुनौती हो, कांग्रेसका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्नै निर्णय बदल्नु।

त्यसो त, आफ्नो पद र गठबन्धन जोगाउन केन्द्रबाटै निर्देशन पाएका मुख्यमन्त्री जम्मकट्टेलले मिलेर जाने तर मन्त्रालय नबढाउने अडान नलिएका भने होइनन्। तर प्रदेशले यि विषयको टुंगो लगाउन नसकेपछि केन्द्रीय निर्देशन अनुसार नै दलगत भागवण्डा मिलाउन कांग्रेसले मागे जति नै अर्थात् ६ जना नै मन्त्री बनाइयोे।

राप्रपा, एमालेसँग मिलेर सरकार गठन गर्दा ११ मन्त्रालय समायोजन गरेका मुख्यमन्त्रीलाई कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर सरकारलाई पूर्णता दिँदा मन्त्रालय नै थप्नुपर्ने चुनौती आइपर्यो।

माओवादीले ४, एकीकृत समाजवादीले २ र कांग्रेसले ६ मन्त्री नपाएसम्म सरकार गठन गर्नै नसकेपछि १२ मन्त्री नियुक्त गर्न राजी भएका मुख्यमन्त्रीलाई एक मन्त्रालय बढाउन सकस परिरहेको छ।

जसका कारण ११ मन्त्रालय रहेको बागमतीमा १२ जना मन्त्री नियुक्त हुँदा बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारले अझैसम्म पनि मन्त्रालयगत जिम्मेवारी सम्हाल्न नपाएका हुन्। उनलाई जिम्मेवारी दिन मुख्यमन्त्री जम्मकट्टेललाई मुख्यमन्त्री भएपछि आफूले गरेको पहिलो निर्णय भारी परिरहेको छ।

विभाग नतोक्न कांग्रेसकै सांसदको लविइङ
यता, मन्त्री चित्रकारलाई विभाग नतोक्नका लागि कांग्रेस भित्रकै सांसदहरुले लविइङ गरिरहेको पाइएको छ। सत्ता गठबन्धनमै रहेका दलहरु मात्रै नभएर कांग्रेसकै सांसदहरुको समेत अन्तरविरोधका कारण चित्रकारका लागि मन्त्रालय छुट्याउन नसकिएको चर्चा छ।

दुई गुट रहेको कांग्रेसमा शेखर कोइराला पक्षका सांसदहरुले उनलाई विभागीय जिम्मेवारी नतोक्नको लागि लविइङ गरिरहेको बताइएको छ। संसदीय दलको उपनेता समेत रहेका उनी आफैं मन्त्री बनेको भन्दै सुरुवातमै कांंग्रेसका केही सांसदहरुले विरोध समेत गरेका थिए।

केही दिनमा टुंग्याउँछौंः सरकार
यद्यपी, यस विषयमा बाहिरी हल्ला भएजस्तो बास्तविकता नरहेको र अबको केही दिन भित्रै मन्त्री चित्रकारलाई विभागीय जिम्मेवारी दिने तयारी भैरहेको प्रदेशका आन्तरिक मामिला मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ बताउँछन्।

‘उहाँलाई मन्त्री नियुक्त गरेपछि बजेट निर्माणको छलफलहरुमा व्यस्त भयौं’ उनले भने, ‘त्यसकारण पनि ढिलो भएको हो। तर अब हामी केही हप्ता भित्रैै यो विषयको टुंगो लगाउँछौं।’

मन्त्रालय फुटाउने तयारी
बागमती प्रदेशमा हाल रहेका ११ मन्त्रालयहरु मध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय माओवादीको नेतृत्वमा छ।

यस्तै, दुईवटा मन्त्रालय पाएको एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास र श्रम रोजगार तथा यातायात मन्त्रालयमा नेतृत्व गरिरहेको छ।

यस्तै बिना विभागीय सहित ६ मन्त्रालयको भाग पाएको कांग्रेसले वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लिएको छ।

कांग्रेसले चित्रकारको भागको थप एक मन्त्रालय लिन बाँकी छ। जसका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .