बागमती


आँखा पाक्ने रोग : अस्पताललाई औषधि अभावको डर, सरकारको छैन भर

आँखा पाक्ने रोग : अस्पताललाई औषधि अभावको डर, सरकारको छैन भर

सुनिता विष्ट
साउन २५, २०८० बिहिबार १८:५४, हेटाैँडा

हेटौंडा १३ पदमपोखरीका १०वर्षीय हिमाल घलान बुधबार कक्षाकोठामा पढ्दापढ्दै आँखा रातो भयो। बरबर आँसु आएपछि उनले पढ्न सकेनन्। आँखा निकै रातो हुँदै गएपछि विद्यालयका शिक्षकले उनका बावु सानु घलानलाई फोन गरिदिए। छोरा विद्यालयमा बिरामी परेको खबर आएपछि विद्यालय नै पुगेर आफ्नो छोरालाई हेटौंडा १० मा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालमा लिएर गए।

अस्पतालमा लाइन उस्तै थियो। सानुले इमर्जेन्सि सेवाको टिकट लिएर हिमाललाई डाक्टरकहाँ देखाए। डाक्टरले उनको आँखा पाकेको भन्दै केही औषधि दिएर आराम गर्न सल्लाह दिए।

यस्तै, हेटौंडा ६ का ६५ वर्षीय शरिषचन्द्र दाहालको बिहान उठेदेखि नै आँखा पोल्न र दुख्न सुरु भयो। जब घाम लाग्न थाल्यो तब उनको आँखाले उज्यालो हेर्नै नसक्ने भए। माहामारीको रुपमा फैलँदै गएको आँखा पाक्ने रोगको संक्रमण भएको भेउ पाएपछि दाहाल तुरुन्तै अस्पताल गए।

हिमाल र शरिषचन्द्र त उदाहरण मात्रै हुन्। आजभोलि हेटौंडा सामुदायिक अस्पतालमा आँखा पाक्ने बिरामीको संख्या ह्वात्तै बढेको छ। विशेषगरी विद्यालय पढ्ने बालबालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढेको आँखा विशेषज्ञहरु बताउँछन्।

बढे बिरामी
अन्य सामान्य अवस्थामा दैनिक २ देखि ३ सय बिरामीले सेवा लिने गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालको तथ्यांक छ। तर हाल आँखा पाक्ने रोगको संक्रमण फैलँदै गएपछि बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका प्रोग्राम कोओर्डिनेटर डा. शुसिल कुमार सिंह बताउँछन्। उनका अनुसार हाल यस अस्पतालमा दैनिक ७ सयसम्म बिरामीहरुले सेवा लिने गरेका छन्।

यो हप्ताको तथ्यांक अनुसार मकवानपुरमा दैनिक आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको पाइन्छ। गत आइतबार एकैदिन ६ सय ५६ जनाले सेवा लिएको अस्पताल प्रशासन बताउँछ। एकैदिन ७ सयको हाराहारीमा बिरामी आएपछि अस्पतालले आकस्मिक बैठक नै बसेर कसरी उपचारमा सेवा दिने भन्ने विषयको छलफल गरेको थियो।

बैठकपछि अस्पतालले आकस्मिक उपचारका लागि मात्रै अस्पताल आउन सूचना नै टाँस गरेको छ भने दैनिक ५ सय मात्रै टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको सिंहले बताए। त्यसयता दैनिक बिरामीको संख्या ४ सय देखि ६ सयको हाराहारीमा रहेको अस्पतालको तथ्यांक छ।

बालबालिकामा संक्रमण धेरै
अस्पतालमा आएका बिरामीहरु मध्ये बालबालिकाको संख्या धेरै रहेको अस्पतालको तथ्यांक छ। विद्यालयमा एउटै कक्षाकोठामा धेरै विद्यार्थी पढ्ने गरेकाले एक अर्कामा यो संक्रमण छिटो फैलिएको हेटौंडा सामुदायिक अस्पतालकी आँखा रोग विशेषज्ञ तुलिना गौचन बताउँछिन्।

उनका अनुसार साना बालबालिकाहरुमा यो रोगको संक्रमण छिटो फैलिएको छ। अस्पतालमा आउने ५/६ सय बिरामीमध्ये आँखा पाक्ने बिरामीहरुमा बालबालिका धेरै छन्।

मौज्दात औषधि सकिन थाल्यो
अस्पताल प्रशासनका अनुसार बिरामीको संख्या बढेपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन थालेका छन्। थोरै मात्रामा आउने बिरामीका लागि राखिएको औषधिको दोब्बर खपत भएपछि औषधिको अभाव सुरु हुन सक्ने अस्पताल प्रशासन बताउँछ।

‘अहिलेसम्म त जेनतेन पुगेको छ। बिरामी जति बढे त्यति औषधि खपत पनि बढेका कारण अबको केही दिनमा औषधि अभाव सिर्जना हुनसक्ने सम्भावना बढेको हो’ अस्पतालका डाक्टर शुशिल कुमार सिंहले भने।

सरकारको छैन ध्यान
पछिल्लो समय मकवानपुरका स्थानीय तहहरुले डेंगु रोगको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न प्याकेजहरु ल्याइरहेका छन्। डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर भन्ने नारा नै बनाएर काम गरिरहेका छन्।

तर माहामारीकै रुपमा फैलिएको आँखा पाक्ने रोग कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ तीनै तहका सरकारको ध्यान नपुगेको सामुदायिक आँखा अस्पतालका डाक्टरहरुको गुनासो छ।

प्रदेशको राजधानी रहेको त्यति मात्रै होइन प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १ मिटरको दूरीमा मात्रै रहेको यस आँखा अस्पतालमा आँखा पाक्ने बिरामीको संख्या बढेर उपचारमा सकस भैरहँदा समेत प्रदेश सरकारको ध्यान नपुगेको उनीहरुको गुनासो छ। यति मात्रै होइन, स्थानीय तहहरुले पनि उपचार तथा नियन्त्रणका लागि आँखा अस्पतालसँग कुनै छलफल नगरेको बताउँछन्। स्थानीय सरकारले ध्यान दिएर यो रोगको रोकथामका लागि जनचेतना फैलाउने देखि अस्पतालसँगको सहकार्य बढाइदिए मात्रै पनि सहज हुने आँखा रोग बिशेषज्ञ तुलिना गौचन बताउँछिन्।

के हो आँखा पाक्ने रोग?
गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ। आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन्। आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ।

आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ। संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै आँखा पाक्ने रोग पनि अरुलाई सजिलै सर्छ।

एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ। एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राग छिटो सर्छ। यदि घरमा एक जनाको आँखा पाकेको छ भने परिवारका अरु सदस्यलाई पनि सर्छ। यो समस्या तीन–चार दिनमा ठीक हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .