बागमती


महिना दिनसम्म पनि भेटिएनन् देवकोटा, त्रिशूलीमा बिलाए कि अन्तै भागे?

महिना दिनसम्म पनि भेटिएनन् देवकोटा, त्रिशूलीमा बिलाए कि अन्तै भागे?

सुनिता विष्ट
कात्तिक १४, २०८० मंगलबार २०:५०, हेटौंडा

गत असोज १५ गते सोमबार साँझ त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका भनिएका हेटौंडाका निरञ्जन देवकोटाको स्थिति अझै अज्ञात छ।

हराएको एक महिनासम्म नभेटिएका देवकोटा साँच्चै त्रिशूलीमा हाम फाले कि हल्ला मात्रै फिँजाइएको हो? प्रहरीदेखि परिवारजन अलमलमा परेका छन्।

करोडौंको कारोबार बिग्रिएपछि माहोल शान्त बनाउन नदीमा हाम फालेको हल्ला फिँजाएर उनी अन्तै लुकेर बसेको पनि हुन सक्ने एकथरीको अनुमान छ।

परिवारका सदस्यहरू छरछिमेकदेखि नजिकका नातेदारसँग पनि यस विषयमा खुलेर कुरा चाहिरहेका छैनन्।

‘परिवारका अरू सदस्यहरूले त्यति चिन्ता गरेजस्तो देखिँदैन तर उनकी श्रीमती भने शोकमै छिन्। बैंकको रकम हिनामिना गरेको भएर उम्कनका लागि पनि यस्तो चाल रचेको हो कि भन्ने हाम्रो आशंका हो,’ देवकोटाका एक आफन्तले नेपालखबरसँग भने।

३८ वर्षीय देवकोटा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हाम फालेर बेपत्ता भएको बताइएको थियो।

बा.प्र. ०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल पुलमै छाडेर त्रिशूलीमा हामफालेका भनिएका देवकोटालाई प्रत्येक दिन प्रहरीको गोताखोर टोलीले खोजीकार्य गरिरहेको बताएको छ।

‘असोज १६ गते मंगलबारदेखि आजसम्म पनि दिनहुँ खोजी कार्यका लागि ४/५ जनाको टोली त्रिशूली खोलामै खटिएका छन्। हराएको भनेपछि लास नभेटिएसम्म खोजी गर्नुपर्ने हाम्रो जिम्मेवारी हो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले भने, ‘सग्लो लाश भेटेनौं भने पनि हाडखोड फेला पारेर डीएनए परीक्षण गरेर पनि परिवारमा बुझाउनु त पर्‍यो नि।’

उनले थपे, ‘दिनहुँ खोजीकार्य जारी राखिएको छ। यसबारे अन्य अनुसन्धानलाई पनि अघि बढाइरहेका छौं।’

देवकोटा नदीमा हाम फालेको बहानामा अन्त भागेको भन्ने हल्ला चलेको छ, यस विषयमा अनुसन्धान थालिएको छैन?

नेपालखबरको यस प्रश्नमा प्रहरी प्रमुख मिश्रले भने, ‘यस्ता खबर हामीले पनि प्राप्त गरेका छौं। पहिलो नम्बरमा त उनी नदीमा हाम फालेका हुन् कि होइनन् भन्ने विषयको टुंगो लगाउन मुस्किल भइरहेको छ। खोलामा माछा मारिरहेका माझीहरूले खोलामा ‘झ्वाम्म’ आवाज आएको सुनेको बताएका छन्। यस विषयमा पनि उनीहरूसँग सोधपुछ गरी अनुसन्धान गरिरहेका छौं।’

यता, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले पनि यस विषयमा अनुसन्धान गरिरहेको वरिष्ठ प्रहरी उपरीक्षक एवम् प्रवक्ता दीपक रेग्मीले बताए।

‘हामीले घटनास्थलमा मोटरसाइकल र एक जोर चप्पल भेटेका हौं। त्यसबाहेक केही भेटिएको छैन,’ एसएसपी रेग्मीले भने, ‘उनले चलाएको मोबाइल नम्बर पनि त्यस दिनदेखि चलेको छैन।’

देवकोटा त्रिशूलीमा हाम फाले कि फालेनन् भन्ने विषयमा एकिन नभएको रेग्मीको भनाइ छ। 

यता, बेपत्ता छोराका कारण शोकमा रहेका निरञ्जनका बुवा नारायणप्रसाद देवकोटा भने यो विषयमा आफू अहिले केही नबोल्ने बताउँछन्।

‘अहिले म केही बोल्दिनँ। यो विषयमा बोल्न सक्ने अवस्थामा छैन,’ उनले भने।

बैंकको रकम अनियमिताले निम्त्याएको घटना
निरञ्जन मेगा बैंक, हेटौंडा शाखामा प्रबन्धकको पदमा कार्यरत थिए। मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गाभिएर इन्भेस्टमेन्ट मेगा बैंक भएपछि उनीमाथि मोटो रकम हिनामिनाको आरोप लागेको थियो।

बैंकले देवकोटाको विषयमा अनुसन्धान थालेको विषय हेटौंडा शाखाबाटै चुहिएपछि त्यहाँका ग्राहकहरूले समेत उनीविरुद्ध उजुरी हाल्न थालेका थिए। उनीहरूले ऋण स्वीकृत गर्दा कमिसन लिएका केही प्रमाणहरू पेस गरेका थिए। बैंकले पनि स्पष्टीकरण सोधेको थियो।

सोही स्पष्टीकरण दिन उनी काठमाडौं गएको पारिवारिक स्रोतको दाबी छ।

आफूमाथि आरोप लागेपछि देवकोटाले प्रबन्धक पदबाट राजीनामासमेत दिएका थिए। तर, उनको राजीनामा स्वीकृत गर्न बैंकले मानेन। उनले हिसाब मिलान नगरी राजीनामा स्वीकृत नगर्ने बैंकको अडान थियो।

उनले दिएको राजीनामा स्वीकृत नभएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले पनि पुष्टि गरेको छ।

‘उनले बैंकलाई राजीनामा बुझाएका थिए। तर, राजीनामा स्वीकृत भइनसकेको पाइएको छ,’ बागमती प्रहरीका प्रवक्ता रेग्मीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .