ad ad

बागमती


मधेस–पहाड जोड्न सघाउँदै छठ पर्व

मधेस–पहाड जोड्न सघाउँदै छठ पर्व

सुनिता विष्ट
मंसिर ३, २०८० आइतबार २२:१, हेटौंडा

हेटौंडा ३ बसामाडीकी भारती गुरुङ आइतबार छठीमाईको पूजाका लागि बिहानैदेखि निराहार ब्रत बसिन्। दिउँसो भएपछि छठीमाईको पूजाआरधना गर्न बाँसको ढाकी, नाङ्लोमा डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोको हात्ती, ढकनी, घैला आदि बोकेर हेटौंडा १ स्थित छठ पूजास्थलमा पुगिन्।

उनकी आमा ५५ वर्षीया लक्ष्मी गुरुङ र आमाजु सुनिता भण्डारी पनि भारतीसँगै ब्रत बसेर पूजाका लागि सहभागी थिए। उनीहरुसँगै गोलो घेरा लागेर पूजाको लागि मधेशी समुदायका महिलाहरु पनि सँगै थिए।

पहिले/पहिले तराईका महिलाहरुले मात्रै मनाउने छठ पर्वमा पहाडी दिदीबहिनीहरू सामेल हुँदा अलि अनौठो लागेको बताउँदै थिइन् भारती सँगै पूजामा बसेकी सकुन्तला चौधरी।

‘उहाँहरू पनि हाम्रै रितिरिवाज अनुसार नै पूजा गर्न आउनुभएको रहेछ। हामीले त दर्शन मात्रै गर्न आउनुभएको होला भन्ने सोचेका थियौं,’ भारतीकी आमा लक्ष्मीको आँखामा हेरेर मुसुस्क हाँस्दै सकुन्तलाले भनिन्।

भारती जनजाती समुदायकी महिला, उनकी आमाजु क्षेत्री अनि सँगै बसेका अन्य महिलाहरु मधेसी समुदाय।

आफूहरुले पहिले/पहिले पनि यसरी ब्रत बसेरै पूजा गर्ने गरेको बताउँदै उनले भनिन्, ‘बिवाह हुनुअघि आमा र म सधैँ ब्रत बसेर पूजा गर्थ्यौं। बिवाह भएपछि भने पहिलो पटक घरबाटै पूजा गर्नका लागि आएका हौं।’

सँगै आएकी आमाजुतिर इशारा गर्दै उनले भनिन्, ‘म ब्रत बस्छु भनेपछि दिदीले पनि रहर गरेर पहिलो पटक पूजामा सामेल हुनुभयो। धार्मिक विश्वासकै कारण हामी पनि निराहार ब्रत बसेका हौं।’

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर मात्रै खानेकुरा खाने उनी बताउँछिन्।

त्यसो त, हेटौंडा ४ कान्तिराजपथकी ५३ वर्षीया गोपी लामा यो वर्ष पहिलो पटक छठीमाईको ब्रत बसेको बताउँछिन्। आफ्ना छिमेकी वर्षेनी छठ पूजामा सामेल भैरहेको हेर्दै आएकी गोपीलाई यो पटक आफैँ निराहार ब्रत बसेर रातभर जाग्राम बस्ने अनि भोलिपल्ट सूर्य भगवानलाई अर्घ्य दिने सोच बनाएर उनी पनि छठपूजामा सामेल भएकी हुन्।

‘रहर त मलाई पहिले देखि नै लागेको थियो। यो पटक आफ्नो इच्छा पूरा गर्ने मौका पाएँ’ उनले भनिन्, ‘भगवान सबैको साझा हुन्छन्। हामीले आस्था राख्नु ठूलो कुरा हो भन्ने लागेर निराहार नै ब्रत बसेर पूजा गर्न आएकी हुँ।’

रातभर छठघाटमै जाग्राम बस्ने बताउँदै उनले आफ्नो साथमा छोरीहरू पनि पूजाका लागि आएको बताइन्।

त्यसो त, केही समय अघिसम्म छठ पर्व विशेषगरी मधेशी समुदायले मात्रै मनाउने पर्वको रुपमा परिचित थियो। जसका कारण देशको तराई भेगमा बढी छठ पर्वको चर्चा हुन्थ्यो। तर पछिल्लो समय छठ पर्वप्रति सबै समुदायहरुले आस्था देखाउन थालेको पाइएको छ। मधेशी समुदायसँगै पूजाको ढकी बोकेर निराहार ब्रत बसेर पूजा आरधना गर्नेको संख्या उल्लेख्य रुपमा बढेको पाइएको हो।

अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने यस पर्व हेटौंडामा पनि हर्षोल्लासका मनाइएको हो। हेटौंडामा छठ पूजाका लागि राप्ती नदी तटमा छठघाट निर्माण गरिएको छ। छठ पूजालाई भव्य रूपमा मनाउन हेटौंडा–१, राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व शुक्रबारबाट सुरु भएको हो।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ।

पूजासामग्री तथा श्रद्धालुभक्तजनले राप्ति किनार भरिएको छ। छठ पूजाको लागि छठ पूजा मूल समारोह समितिले ६ सय फिट लामो पण्डाल तयार गरेका छन्।

आजको दिनमा सूर्यलाई चढाउन ल्याइएको सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अर्घ्य दिइन्छ। यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .