ad ad

बागमती


बागमती : वन कार्यालयको भवनमा ‘मुख्यमन्त्री आवास’ कहिलेसम्म?

अझै सुरु हुन सकेन नयाँ आवास निर्माण
बागमती : वन कार्यालयको भवनमा ‘मुख्यमन्त्री आवास’ कहिलेसम्म?

सुनिता विष्ट
मंसिर २९, २०८० शुक्रबार ११:५५, मकवानपुर

बागमती प्रदेशको मुख्यमन्त्री निवास निर्माणका लागि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा डीपीआर तयार गरिएको थियो। सोहीअनुरुप चालु आर्थिक वर्षको बजेटमा दुईतले आवास निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गरियो। तर डीपीआर भएको महिनौँ बित्दा पनि आवास निर्माण सुरु हुन सकेको छैन।

अर्थतन्त्र धराशायी बनेको भन्दै बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा बजेटको आकार घटाएको छ। तर मुख्यमन्त्री शालिकराम जम्कट्टेल नयाँ भवन बनाउने प्रक्रियामा जुटे।

यसअघिका तीन मुख्यमन्त्री बसेको भवन जीर्ण भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेका हुन्। २१ करोड लागत अनुमान गरिएको भवनमा पहिलो चरणमा १० करोडबाट काम थालनी गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

ललितपुरको एनट आर्किटेक एन्ड आर्किटेक प्राइभेट लिमिटेडले तयार पारेको प्रारम्भिक डिजाइनमा भवन बन्ने बताइएको छ। भवनको डीपीआर पास भए पनि जग्गा प्राप्तिमा समस्या देखिएपछि मुख्यमन्त्री आवास निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका आवास भवन तथा सहरी विकास महाशाखाका इन्जिनियर विपन गौतमले जानकारी दिए।

बागमती प्रदेश मुख्यमन्त्री आवासको डीपीआर

उनका अनुसार वन कार्यालयबाट भोगाधिकार प्राप्त नहुँदा भवन निर्माणको काम सुरु गर्न नसकिएको हो। ‘हाम्रो क्षेत्राधिकारभित्र ल्याउन संक्षिप्त वातावरणीय अध्ययन (बीईआई) हुँदैछ,’ इन्जिनियर गौतमले नेपालखबरसँग भने, ‘वन मन्त्रालयबाट उक्त जग्गा भोगाधिकार प्राप्त नगरेसम्म हामीले त्यस जग्गामा भवन निर्माण प्रक्रिया अघि बढाउन नपाएका हो।’

वैशाखमै ठेक्का आह्वान गर्ने भनिएता पनि वनको जग्गा प्रदेश सरकारको भोगचलनमा ल्याउन नपाउँदा समस्या भइरहेको उनले बताए।

वन कार्यालयको नयाँ भवनमा कहिलेसम्म? 
यसअघिका तीन मुख्यमन्त्रीले तत्कालीन क्षेत्रीय वन कार्यालय, मकवानपुरको भवनमा बसेर कार्यकाल गुजारे। प्रदेशको चौथो मुख्यमन्त्री बनेका जम्मकट्टेल भने उक्त भवन जीर्ण भएको भन्दै मुख्यमन्त्री बनेको केही महिनामै वन कार्यालयको नयाँ भवनमा सरे। गएको वैशाखदेखि मुख्यमन्त्री जम्मकट्टेल डिभिजन वन कार्यालय हेटौँडाको नयाँ भवनमा बसिरहेका छन्। 

डिभिजन वन कार्यालय, हेटौँडाको नयाँ भवन

वन कार्यालयले पनि आफ्नो स्वामित्वमा रहेको भवन मुख्यमन्त्रीले प्रयोग गरिरहेको स्वीकार गरेको छ। नयाँ भवन नबनुन्जेलसम्मका लागि भनेर प्रदेश सरकारले मुख्यमन्त्री आवासको रूपमा प्रयोग गर्न माग गरेअनुसार उपभोग गर्न दिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी दीपक अधिकारी बताउँछन्।

यद्यपि यसमा लिखित सम्झौता भने नभएको उनले बताए। ‘लिखित सम्झौता भएको छैन’ सूचना अधिकारी दीपक भन्छन्, ‘५/६ महिनाका लागि भनेर प्रस्ताव आएको हो। त्यहीअनुसार उहाँको आवासका रूपमा प्रयोग भएको छ।’

वन कार्यालय जीर्ण भवनमा
यता डिभिजन वन कार्यालयको भवन भने जीर्ण अवस्थामा छ। झन्डै ३० वर्षअघि बनेको पुरानो र साँघुरो भवनबाट कार्यसम्पादन गर्दै आएका कार्यालयका कर्मचारी चिटिक्क परेको भवनमा बसेर काम गर्न नपाउँदै मुख्यमन्त्री जम्कट्टेल उक्त भवनमा सरे।

३ करोड २५ लाख ६७ हजार रुपैयाँ लागतमा निर्माण भएको सुविधासम्पन्न २ तले भवनलाई निर्माण कम्पनीले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी हुँँदै मुख्यमन्त्री वन कार्यालयको उक्त नयाँ भवनमा सरेका हुन्।

तीन मुख्यमन्त्री बसेको भवन ‘पुरानो’!
प्रदेश सरकारको पहिलो कार्यकालमा त्यही आवासमा तीनजना मुख्यमन्त्री बसेका थिए। उक्त भवनमा यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे बसे। पहिलो कार्यकालमा तीन मुख्यमन्त्रीलाई धानेको आवास दोस्रो कार्यकाल लाग्नेबित्तिकै जम्कट्टेलले पुरानो भएको भन्दै नयाँ बनाउन लागेका हुन्।

तीन मुख्यमन्त्रीले आवासको रूपमा प्रयोग गरेको तत्कालीन वन कार्यालयको भवन

तत्कालीन वन कार्यालयको उक्त भवन बाहिरबाट पुरानो देखिए पनि भित्र भने सुविधा सम्पन्न छ। पार्किङ सुविधादेखि सुरक्षामा खटिने प्रहरीलाई बस्ने हल पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .