बागमती


अनेरास्ववियु मकवानपुरमा विवाद : अध्यक्षका आकांक्षीलाई बेहोस बनाएर ‘प्रपञ्च’ रचेको आरोप

अनेरास्ववियु मकवानपुरमा विवाद : अध्यक्षका आकांक्षीलाई बेहोस बनाएर ‘प्रपञ्च’ रचेको आरोप

सुनिता विष्ट
फागुन १२, २०८० शनिबार १८:३१, मकवानपुर (हेटौंडा)

शुक्रबार हेटौंडामा सम्पन्न अनेरास्ववियु मकवानपुरको अधिवेशनमा विवाद भएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशनमा जालझेल भएको भन्दै विवाद उत्पन्न भएको हो।

शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत चयन भएका पुष्कर तिमल्सिनाले आफूलाई अधिवेशन स्थलबाटै बेहोस बनाएर अस्पताल लगिएको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन्। 

अनेरास्ववियु मकवानपुरको २८ औं अधिवेशनले अमृत बर्तौलाको नेतृत्वमा १० जना पदाधिकारी सहित ५१ सदस्यीय कार्यसमिति चयन गरेको थियो। 

अधिवेशन स्थलमा विवाद भैरहेकै बेला अध्यक्षका आकांक्षी रहेका पुष्कर तिमल्सिना बेहोस भएका थिए। 

शुक्रबार बेहोस भएका उनलाई उपचारका लागि हेटौंडा अस्पतालको आईसियुमा भर्ना गरिएको थियो। शनिबार (आज)दिउँसो होस खुलेपछि अध्यक्ष पदका आकांक्षी तिमिल्सनाले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि पोखेका छन्। 

उनले लेखेका छन्, ‘जिल्ला अधिवेशन चलिरहेको थियो। म अध्यक्ष को उम्मेदवार थिएँ। अहिले ब्यूँझिदा हेटौंडा हस्पिटलको आईसीयूमा रहेछु। यो कसरी हुन गयो याद आउने क्रम जारी छ। विस्तारै खुल्दै जानेछ। हिजो मलाई आक्रमण गर्न उक्साउने केही व्यक्तिहरुको मलाई राम्रो जानकारी र प्रमाण छ।’ 

उनका अनुसार अधिवेशनका क्रममा आफूमाथिको बन्देजका लागि यो षड्यन्त्र रचिएको बताइएको छ। उनले केही दिनमा उपस्थित भएर नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं विद्यार्थी इन्चार्ज किशोर बिक्रम मल्लले प्रहरी कस्टडीमा प्रहरीलाई निर्देशन दिएको लगायतको प्रमाण जुटाउने बताएका छन्।

अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीले बर्तौलाको अध्यक्षतामा कमिटी घोषणा गरेका थिए।

कमिटी घोषणा गरेको विरोधमा केही प्रतिनिधिहरूले अधिवेशनस्थलमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, अनेरास्ववियु सचिव तथा बागमती प्रदेश इञ्चार्ज सुजन कडरिया लगायतका अगाडि नाराबाजी गरेका थिए।

विद्यार्थीहरूले नाराबाजी गर्दै नेतृत्व चुनावबाट चयन हुनुपर्ने माग राखेका थिए। तर केन्द्रीय सर्कलका नेताहरूले सर्वसम्मतीको नाममा विद्यार्थी नेताहरुमाथि अन्याय गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज किसन घिसिङले बताए।

अध्यक्ष पदका आकांक्षी पुष्कर तिमिल्सिना अस्वस्थ भएर उपचारत रहेको अवस्थामा मानवीय संवेदनशिलतालाई ध्यानमा नराखी निर्णय गर्नु दुखद् भएको घिसिङको भनाइ छ।

‘मानवियताको पक्षलाई ध्यानमा नराखी गरिएको एकलौटी निर्णयको घोर भर्सना गर्दै अनेरास्ववियु केन्द्रीय कार्यालयमा बहुमत प्रतिनिधिहरूको हस्ताक्षर सहित केही बिषय उठ्ना गर्नेछु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .