ad ad

ब्लग


फेरि कोरोनाको ठूलो लहर आउनेवाला छ, एकदम सतर्क हुनुपर्ने भयो है!

फेरि कोरोनाको ठूलो लहर आउनेवाला छ, एकदम सतर्क हुनुपर्ने भयो है!

डा. अनुप सुवेदी


डा. अनुप सुवेदी
मंसिर २८, २०७८ मंगलबार २१:३७, काठमाडौँ

विगत १/२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको संघारमा उभिएका छौं जस्तो देखिन्छ।

ओमिक्रोन भेरिएन्ट देखापर्नुअगाडि पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (पहिलेको भन्दा सानो) उभार ल्याउने लगभग निश्चित थियो नै। ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टा मात्रको लहरभन्दा ठूलो हुने पनि सुनिश्चित भएको छ। खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै निर्क्याेल गरिहाल्न सकिँदैन। 

विगत केही दिनमा विशेष गरी सभा, सम्मेलन, बिहे, भोजभतेरमा संक्रमित भएर केही दिन वा १ हप्तापछि अस्पताल पुग्ने वा भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ। यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला। 

तर मूल कुरो– सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है।

बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला।

घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन–९५ वा सो सरहको, मास्क हरबखत लगाउनुहोला। आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला। मास्क लगाउँदा हावाको प्रवेश मास्कको छेउछाउ वा तलमाथिबाट नहुनेगरी अनुहारमा टपक्क मिलेको मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क पाइएन भने बरु एन–९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि दुईथरी मास्क एकैचोटि लगाउने, वा मास्कका दुई छेउमा गाँठो र मुजा पारेर लगाउने गर्नुपर्छ।

वातायन (भेन्टिलेसन) राम्रो नभएको बन्द कोठामा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला।

​आफूलाई वा आफ्ना परिवारको कुनै १ मात्र सदस्यलाई ‘सामान्य रुघा’ वा ‘खोकी मात्र’ वा ‘हल्का ज्वरो मात्र’ वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने तुरुन्त पीसीआर परीक्षण गराउनुहोला। जाँचको रिपोर्ट नआउन्जेल घरका कोही पनि सदस्य कार्यालय, विद्यालय वा बाहिर कतै पनि ननिस्कनुहोला। यदि घरको १ जनाको मात्र पीसीआर पोजिटिभ देखियो भने बाँकी सबै जनाले पनि क्वारेन्टिनका सकेसम्म सम्पूर्ण नियम पालना गर्नुहोला।

अनि कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला। जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिडविरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .