साझा पुस्तक मेलामा टहलिरहेको थिएँ, ह्वाट्सएप नोटिफिकेसनले ध्यान खिच्यो। स्क्रिनमा हेरेँ, खगेन (खगेन्द्र संग्रौला) दाइको रहेछ। लेख–रचना मात्र होइन आफूसम्बद्ध केही घटना भए तत्काल अपडेट गराइहाल्ने खगेन दाइको बानी छ। त्यसैले उनको म्यासेज तत्काल पढिहाल्ने आदत बसालेको छु, मैले पनि। सदाझैँ आफ्नो प्रकाशित लेख–रचनाको लिंक पठाएको होला भनी एपभित्र छिरेको, होइन रहेछ। म्यासेजमा शुभ समाचार थिएन। लेखिएको थियो– ‘म त ज्वरोले गलेर हिँड्नै नसक्ने भएँ ब्रो!’
केही दिन अघिसम्म माइतीघर मण्डलमा नागरिक समाजको प्रदर्शनमा खडा भई ‘निकम्मा राज्यको झाँको झारिरहेका’ खगेन दाइ त्यसअघि दस दिन पूर्वी पहाडका आन्दोलनकारीहरुका अभिभावकत्व ग्रहण गर्दै पहाड पखेरा गरिरहेका थिए। ‘कोशी’ नामाकरणविरुद्ध सडकमा उत्रिएकाहरुलाई बल प्रदान गर्न इटहरी, विराटनगर, झापा, इलाम र फिदिमका सभामा माइक पक्डेर गर्जन गर्दै हिँडेका ७८ वर्षीय यी तन्नेरी पूर्वमा आयोजित साहित्यिक विमर्शमा साहित्यानुरागीहरुलाई वाणीले मन्त्रमुग्ध पारी काठमाडौँ फिरेका थिए।
तैपनि उनी आराम गर्नतर्फ लागेनन्। पोखराका जनजाति तन्नेरीहरुको आवाज बनिदिन त्यसतर्फ दौडिहाले। सँगसँगै उनका लेखरचना पनि मिडियामार्फत सार्वजनिक भइरहेकै थिए। मेरो संज्ञानमा भएसम्म खगेन्द्र संग्रौलको जस्तो सक्रिय जीवनचर्या (सबै उमेरसमूह) औँलामा गन्न सकिने मान्छेले मात्र यापन गरिरहेका छन्। त्यसैले खगेन दाइ मेरा निम्ति सत्संग गर्न लायक प्रमुखमध्येका एक पात्र हुन्।
बिहान ४ बजे उठेर पशुपतिक्षेत्रमा रहेको वनकाली जंगलको फेरो लगाएर फर्कने कुनैबेलाका चेनस्मोकर खगेन दाइलाई चिकित्सकले ‘मर्ने भए चुरोट नछाड’ भनेर तर्साएपछि त्यो लतबाट उनी उहिल्यै मुक्त भैसकेका हुन्। भट्टीमा ‘हार्ड ड्रिंक’ घुट्क्याउँदै घण्टौँ गफ लडाउने बानीमा पनि आमूलचुल परिवर्तन गरिसकेका उनी अम्मली साथीहरुलाई साथ दिन हिजोआज वाइनको चुस्की लिँदै बस्न थालेका छन्।
मानसिक र शारिरीक रुपमै असाध्यै सक्रिय खगेन दाइलाई सानोतिनो बिरामीले लखतरान पार्दैन भन्ने कम्तीमा मेरो विश्वास थियो। तर आइतवार साँझपख उनको निवासमा पुग्दा थाहा भयो– उच्च मनोबलमा तन्नेरीहरुका पनि आदर्श मानिने खगेन दाइलाई यसपालि ज्वरोले निकै गलाएको रहेछ। साता दिनअघि १०४ डिग्री ज्वरोले थलो पारेको खगेन दाइ बसिरहेको कुर्सीबाट उठ्न नसक्नेगरी दुर्बल बनाएको रहेछ। चार दिनमा चार केजी तौल लगिसकेको रहेछ।
मलाई उनी अप्रत्याशित रुपमा आफूमाथि आक्रमण गर्ने ज्वरोको करामत सुनाइरहेका थिए। नौ दिनअगाडि आफ्नो अतिव्यस्त कार्यतालिका सकाएर बिस्तरामा पुगेका खगेन दाइ राति जाग्दा हनहन्ती ज्वरोले रन्किएका थिए। ज्वरोले कतिबेला समात्यो पत्तै पाउन सकेनन्। उठ्दा ब्रह्माण्ड फन्फन्ती घुमिरहेको थियो। भित्ता नसमाती उठ्न सक्ने बल थिएन। रातभर निदाउन सकेनन्। भोलिपल्ट पनि अवस्थामा सुधार आएन। खान मन नलाग्ने, खाए पनि पचाउनै नसकिने। उनी अत्तालिए। मध्यरातमा निद्रा टुट्ने, त्यसपछि मरिगए निदाउन नसक्ने। र, मन असाध्यै अत्तालिने। पढाइमा मन नै नलाग्ने। पाना पल्टायो टाउको फुट्लाझैँ दुख्ने।
डेंगीको शंका थियो। सबै जाँच गराएर बसे। भौतिक र सञ्जालमा असाध्यै सक्रिय मान्छे अकस्मात नदेखिएपछि शुभचिन्तकहरुका फोन र म्यासेजका थुप्रा लागे। तर उनलाई कसैको जवाफ फर्काउने जाँगर र सामथ्र्य दुवै थिएन। बेला प्रकाशनले खगेन्द्र संग्रौलाको अहिलेसम्म प्रकाशित सबै लेख रचनाहरुको सङ्ग्रह निकाल्ने योजनामा काम गरिरहेको र त्यसका निम्ति लेख काँटछाँटमा सहयोग गरिरहेका खगेन दाइले उनीहरुलाई चाहिँ आफ्नो अस्वस्थताबारे जानकारी दिएका थिए।
भुइँमान्छेका वाणी बनी दशकौँदेखि निर्धक्क सत्तासँग प्रश्न गर्दै आइरहेका खगेन दाइ समकालीन समयका सबैभन्दा नैतिकवान लडाका लाग्दछन्, मलाई। उनका उमेरका मान्छे कुनामा बसी आलापविलाप गरिरहँदा खगेन दाइ नयाँ पुस्तासँग काँधमा काँध जोडी सडकमा नाराबाजी गरिरहेका भेटिन्छन्। समाज बदल्ने संभाषण दिइरहेका हुन्छन्। द्वन्द्व निवारणका उपाय सुझाइहेका हुन्छन्। समाज प्रतिगमनतर्फ गइरहेको अहिलेको समयबाट खिन्न खगेन दाइ त्यसलाई ट्रयाकमा ल्याउन सबै एकजुट हुनुपर्छ भन्दै हौसला प्रदान गरिरहेका हुन्छन्।
नेतृत्वमा वैचारिकीको स्थान नौटंकीले लिएको भन्दै चिन्ता व्यक्त गरिरहेका यस्ता राजनीतिक चेत सहितको बलियो मान्छेलाई ज्वरोले थलो पार्दा स्वाभाविक रुपमा उनको मन अत्तालिने नै भयो। कथ्यको लय र लेखाइको शिल्पमा यताउति नगरी शब्द संयोजन गर्नसक्ने खुबीका धनी खगेन दाइको मुहारमा झल्किरहने व्यङ्ग्यचेत सहितको बोलीमा पनि पीडा झल्किरहेको थियो। उनी भन्दैथिए, मन भन्छ– अगाडि जाऔँ, खुट्टा भन्छन्– पछाडि जाऔँ। मन र खुट्टाको विमतिमा ठ्याप्पै अल्झियो त जिन्दगी भाइ!
रोगले थलिएका खगेन दाइलाई दुर्बलता भन्दा बढी चिन्ता सडकमा आफ्नो अनुपस्थितिको थियो। उनी भन्दै थिए– ‘मेरो चिन्ता सायद म अब सडकमा जान सक्दिनँ भन्ने हो।’
यतिको बयान गर्दागर्दै भन्न छुटाउनै नहुने कुरा के हो भने रोगले गालेको बेलामा समेत आफ्नो चेत र त्यसबाट सञ्चित दृढता खगेन दाइको मुखाकृतिमा दृष्टिगोचर भइरहेको प्रष्ट देखिन्थ्यो। यस्तो दृढता मैले उनको मुखाकृतिमा सदा देख्दै आइरहेको छु। सदाझैँ हामी समाज र राजनीतिमाथि कुराकानी गरिरहेका थियौँ। दक्षिणबाट धर्म–राजनीति छिरेर त्यसले समाजमा हडकम्प मच्याइरहेको र त्यसबाट उकासिन नसकिए समाज तहसनहस हुने बताइरहेका खगेन दाइ राजकाज सञ्चालन गर्ने राजनीतिक नेतृत्व निर्बल र अक्षम भएको मौका छोपी यस्तो दुषित राजनीति छिरेको विश्लेषण गरिरहेका थिए, जुन यथार्थपरक थियो।
समाजको विशेषता बुझेका खगेन दाइको यस्तै सूक्ष्म नजर पूर्वको राजनीतिमा पनि थियो। पूर्वको दौडाहामा यसपालि खगेन दाइलाई एउटा कुराले निकै चिमोटेको देखिन्थ्यो। कोशी नामाकरणविरुद्धको आन्दोलनको पक्षमा भाषण गर्दै हिँड्दा उनले कतै पनि बाहुन समुदायका मान्छेको उपस्थिति देखेनन्। यसले राम्रो संकेत नगरेको उनको बुझाइ थियो।
‘हामीले खोजेको समाज ध्रुवीकरण होइन। मिलिजुली समाज हो। अस्तित्वको लडाइँ पनि मिलेर सँगै गर्ने हो,’ उनको भनाइ थियो– ‘केहीले गोरु खाएको कुरालाई पनि अर्काेपक्षलाई चिढ्याउनेगरी प्रचारप्रसार गरे जुन राम्रो भएन। यसले आन्दोलनलाई नै असर पारेको देखियो।’
कुरा निकै गरिएछ। दाइको सास फुल्दै गएको महसुस गरेँ। रात पनि छिप्पिँदै जान थालेको थियो। म दाइलाई ‘नआत्तिनोस्, आराम गर्नाेस्, केही परे मलाई बोलाइमाग्नोस्’ भन्दै त्यहाँबाट बिदा लिएँ। सदाझैँ उनले अटेर गरेर सकीनसकी गेटसम्म छाड्न आउने कर्मकाण्ड निभाएरै छाडे। आज उनले फेरि म्यासेज गरे। रिपोर्टका परिणामहरु आएछन्। उनले म्यासेजमा लेखेका छन्, ‘थाइराइड बेस्सरी बढेको देखियो। गाँठ्ठी रोग यही पो हो कि भन्ने अनुमान छ।’
मैले जवाफ फर्काएँ– ‘चिन्ता नगर्नु दाइ, छिटै स्वास्थ्यलाभ हुन्छ।’
Shares
प्रतिक्रिया