रामजन्मभूमि अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठा भयो। राम मन्दिरको प्राणप्रतिष्ठा नेपालका लागि हर्षको विषय हो कि विस्मातको? यसबारे नेपालमा धेरै मानिस अलमलमा परेको देख्छु।
मेरो विचारमा यो नेपालका लागि अत्यन्तै हर्षको कुरा हो। भारतीय हिन्दुहरूले पाँच सय वर्षभन्दा लामो संघर्ष र हजारौँको बलिदानीपछि यो सफलता प्राप्त गरेका छन्।
राम भारतको मात्रै होइनन्। राम कुनै देशको होइनन्। सीता पनि कुनै देशकी होइनन्। हामी सबैका हुन्। संसारकै हुन्। संसारभरकै सनातनीहरूका हुन्। उनीहरूलाई कुनै एक राजनीतिक भूगोलभित्र कैद गरिनुहुन्न। यसो गर्न सकिन्न। आज हामी जनकपुरको जानकी मन्दिरमा गर्व गर्छौं। तर, त्यो मन्दिर कसले बनाउन लगायो? भारतकै टीकमगढकी राजकुमारीले होइन? उनैले नौ लाख रुपियाँ खर्च गरेर बनाएकाले त्यसलाई नौलखा मन्दिर पनि भन्छौँ।
त्यसैले अहिले अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा हुँदाखेरी हामीले विस्मात् मान्ने कुरै छैन। यसमा कुनै द्विविधा, शंका मान्नु हुँदैन। यो हर्षोल्लासको कुरा हो। त्यसैले नै धेरै नेपाली खुसी भएका छन्। नेपालबाट पनि हजारौँ मान्छे अयोध्या गएका छन्। सहभागी भएका छन्। नेपालका कयौँ नगरपालिकाहरूले बिदा दिएका छन्। अधिकांश नेपालका मन्दिरहरूमा दीपावली गरियो मैले आफ्नो घरमा पनि दीपावली गरेँ। दुःख मान्ने प्रश्नै छैन।
राम जन्मभूमि भनेर अयोध्या हो भन्ने कुरा कथामा मात्र पढ्न पाइन्छ, इतिहासले त्यसो भन्दैन, राम जन्मभूमि नेपाल हो भनेर दाबी गर्न सकिन्छ, गर्नुपर्छ भन्ने एकथरीको तर्क छ। तर, त्यो गलत तर्क हो। यो विवाद उठाउन लायक विषय होइन। भोलि जानकीको जन्म सीतामढीमा भएको हो भनेर भारतले बखेडा झिके के भन्नुहुन्छ?
अर्को कुरा, रामायण हाम्रा लागि कथा मात्र होइन। हामी त्यसलाई इतिहास मान्छौँ। रामायण र महाभारतमा लेखिएका कुरा इतिहास हुन्। सत्य हुन्। पुराण होइनन्। यसमा पनि कुनै सन्देह छैन।
कतिपयले रामसँग नेपालको त्यत्रो साइनो हुँदाहुँदै नेपाल सरकारलाई औपचारिक रुपमा निम्त्याइएन भनेर गुनासो गरेको पनि सुनेँ। बोलाइयो र गएनन् या बोलाइएन भन्ने आधिकारिक जानकारी मलाई छैन। तर, मलाई के लाग्छ भने नेपालका नेताहरू यो समारोहमा जानुपर्थ्यो। जान चाहेका भए नबोलाउने प्रश्नै थिएन। तर, हाम्रा मान्छेहरू कट्टर भौतिकवादी छन्। राममा विश्वास गर्दैनन्। रामकथालाई पौराणिक भन्ठान्छन्। अर्कोतिर, भारतमै पनि केहीले यसलाई राजनीतिक रुप दिएर विरोध गरेका छन्। त्यसकारणले नगएका पनि हुन सक्छन्। भारतले बोलाउँदै नबोलाएको होइन, धेरैजना पण्डितहरू सहभागी भएका छन्। नबोलाएको भए ती कसरी गए?
हाम्रो तत्कालीन प्रधानमन्त्रीले नै रामको जन्म चितवनमा भएको हो भन्नुभयो। तर, त्यस्ता रामको नाम भएका स्थान नेपालमा कति छन्? रामनगर कति छन्, रामपुर कति छन्, अयोध्यापुरी कति छन्? खोइ त हामीले तिनलाई प्रवर्द्धन कहाँ गर्यौँ? रामेछापमा रामका पाइला छन्। खोइ त्यसको प्रचार? सीताले पानी भर्ने गरेका पँधेरा छन् ठाउँठाउँ। यी कुरा चाहिँ नल्याउने। अनि भारतले राम मेरो भन्यो, हामीले किन नभन्ने भन्ने? यस्ता एकाध मान्छे हुन्छन्, तर तिनको संख्या एकाध छ।
कहिलेकाहीँ नेपालको सरकारले अमान्य निर्णयहरू समेत गर्नेगर्छ। म पञ्चांग निर्णायक समितिको अध्यक्ष भएका बेला सरकारले ११ महिनाको पञ्चांग बनाउन भन्यो। तर, मैले मानिनँ। त्यो अग्राह्य थियो। त्यसैगरी सीता कसैले बाहिरको हो भन्छ भने हामी त्यसको प्रतिवाद गर्छौँ।
हामी हाम्रो सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने मामिलामा एकदम पछाडि छौँ। वाल्मिकी नेपालमा जन्मेका हुन्। लवकुश नेपालमा जन्मेका हुन्। खै त्यो कुरा भनेको? बाल्मिकी आश्रम भएको भैँसालोटन हाम्रो हो। त्यो पनि भारतले दाबी गर्न थालेको थियो। तर, तत्कालीन राजाको प्रयासबाट त्यो नेपालको पुष्टि भयो। तर, आज किन त्यो बाल्मिकी आश्रम उपेक्षित छ? अथवा चितवनको अयोध्यापुरीका विषयमा गफ मात्रै किन भयो, काम किन भएन? किन त्यहाँको प्रचार भएन? किनकि नेपालको सरकार धार्मिक सम्पदाको प्रचार होइन, सकेसम्म लुकाउन चाहन्छ।
पशुपतिकै हालत हेरौँ। क्रिस्चियन हो भनेर आरोप लागेका मान्छे भर्ना गर्छन्। त्यस्तो ठाउँमा अलिकति पनि विवादित मान्छे भर्ना गर्न मिल्छ त?
राममन्दिरको प्राणप्रतिष्ठाले नेपाल–भारत सांस्कृतिक सम्बन्धमा कुनै फरक पार्छजस्तो मलाई लाग्दैन। नेपाल देवभूमि हो, तपोभूमि हो, ऋषिहरूको भूमि हो। भारतसँग सदासर्वदा सम्बन्ध छ, त्यो कायम रहन्छ।
कतिपयले राज्य र धर्म अलग हुनुपर्छ भन्छन्। तर, त्यो राय हाम्रो होइन। यो विदेशीहरूको धारणा हो। राज्यमा चर्चको हस्तक्षेप ज्यादा भएपछि तिनले यस्तो अवधारणा ल्याएका हुन्। तर, राज्य र धर्मलाई अलग गर्न हुँदैन। नेपालमा अहिले देखिएका धेरै समस्या राज्यले धर्म छाडेका कारण जन्मिएका हुन्। किन समाज अत्यचारी र व्यभिचारी बन्दैछ? पहिले अदालतमा तामातुलसी, गीता छोएर बक्दा सबैले साँचो बोल्थे। अहिले त्यो व्यवस्था हट्यो, भ्रष्टाचारीहरू बढेका छन्। संविधानमा सबै धर्मलाई समान रुपमा हेर्ने भन्न सकिन्थ्यो। तर, धर्मनिरपेक्ष भनियो। त्यो अवधारणा हामीले भित्र्याउन जरुरी थिएन। त्यसैले धर्म र राज्य अलग हुन् भन्ने कुरा गलत अवधारणा हो।
(डा. माधव भट्टराई राष्ट्रिय धर्मसभाका अध्यक्ष हुन्)
Shares
प्रतिक्रिया