अर्थमन्त्रीको रुपमा जनार्दन शर्माले अर्थ मन्त्रालयमा विदाइ पत्रकार सम्मेलन आयोजना गरेका छन्।
सोमबार दिउँसो पत्रकारसँग भेटघाट राखेका शर्माले बाहिर आएजस्तो नेपालको अर्थतन्त्र खराब नभएको बताए।
‘हल्ला चलेजस्तो अर्थतन्त्र खराब छैन, आर्थिक सूचकहरु धेरै राम्रा छन्’, उनले भने, ‘वैदेशिक सहायता भित्र्याउन ठूलो प्रयास गरेँ, आफ्नो क्षमताले भ्याएसम्मको काम गरेँ।’
उनले आफ्नो कार्यकालमा बजेट खर्च हुननसकेको दोष भने चुनावलाई दिए।
बजेट खर्चमा चुनावले ठूलो असर गरेको उनको भनाइ थियो।
पुँजीगत खर्चमा लगातार २ वटा निर्वाचन परेकाले गत आव र चालू आवमा समेत विकास बजेटमा असर गरेको उनको दाबी छ।
चालू आवमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा तल नझर्ने उनको दाबी छ।
उनले भने, ‘विश्व बैंक र आईएमएफले गरेका आधारमा पनि ६ प्रतिशतले वृद्धिदर नघट्ने देखिएको छ।’
आयातमा प्रतिबन्ध र अब नगद मार्जिन, चुनावका कारण पनि अर्थतन्त्रमा धेरै ध्यान दिन नसक्दा भन्सार राजस्व कमी आएको उनले बताए।
उनले मौद्रिक नीतिको महत्व धेरै हुने महशुस गरेको बताउँदै आर्थिक नीतिअनुसार मौद्रिक नीतिलाई लैजानुपर्ने बताए।
देशमा कात्तिकसम्म १८ प्रतिशतले आयातमा र व्यापारघाटामा १६ प्रतिशतले कमी आएको, शोधनान्तर स्थिति २०.०३ अर्बले बचतमा रहेको, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २० प्रतिशतले र डलरमा १०.०८ प्रतिशतले वृद्धि भएको, मुद्रासञ्चिति ९.४८ प्रतिशतले बढेको उल्लेख गरे।
अब विस्तारै पुँजीगत खर्च पनि बढ्ने उनको भनाइ थियो। आव ०७९÷०८० को बजेटमा धेरै विषय अगाडि सारिएको बताउँदै उनले नेपालको कृषि क्षेत्रको रुपान्तरणमा विशेष जोड दिइएको बताए।
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर बजेटमा सोहीअनुसार ध्यान दिएको उनको दाबी छ।
Shares
प्रतिक्रिया