ad ad

कारोबार


उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १४:२६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्। 

उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए। गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए। 

उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गरे। उनले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए। 

उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गरे। 

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिए। उनले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताए। उनले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताए। 

उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताए। उनले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताए। उनले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधिभित्र रहेर काम गर्ने बताए। 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कालोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताए। उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए। 

उनले कालोबजारी तथा कानुनविपरीतका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिए। उनले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताए। चेम्बरले गृह मन्त्रीलाई कालोबजारी, सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .