ad ad

कारोबार


चुहावट रोक्न भन्सारकेन्द्रित भयो राजस्व अनुसन्धान विभाग, मुख्य नाकामा निगरानी

चुहावट रोक्न भन्सारकेन्द्रित भयो राजस्व अनुसन्धान विभाग, मुख्य नाकामा निगरानी

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १८:३०, काठमाडौँ

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अध्ययन र निगरानी भन्सारबाट सुरु गरेको छ। भन्सारतर्फ धेरै राजस्व चुहावट भएको आकलनमा मुख्य नाकाहरुमा विभागले निगरानी बढाएको हो। 

राजस्व अनुसन्धान विभागको महानिर्देशकको रुपमा नारायणप्रसाद सापकोटा आएका छन्। गत महिना उनी महानिर्देशकको रुपमा सापकोटा आएपछि मुख्य भन्सारबाट आउने वस्तुहरुको मूल्याङ्कनमा विभागले निगरानी बढाएको छ। 

त्यसबाट भन्सारतर्फको राजस्वमा समेत सुधार आउनथालेको हो। 

विभागले निगरानी बढाएपछि भन्सारतर्फको राजस्वमा समेत सुधार आउनथालेको छ।

पुस माघमा भन्सारतर्फको राजस्व र अहिलेको दैनिक सरदर राजस्व संकलन हेर्ने हो भने करिब ३० करोड रुपैयाँ वृद्धि भएको भन्सार विभागले जनाएको छ। 

भन्सार विभागका अनुसार त्यस समयमा दैनिक ८० देखि ९० करोडबीचमा दैनिक भन्सारबाट राजस्व संकलन हुने गरेको थियो। तर अहिले १ अर्ब २० करोड हाराहारीमा राजस्व संकलन हुनथालेको छ। 

महानिर्देशक सापकोटा पनि नेपालमा वस्तुको न्यून मूल्याङ्कन गरेर आयात गर्ने प्रचलन धेरै बढेकोले भन्सारतर्फ निगरानी बढाउनुपरेको बताउँछन्। त्यसले आन्तरिकतर्फको राजस्व समेत सुधार आउने दाबी गर्छन्।

उनले भने, ‘यथार्थ मूल्याङ्कन गरेर वस्तु भन्सारबाट इन्ट्री गर्दा भन्सारतर्फको राजस्व स्वाभाविक रुपमा बढ्छ। अर्को भनेको वस्तु बिक्री गर्दा भ्याट छली गर्ने सम्भावना कम हुन्छ। आयकर समेत बढ्छ। त्यसले गर्दा आन्तिरक राजस्वमा समेत टेवा पुग्छ। त्यसकारण हामी भन्सारतर्फ केन्द्रित भएका हौँ।’

मुख्य नाकामा निगरानी
नेपालबाट वस्तु आयातनिर्यात हुने विराटनगर भन्सार नाका, वीरगन्ज भन्सार नाका, सुनौली भन्सार नाका, मेची भन्सार नाका, त्रिभुवन विमानस्थल भन्सारमा विभागले निगरानी बढाएको छ। 

सूचनाका आधारमा शंकास्पदलाई व्यापारी र वस्तु नियन्त्रणमा समेत लिने क्रम बढाएको छ। तर त्यसमा भने अहिले समस्या समेत भोग्न थालेको बताएको छ। 

व्यापारिक संगठनमा रहेका र ठूला घरानाका व्यापारीहरुले अनुगमन तथा निगरानी रोक्न दबाब दिनथालेका छन्। तर आफू स्वच्छ छविबाट अघि बढ्ने दाबी गर्छन्।

उनी भन्छन्, ‘सेलिब्रिटी तथा उच्च वर्गकाले समस्या दिन खोज्छन्। त्यो स्वाभाविक हो तर यो प्रणालीमा जानकार भएकाले निर्धक्क काम गर्ने र राजस्व चुहावट रोक्ने प्रयासमा छु।’

आन्तरिक तथा भन्सारतर्फ जहाँ जसरी राजस्व चहावट भए पनि यस निकायले निगरानी राख्छ। तत्काल कारबाही गर्न सक्नेदेखि अदालतमा मुद्दा बुझाउनसक्नेसम्मको अधिकार यस निकायलाई छ। 

चुहावट रोकेर नै सरकारको कोष घाटापूर्ति गरिदिने प्रतिबद्धता उक्त निकायका प्रमुख सापकोटाले दिलाएका छन्। 

सापकोटाका अनुसार अहिले मुख्य चुहावट भन्सारतर्फ देखिन्छ। भन्सारमा न्यून बीजकीकरण गरेर धेरै सामान आयात भइरहेको हुन्छ। त्यो मुख्य निगरानी हुनुपर्छ।  

अर्को भनेको सामानको वर्गीकरणमा छली गरिरहेका छन्। तेस्रो भनेको भन्सार मूल्याङ्कन हो। यी विषयमा विभाग गम्भीर बनेर लागिरहेको उनी बताउँछन्। 

उनी भन्छन्, ‘राजस्व चुहावट गर्नेलाई त निगरानी राखिन्छ नै, विभागले कर्मचारीलाई समेत निगरानीमा राख्छ र उनीहरुलाई पनि मुद्दा चलाइन्छ।’ 

जसरी हुन्छ राजस्व चुहावट रोक्ने र एकीन राजस्व तिराएर मात्रै वस्तु आयातनिर्यात गर्ने व्यवस्था गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .